ad ad

ग्लोबल


एउटै परिवारको लालचले डुबाएको देश

राजापाक्षे परिवारको आन्तरिक कलहको कथा, जसले श्रीलंकालाई टाट पल्टायो
एउटै परिवारको लालचले डुबाएको देश

हाना एलिस पिटर्सन
असार २५, २०७९ शनिबार ९:२०, काठमाडौँ

दिलिथ जयवीरालाई त्यो क्षण अझै याद छ, जुन क्षणमा उनलाई महसुस भएको थियो– श्रीलंका रोक्न नसकिनेगरी आर्थिक संकटतिर धकेलिँदै छ। 

यो अक्टोबर २०२१ तिरको कुरा हो। श्रीलंकाका शक्तिशाली मिडिया सञ्चालक जयवीरा राष्ट्रपति गोताबाय राक्षपाक्षेका निकट मित्र पनि हुन्। एकदिन राष्ट्रपतिले आफ्नो भाइ तथा तत्कालीन अर्थमन्त्री बेसिल राजापाक्षसँगै उनलाई रात्रिभोजमा निम्त्याए। 

बेसिल र जयवीराबीच लामो समयदेखि एकअर्काप्रति अविश्वास कायम थियो। तैपनि खाना खाँदै गर्दा श्रीलंकाको अर्थतन्त्रको जिम्मेवारी बोकेका बेसिललाई सोध्ने कयौँ प्रश्न थिए जयवीरासँग। के मुलुक दुर्घटनातर्फ जाँदै थियो? 

‘बेसिलले मेरा आधारभूत प्रश्नको उत्तर पनि दिन सकेनन्,’ जयवीराले सम्झिए, ‘उनले एकदम बेकार उत्तर दिए– यताबाट पैसा ल्याउँछौँ, उताबाट पैसा ल्याउँछु अनि ऋण तिर्दा केही समस्या पर्दैन भने। मैले के देखेँ भने उनी अलिअलि पनि अर्थतन्त्र बुझ्दैनथे, त्यसैले हाम्रो लागि सबैकुरा सिद्धिइसकेको थियो।’

त्यसको ६ महिना नबित्दै श्रीलंकामा १९४८ को स्वतन्त्रतायताकै सबैभन्दा खराब आर्थिक संकट आयो। सञ्चित मुद्रा सकिएपछि श्रीलंकाले इन्धन, खाद्यान्न र औषधि समेत आयात गर्न सकेन। मुलुकमा कोही पनि रहेन, जसलाई यो संकटले नछोएको होस्। राष्ट्रसंघका अनुसार श्रीलंकाले ‘भयानक मानवीय संकट’ झेलिरहेको छ। थुप्रैलाई दिनमा एक छाक जुराउन कठिन परिरहेको छ। शल्यक्रिया र क्यान्सर उपचार रोकिएका छन्। स्कुल बन्द गरिएका छन्। पेट्रोल बिक्री रोकिएको छ। ‘हाम्रो अर्थतन्त्र पुरै ध्वस्त भयो,’ प्रधानमन्त्री रनिल विक्रमासिंगेले हालै संसदमा भने।

बेसिल राजापाक्षे

यसले श्रीलंकामा अभूतपूर्व राजनीतिक हिसाबकिताब सुरु गरेको छ। त्यो हिसाबकिताब राजापाक्षे वंशमा केन्द्रित छ। जसको हातमा दुई दशकभन्दा लामो समय श्रीलंकाको शक्ति रह्यो। मार्चयता राष्ट्रपतिको राजीनामा माग गरिएको छ। उनका दाजु पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिइसकेका छन्। त्यस्तै अर्थमन्त्रीबाट बेसिल राजापाक्षे र क्याबिनेट सदस्य तथा पदमा रहेका परिवारका अन्य सदस्यले पनि राजीनामा दिएका छन्।

श्रीलंकाको संकटलाई भित्रबाट नियाल्नेहरुका अनुसार यो संकट राजापाक्षे परिवारबाट उत्पन्न भएको हो। यो परिवारले मुलुकको सम्पूर्ण शक्ति आफूमा केन्द्रीकृत गरेको थियो, जसका कारण श्रीलंका कसैको पारिवारिक व्यवसायजस्तो देखिन थालेको थियो। मुलुक टाट नउल्टिउन्जेलसम्म उनीहरु कसैप्रति पनि उत्तरदायी थिएनन्।

जब मुलुक अस्तव्यस्त हुन थाल्यो, तब राजापाक्षे परिवारमा आन्तरिक कलह सुरु भयो। कुनै समय सुमधुर सम्बन्ध भएका गोताबाय र महिन्दा दुवै सत्तामा टाँसिरहन खोज्दा उनीहरुबीचको सम्बन्ध तिक्त बन्न पुग्यो। मे ९ का दिन यो पारिवारिक विभाजन सडकमा पोखियो र मुलुक तीन दशकयताकै सबैभन्दा खराब हिंसाको सिकार बन्यो।

मन्त्रीहरु, विपक्षी नेताहरु, राजापाक्षेका सहयोगी र विश्वासपात्रहरु श्रीलंकाको पतनको मुख्य जिम्मेवार बेसिल राजापाक्षेलाई ठहर्याउँछन्। जसलाई परिवारको रणनीतिकार भनेर पनि चिन्ने गरिन्छ। यद्यपि यसो भन्नेहरुमध्ये धेरैको राजापक्षे परिवारका विभिन्न सदस्यसँग अझै बलियो सम्बन्ध र स्वार्थ छ। बेसिल अर्थमन्त्री बन्नुअघि पर्दापछाडि बसेर शक्तिको दलाली गर्थे। राष्ट्रपति र क्याबिनेटमा बेसिलको अद्वितीय प्रभाव रहेको थुप्रै मन्त्रीहरु बताउँछन्। यत्रो शक्तिका बाबजुद उनी अर्थतन्त्र चलाउन अक्षम ठहरिए। उनले वित्तीय संकट आउँदैछ भनेर संकेत गर्ने अनेक चेतावनीहरुलाई पनि बेवास्ता गरे।

‘साँच्चैको शक्ति बेसिलको हातमा थियो,’ २०२० देखि २०२२ सम्म मन्त्री रहेका र गत मार्चमा बेसिलले हटाउन लगाएका उदय गम्मनपिलाले भने, ‘गोताबायलाई परिस्थिति कति खराब छ भन्ने नै थाहा थिएन। महिन्दा बुढो भइसके। उनको स्वास्थ्य पनि ठिक थिएन। उनी नाम मात्रका नेता हुन्। सबथोक बेसिलको नियन्त्रणमा थियो।’
 
बेसिलले अन्तर्वार्ता दिन मानेनन्। उनका निकट सहयोगी पनि ‘अन द रेकर्ड’ बोल्न तयार भएनन्।

श्रीलंकाको आर्थिक समस्या २०१९ मा गोताबायले शक्ति हातमा लिनुभन्दा धेरैअघि सुरु भएको हो। १९७७ यता एकपछि अर्को सरकारहरुले ऋणको कमजोर जगमा देश निर्माण गर्दै गए। निर्यातभन्दा आयात निकै बढी थियो। प्रगतिशील तर खर्चिलो कल्याणकारी राज्यले घाटा अझै बढाउँदै गयो। जसको पूर्ति गर्न उच्च ब्याजमा ऋण लिन थालियो।

‘यो टाइम बम थियो। जुन, कयौँ दशकदेखि तयार हुँदै थियो,’ गम्मनपिला भन्छन्, ‘हरेकथोक कमाएर होइन, ऋण लिएको पैसाले बनाइएको थियो।’

महिन्दा र गोताबाय राजापाक्षे

महिन्दा राजापाक्षे २००५ मा राष्ट्रपति निर्वाचित भएपछि राजनीतिमा यो परिवारको बर्चश्व सुरु भयो। उनीहरुले पनि जथाभावी ऋण लिने काम सुरु गरे। ऋणको पैसा सुरुमा तमिलविरुद्धको तीन दशक लामो गृहयुद्ध सञ्चालनमा खर्च भयो। जुन युद्ध २००९ मा आएर क्रुर तरिकाले अन्त्य भयो। त्यसपछि तीव्र आर्थिक वृद्धि गर्ने भन्दै सडक, विमानस्थल, रंगशाला, विद्युत प्रसारण लाइन बनाउनमा खर्च बढाइयो। जीडीपी २० अर्ब डलरबाट बढेर ८० अर्ब डलर पुग्यो। तर, त्यही समयमा १४ अर्बभन्दा बढी ऋण लिइयो। र, राजापाक्षे परिवारका सबै सदस्यमाथि व्यापक भ्रष्टाचार, घुसखोरी र कालो धनलाई सेतो बनाएको आरोप लाग्यो।

२०१४ को राष्ट्रपतीय निर्वाचन महिन्दाले हारे। तर, सत्तामाथिको पकड छाड्ने मनसाय यो परिवारको थिएन। भ्रष्टाचार आरोपमा जमानतमा छुटेका बेसिलले एसएलपीपी नामक नयाँ पार्टी गठन गरे। पछि उनको भ्रष्टाचार आरोप पनि खारेज गरियो। संविधान संशोधन गरिएको हुनाले तेस्रो कार्यकालका लागि महिन्दा राष्ट्रपतिमा उठ्न नपाउने भए। त्यसपछि परिवारका केही सदस्यको आपत्तिका बाबजुद नोभेम्बर २०१९ को राष्ट्रपतीय निर्वाचनमा गोताबाय उम्मेदवार बन्ने निर्णय गरियो। तर, २०१८ मै बेसिलले आफ्नो उदेश्य स्पष्ट पारिसकेका थिए। ‘सत्य के हो भने गोतावाय अगाडि आउँदा यो देश हाँक्ने मैले हो। किनभने उनी राजनीतिमा नयाँ छन्,’ बेसिलले भनेका थिए।

सिधा कुरा गर्ने, सोझो स्वभावका पूर्वसैनिक गोतबाय आफ्ना दाजु चमत्कारी नेता, राजनीतिक रुपमा निकै चलाख महिन्दाभन्दा ठिक विपरीत थिए। गोताबायले बौद्धिकहरु, व्यापारीहरु र प्राज्ञहरुको प्रभावशाली समूहको समर्थन प्राप्त गरेका थिए। तिनको विश्वास थियो– गोताबायले अघिल्लो राजापाक्षेको शासनभन्दा अलग बाटो तयार गर्नेछन्। तर, राजनीतिमा गोताबायको अनुभव कम थियो। महिन्दाको प्रशासनमा उनले निर्वाचित नभई रक्षा सचिवको भूमिका मात्र निर्वाह गरेका थिए। जुन पदमा रहँदा युद्ध अपराधको आरोपका बाबजुद गृहयुद्ध अन्त्य गरेको भन्दै उनको वाहवाही भएको थियो।

गोताबाय सत्तामा उक्लिनेबित्तिकै ‘त्यो परिवारले सबैथोक हातमा लियो। गोताबाय उनीहरुको इसारामा नाच्ने काम मात्र गरिरहेका थिए,’ गोताबायलाई समर्थन गरेका एसएलपीपीका सांसद नलाका गोदाहेवा भन्छन्। 

बेसिलप्रति बफादारहरुलाई प्रमुख मन्त्रालय दिइयो। सो परिवारले दशकौँदेखि महिन्दा र बेसिलसँग निकट सम्बन्ध राखेका कर्मचारी पीबी जयसुन्दरालाई राष्ट्रपतिको सचिव र आर्थिक सल्लाहकार बनायो। जयसुन्दरालाई एक पटक सार्वजनिक पदका लागि अयोग्य घोषित गरिएको थियो। पछि त्यो निर्णय उल्ट्याइएको थियो।

‘गोताबायसँग राजनीतिक अनुभव थिएन र उनलाई अर्थतन्त्रका बारेमा केही पनि थाहा थिएन। अर्थतन्त्र चलाउन उनी पूर्ण रुपमा पीबी जयसुन्दरामा निर्भर भए,’ एसएलपीपीका सांसद र अर्थसम्बन्धी अनेक संसदीय समितिका सदस्य चरिता हेराथ भन्छन्, ‘र, उनले एकदम खराब सल्लाह दिइरहेका थिए।’

जयसुन्दराकै सल्लाहमा गोताबालयले २०१९ व्यापक कर कटौती लागू गरेका थिए। जसकाविरुद्ध अन्तर्राष्ट्रिय संस्थाहरुले चेतावनी समेत दिएका थिए। सो कदमले दुई वर्षमा सरकारको आम्दानी २ ट्रिलियन रुपैयाँभन्दा धेरैले घट्यो। कोभिड महामारीले आक्रमण गरेपछि पर्यटन र रेमिट्यान्स पनि सुक्यो। त्यसपछि पनि जयसुन्दराले आयातमा प्रतिबन्ध लगाउने तथा ऋणको सर्त बदल्न अन्तर्राष्ट्रिय मुद्राकोष जाने प्रयासलाई रोकिदिए। जबकि ऋण थुप्रिन थालेको थियो र नोभेम्बर २०२० देखि नै केन्द्रीय बैंकको मौद्रिक बोर्डले चेतावनी दिइसकेको थियो। 

आर्थिक संकटसँग जुधिरहेकाहरुलाई वितरण गर्ने ग्यास सिलिन्डरको सुरक्षा गर्दै एक सैनिक

जयसुन्दरामाथि राष्ट्रपतिलाई झुटा सूचना दिएको आरोप पनि छ। उनले २०२१ को सुरुवातमा श्रीलंकाको मौद्रिक अवस्था एकदम राम्रो रहेको सूचना एक बैठकमा गोताबायलाई दिएको प्रत्यक्षदर्शी आफैँ भएको जयवीरा बताउँछन्।

२०२० को संसदीय निर्वाचनमा एसएलपीपीले जित हात पारेपछि सरकारमा राजापाक्षे परिवारको पकड अझ बलियो भयो। महिन्दा प्रधानमन्त्री बने। उनका छोरा र वारिस नमाल राजापाक्षेलाई मन्त्री बनाइयो। त्यस्तै महिन्दाका जेठा दाजु चमाल पनि मन्त्री बने।

‘सिंगो मुलुकलाई राजापाक्षेहरुले कब्जा गरे,’ श्रीलंकाली राजनीतिक विश्लेषक तथा लेखक असंगा अभयगुनसेकारा भन्छन्, ‘सरकार तानाशाही, अतिराष्ट्रवादी र सैन्यकृत भयो।’

उनीहरुले संविधान संशोधन गरे र राष्ट्रपतिको हातमा थप शक्ति केन्द्रित गरे। त्यस्तै, दोहोरो नागरिकता भएकालाई सांसद बन्ने बाटो पनि खुल्यो। त्यसको लामो समय नबित्दै अमेरिकी नागरिक समेत रहेका बेसिल जुलाई २०२१ मा अर्थमन्त्री बने। उसो त थुप्रै क्याबिनेट सदस्यका अनुसार मन्त्री नबन्दै पनि बन्द कोठामा बसेर जयसुन्दरासँग मिलेर बेसिलले नै अर्थतन्त्र चलाइरहेका थिए।

कयौँ मन्त्रीहरुका अनुसार बेसिल तुरुन्तै क्याबिनेटका ‘डिफ्याक्टो’ बने। कुन निर्णय पारित हुने भन्ने उनैले निर्णय गर्थे। सबै ठूला निर्णयहरुमा अन्तिम राय उनैको हुन्थ्यो। गोताबाय तथा ७६ पुगिसकेका र निर्णय प्रक्रियाबाट पछि हटिसकेका महिन्दा समर्थनमा मुन्टो मात्र हल्लाउँथे। 

‘बेसिलले जस्तो प्रस्ताव अघि सारे पनि राष्ट्रपतिले स्वीकार गर्थे,’ अप्रिलसम्म गोताबायको गठबन्धन सरकारमा मन्त्री रहेका वामपन्थी सांसद वासुदेव नानायक्करा भन्छन्।’

क्याबिनेटमा असहमतिको स्वर बेसिल सहँदैनथे। उनकै रेखदेखमा आफूहरुलाई मुलुकको अर्थतन्त्रबारे गलत सूचना दिइएको क्याबिनेटका अन्य सदस्य तथा वित्तीय निगरानी गर्ने समितिका सदस्यहरु दाबी गर्छन्।

‘आउँदो संकटका बारेमा मैले ११ वटा क्याबिनेट पेपर पेस गर्दै चेतावनी दिएँ,’ गम्मनपिला भन्छन्, ‘तर, अर्थतन्त्रबारे हामीले केही भन्यो कि बेसिलले आफ्नो काममाथि हामीले हस्तक्षेप गरेको महसुस गर्थे र रिसाउँथे। उनले बारम्बार सबथोक ठिक छ भनरिहे। तर मेरो मूल्यांकनमा अर्थतन्त्रसम्बन्धी आधारभूत जानकारी पनि उनलाई छैन।’

गत महिना कोलम्बोमा गोताबायको पुत्ला दहन गरिँदै

अर्कोतिर, श्रीलंकाको केन्द्रीय बैंकमा गडबडी र निष्क्रियता सुरु भयो। बेसिल र गभर्नर अजित निवार्द काब्रालबीच टक्कर देखियो। महिनौँसम्म उनीहरु आपसमा बोलेनन् र बढ्दो वित्तीय समस्याका लागि एकअर्कालाई दोष दिइरहे। कोषमा देखिएको अभाव पूर्ति गर्न काब्रालाले अत्यधिक पैसा छाप्न थाले, जसले व्यापक मुद्रास्फिति निम्त्यायो।

गोताबायले १५ वटा गैरसैनिक मन्त्रालय चलाउने सैन्य जर्नेलहरुलाई मन्त्री नियुक्त गरेका थिए। जसमध्ये केहीमाथि युद्ध अपराधको आरोप थियो। यसका कारण कर्मचारीतन्त्रमा खैलाबैला थियो। ती मन्त्रीहरु तानाशाही र अक्षम ठहरिए। गृहयुद्धमा भन्दा अहिले रक्षा खर्च बढ्यो। त्यसले पनि सरकारी कोष रित्यायो। अर्कोतिर राष्ट्रपतिले अचानक सम्पूर्ण रासायनिक मलमा प्रतिबन्ध लगाए। जसले कृषिमा विकराल समस्या निम्त्यायो।

२०२२ को सुरुवातमा श्रीलंकाको अर्थतन्त्र र खासगरी विदेशी मुद्रा सञ्चितीमा ठूलो संकट आउँदैछ भन्ने स्पष्ट भइसकेको थियो। मुलुकको वैदेशिक ऋण जम्मा ५१ अर्ब डलर थियो। त्यसमध्ये ७ अर्ब उसले यो वर्ष तिर्नुपर्ने थियो। तर, उसँग डलर रित्तिँदै थियो। ऋण लिनसक्ने सबै अन्तर्राष्ट्रिय ठेगाना बन्द थिए। 

खाद्यान्न, पेट्रोल र औषधि आयातका लागि पैसा तिर्न नसकिरहँदा मुद्रास्फिति बढिरह्यो। त्यही बेला फाट्टफुट्ट प्रदर्शन हुन थाले। सडकको आक्रोश आफूहरुतिर सोझिएको देखेर राजापाक्षे परिवार चकित पर्यो। प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिलाई सल्लाह दिइयो– तपाईंले पद नछाडे पनि परिवारका अरुले छाड्नैपर्ने हुन्छ।

अप्रिलको सुरुमा महिन्दाबाहेक सरकारी पदमा भएका सबै राजापाक्षेलाई राजीनामा दिन गोताबायले निर्देशन दिए। जसबाट बेसिल रिसाए। तर, यो कदमले जनताको आक्रोश मत्थर भएन। र, तत्काल गोताबाय विश्वस्त भए, स्थिरता कायम गर्ने एउटै तरिका भनेको प्रधानमन्त्री महिन्दाले पनि राजीनामा दिनुपर्छ।

भित्रियाहरुका अनुसार तीन वा चार पटक महिन्दा राजीनामा दिन तयार भएका थिए। तर, त्यसपछि उनी आफ्नो भित्री झुण्डमा फर्किन्थे, जहाँ उनकी पत्नी र राजनीतिमा सक्रिय दुई छोरा पनि छन्। त्यो झुण्डले उनलाई राजीनामा दिन आवश्यक नरहेकोमा विश्वस्त तुल्याउँथ्यो। ‘दुई हप्तासम्म यस्तै भइइरह्यो,’ गोदाहेवा भन्छन्। यसबाट दाजुभाइबीच निरासा र आक्रोश बढ्यो।

‘गोताबाय र महिन्दाबीचको सम्बन्ध सधैँ हार्दिक थियो, प्रेमिल र पैत्रिक थियो,’ नानायक्कराले भने, ‘तर, अन्त्यतिर राजीनामा दिन गोताबायले महिन्दालाई अनेकथोक भनेपछि उनीहरुबीचको सम्बन्ध अत्यन्त तिक्त बन्यो।’

अन्ततः राजीनामा दिन महिन्दा सहमत भएको केही दिनपछि मे ९ का दिन कोलम्बोस्थित प्रधानमन्त्री निवासमा भएको भेलाले दाजुभाइबीचको तनाव उत्कर्षमा पुगेको पुष्टि गर्यो। यो भेलालाई केहीले महिन्दाको विदाइको रुपमा व्याख्या गरे भने अरुले यसलाई महिन्दाले परिवारको शक्तिकेन्द्र आफैँ हुँ भनेर गोताबायसामु गरेको शक्तिप्रदर्शनका रुपमा लिए।

अप्रिलमा राजापक्षे परिवारको राजीनामा माग गरिँदै

बेसिल, महिन्दाका छोरा नमाल र अरु मन्त्रीहरुले आयोजना गरेको यो भेलामा महिन्दाका सयौँ समर्थकहरुलाई बसमा चढाएर प्रधानमन्त्री निवासमा ओरालिएको थियो। भिडिओ फुटेज र साक्षीहरुका अनुसार त्यो भेला तुरुन्तै अनियन्त्रित बन्न पुग्यो। मानिसहरुले ‘कसको शक्ति? महिन्दाको शक्ति’ जस्ता नारा लगाए। प्रमुख सचेतक जोनस्टोन फर्नान्डोले ‘ल लडौँ अब, राष्ट्रपतिले सत्ता हामीलाई सुम्पिनुपर्छ’ समेत भने। एसएलपीपीका सांसदहरुको नेतृत्वमा कयौँ समर्थक गेट नाघेर बाहिर गए।

उनीहरु सरकारविरोधी प्रदर्शनको अखडा रहेको गल फेसतिर अघि बढे। उनीहरुले त्यहाँ भेला भएका प्रदर्शनकारीहरुलाई पिट्न र उनीहरुको पालमा आगो लगाउन थाले। 

सो आक्रमणको रिपोर्ट कोलम्बोस्थित आफ्नो घरमा बसिरहेका राष्ट्रपति गोताबाय राजापाक्षेकहाँ पुग्यो। उनी रिसले आगो भयो। अघिल्लै रात उनले यो भेलाप्रति सशंकित भएर प्रहरी प्रमुखलाई अश्रुग्यास र पानीतोप तयार पार्न निर्देशन दिएका थिए। 

‘राष्ट्रपति फोनमा डीआईजीसँग चिच्याइरहेका थिए। ती मानिसहरुलाई गल फेसमा प्रवेश गर्न किन नरोकेको भनेर सोधिरहेका थिए,’ दुई दिन गोताबायकै घरमा बस्न बाध्य गोदाहेवाले भने, ‘उनी कराइरहेका थिए, ‘म राष्ट्रपति हुँ। तपाईंले मैले भनेको मान्ने हो। जसरी हुन्छ ती मान्छेलाई रोक्नुस्।’

तर, प्रहरी र मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रमुखले गल फेसमा कुनै कारबाही गरेनन्। उनलाई आफूमाथिकाहरुले यो महिन्दा र गोताबायबीचको पारिवारिक मामिला भएको र त्यसमा प्रहरीले कसैको पक्ष लिएको देखिन नहुने बताएका थिए।

जबसम्म प्रहरी सक्रिय भयो, तबसम्ममा हिंसाको राँको सल्किसकेको थियो। जसले दशकौँयताको सबैभन्दा खराब हिंसालाई जन्म दियो। भीड प्रधानमन्त्रीको निवासमा प्रवेश गर्न खोज्यो। जसका कारण उनी आफ्ना छोरा र सहयोगीसहित शयनकक्षमा कैद भए। बिहान ४ बजे विशेष फौजले उनलाई त्यहाँबाट उद्धार गर्यो। ७० भन्दा बढी एसएलपीपी सांसदहरु र महिन्दाका सहयोगीहरुको घर जलाइयो। एक जना सांसदलाई भीडले कुटेर मार्यो। सरकार ढाल्न चाहने लडाकु राजनीतिक तत्वहरुले यो मौकाको फाइदा उठाएर आक्रमण गरेको धेरैको विश्वास छ।

गोताबायले सेनामाथिको नियन्त्रण पनि गुमाएको देखियो। किनभने सेनाले हस्तक्षेप गर्न मानेन। थुप्रैको भनाइ के छ भने कोही मारियो भने त्यसको जिम्मेवार आफूलाई ठहर्याइने डरले सैन्य कमान्डरहरु चुप बसे। ‘राष्ट्रपतिले पटकपटक सेनाप्रमुखलाई बिन्ती गरेको मैले देखेँ। उनले ‘सैनिक पठाउनुस्, केही त गर्नुस्’ भनिरहे,’ गोदाहेवा भन्छन्। उनको पनि घर जलाइएको थियो। ‘राष्ट्रपति निराश थिए। किनभने सबैको घर जलाइँदै थियो र सेनाले रोक्न मानिरहेको थिएन।’

मे १० का दिन प्रधानमन्त्री निवासबाहिर सुरक्षा दिँदै सैनिकहरु

त्यसपछि राजापाक्षे परिवार विभाजित भयो। गोताबाय र सबैभन्दा जेठा दाजु चमाल एकातिर अनि बेसिल, महिन्दा र उनका छोराहरु नमाल र योसिता अर्कोतिर। गोताबायले हिंसाका लागि महिन्दावरिपरिका मान्छेहरुलाई जिम्मेवार ठहर्याएका छन्। र, चमालले सार्वजनिक रुपमै बेलैमा महिन्दाले राजीनामा नदिएकोमा भर्त्सना गरेका छन्। बेसिलका निकटस्थहरुले भने गोताबाय पदका लागि योग्य नभएको प्रचार गरे।

जनताको भावना बुझ्न नसकेको आरोप गोताबायमाथि छ। तर, उनका वरिपरिकाहरुको भनाइमा उनी राष्ट्रपति पद छाड्न तयार छैनन्। जबकि उनी एक्लिँदै गएका छन्। यसैसाता सांसदहरुले ‘गोता घर जाऊ!’ भन्ने नारा लगाउँदै उनलाई संसदबाट बाहिर निकाले।

उनी आफ्नो कर्तव्य पुरा गर्ने सैन्य उत्तरदायित्व र राजापाक्षे परिवारको नाम कायम राख्नका लागि अझै पदमा बसिरहेको केहीको तर्क छ। तर, गोदाहेवा भन्छन्, ‘उनको दिमागमा अझै पनि सकारात्मक विरासत राख्ने जिद्धी देखिन्छ।’

राजापाक्षे वंशको भविष्य झनझन् अनिश्चित बन्दै गएको देखिन्छ। संविधानमा नयाँ संशोधनको प्रस्ताव क्याबिनेटमा प्रस्तुत गरिएको छ। जसले राष्ट्रपतिको शक्ति कम गर्नेछ भने फेरि दोहोरो नागरिकता लिएकालाई सरकारी पद लिन अयोग्य बनाउनेछ। सुरुमा बेसिलले यसको चर्को विरोध गरे। तर, गत महिना सांसदबाट आफैँले राजीनामा दिए। यद्यपि एसएलपीपीका अन्य सांसदहरुले यो संशोधनलाई रोक्ने प्रयास गरिरहेका छन्।

श्रीलंकाले वंशीय राजनीतिको बन्धन चुँडाइसकेकोमा केही मानिस अझै पनि विश्वस्त हुन सकेका छैनन्। 

‘राजापाक्षेहरु लामो खेलका लागि परिचित छन्। त्यसैले म ढुक्क भएर यो उनीहरुको अन्त्य हो भन्न सक्दिनँ। फिलिपिन्समा हेर्नुस् त, ३० वर्षपछि मार्कोसहरु सत्तामा फर्के कि फर्केनन्!’ हेराथ भन्छन्, ‘तर, अहिलेलाई राजापाक्षेहरुका लागि यहाँ कुनै ठाउँ छैन।’ 

(द गार्डियनबाट) 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .