ग्लोबल


बंगलादेशको चिडियाखानामा राखिएको भैँसीको नाम ‘डोनाल्ड ट्रम्प’!

बंगलादेशको चिडियाखानामा राखिएको भैँसीको नाम ‘डोनाल्ड ट्रम्प’!

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १४:४०, ढाका

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बंगलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी (राँगो) अहिले देशभरि ठुलो आकर्षण बनेको छ।

सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भिड बढेको छ।

सामाजिक सञ्जालमा यसको तस्बिर र भिडिओ भाइरल भएपछि मानिसहरू यसलाई प्रत्यक्ष हेर्न चिडियाखानातर्फ आकर्षित भइरहेका छन्।

यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल-अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो। तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न आदेश दिएको थियो।

त्यहाँ अहिले अत्यधिक गर्मीका बीच पनि ठूलो भीडले अवलोकन गरिरहेको छ। चिडियाखानामा मङ्गलबार आगन्तुकहरूको भिड बाक्लिएको देखिएको थियो। मानिसहरूले भैँसी रहेको खोर वरिपरि भिड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडिओ खिचिरहेका थिए।

केही अभिभावकले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर देखाइरहेका थिए। चिडियाखानाका कर्मचारीहरूले जनावरको हेरचाह गर्दै कपाल कोर्ने, पानी हालेर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास गरिरहेका छन्।

आगन्तुकहरूका अनुसार यसले भैँसीलाई थप विशेष व्यवहार गरिएको अनुभूति दिएको छ। ढाकाका विद्यार्थी मोहम्मद नासिमले उक्त भैँसीको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गरे।

यो सामाजिक सञ्जालमा भाइरल भएपछि विशेष ध्यान र व्यवहार पाएको उनको भनाइ छ।

तर यस नामकरणबारे सबैको समान प्रतिक्रिया छैन। केही आगन्तुकले जनावरलाई विश्व नेतासँग जोडेर नाम राख्नु अनुचित भएको टिप्पणी गरेका छन्।

ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै किसानले गलत निर्णय गरेको धारणा राखे।

स्थानीय सञ्चारमाध्यमका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ।

यसै घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

भैँसीको भविष्य पनि इद अल-अधाको सन्दर्भमा फेरिएको देखिन्छ। सुरुमा बलिदानका लागि बेचिएको उक्त भैँसीलाई पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो।

गृहमन्त्री सलाहुद्दिन अहमदको निर्देशनपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ। यस विषयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ।

दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा ‘डोनाल्ड ट्रम्प’ नामक भैँसीलाई बलिदान गरिने चर्चा देखेपछि त्यसपछि चिडियाखानामा राखिएको खबर सुनेर हेर्न आएको बताए।

चिडियाखानामा अहिले यो भैँसी दुर्लभ जनावरका रूपमा सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्रविन्दु बनेर बंगलादेशभरि विशेष आकर्षण बनेको छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad