ad ad

ग्लोबल


चीन–भारत कुस्तीको मैदान बन्यो श्रीलंका

चीन–भारत कुस्तीको मैदान बन्यो श्रीलंका

मार्क एस कोगन र विवेक मिश्र
भदौ १८, २०७९ शनिबार २०:४०, काठमाडौँ

गत महिनादेखि नै चीनको स्याटलाइट निगरानी गर्ने युआन वाङ ५ जहाज चिनियाँ समुद्रबाट विस्तारै श्रीलंकाको दक्षिणी भेगमा अवस्थित हम्बनटोटा बन्दरगाहतर्फ बढिरहेको थियो। केही महिनाअघि २० वर्षदेखि श्रीलंकाको सत्तामा रहेको राजापाक्षे परिवारको शासन छँदै सो ७३० फुट लामो चिनियाँ जहाजलाई श्रीलंकाली बन्दरगाहमा रोकिन अनुमति दिइएको भए यसबारे यतिधेरै हल्लाखल्ला सिर्जना हुने थिएन। तर, श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ, ऋणको पासो उसको घाँटीमा बेरिएको छ र भारत र चीनबीच भूराजनीतिक तनाव बढिरहेको छ। यस्तोमा सो जहाजको आगमनले थुप्रै चेतावनीका स्वर गुन्जायो।

भारतीय र अमेरिकी दुवै सरकारलेसो बन्दरगाहमा चीनको पहुँच रोक्न श्रीलंकालाई निकै चर्को दबाब दिएका थिए। जसले चिनियाँहरुलाई क्रुद्ध तुल्यायो। सुरुमा श्रीलंकाको विदेश मन्त्रालय यी दुई देशको दबाबसामु झुक्यो र चीनसँग उत्तम सम्बन्ध राख्न इच्छुक भएको भन्दै जहाजको आगमन स्थगित भएको बतायो। भारतलाई भने त्यो जहाजले सो क्षेत्रको भारतीय सैन्य अवस्थितिबारे जासुसी गर्ने चिन्ता थियो।

तर कोलम्बोले तुरुन्तै आफ्नो बाटो बदल्यो र अगस्ट १६ देखि बन्दरगाहमा सो जहाजलाई रोकिन अनुमति दियो। जसले श्रीलंकामाथि चिनियाँ प्रभावप्रतिको चिन्तालाई झन् बढायो। श्रीलंकाको यो निर्णय परिवर्तन भारतका लागि धक्का हो। जसले सुरक्षा चिन्ता र भारत तथा श्रीलंकाबीचको द्विपक्षीय विश्वासमाथि प्रश्न पैदा गर्छ। 

पहिलो पटक २००४ मा सत्तामा पुगेका महिन्दा राजापाक्षेले लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)लाई पराजित गरेर गृहयुद्ध टुंग्याए। त्यसपछि उनले घरेलु वैधता उत्पन्न गर्ने प्रयासस्वरुप बेइजिङलाई आमन्त्रित गर्न थाले। यी दुई देशबीच सैन्य सम्बन्ध भने त्यसअघि नै सुरु भइसकेको थियो। किनभने लिट्टेलाई पराजित गर्न चिनियाँ हतियारको पनि भूमिका थियो। चिनियाँ आर्थिक सहयोग, जसमध्ये धेरैजसो चिनियाँ बैंकको मध्यस्थतामा दिइएको ऋण थियो, तीव्र गतिमा बढ्यो। २००५ देखि २०१२ सम्ममा चीनले श्रीलंकालाई ४.७ अर्ब डलर आर्थिक सहयोग दियो, जसमध्ये ९८ प्रतिशत ऋण थियो।

भारतलाई आक्रोशित तुल्याउने पहिलो घटना थिएन युआन वाङ ५ को आगमन। २०१४ मा एउटा पण्डुब्बी र एउटा युद्धपोत कोलम्बोस्थित चीनद्वारा निर्मित कन्टेनर बन्दरगाहमा रोकिएका थिए। चिनियाँ सैन्य जहाजको बढ्दो श्रीलंका भ्रमणले भारतलाई अप्ठेरोमा पारेको छ। जसले बलियो ऐतिहासिक, सांस्कृतिक र जातीय सम्बन्ध भएका दुई देशबीचको सम्बन्धलाई थप कमजोर तुल्याएको छ। २०१४ मा श्रीलंका र एक चिनियाँ कम्पनीले विमान मर्मत केन्द्र बनाउने योजना तयार गर्दा पनि भारतले चर्को आपत्ति जनाएको थियो।

तथापि, यसपटक श्रीलंकाको बन्दरगाहमा चिनियाँ जहाज रोकिनुमा दुई अलग सन्दर्भ थिए। पहिलो, यो घटना भारत–चीन सम्बन्ध बिग्रिसकेपछि भएको हो। चीन र भारतबीचको लाइन अफ एक्चुअल कन्ट्रोलमा निरन्तरको द्वन्द्वले यी दुई मुलुकको सम्बन्ध खराब छ। श्रीलंका पनि नयाँ दिल्ली र बेइजिङबीचको कमजोर सम्बन्धबारे सचेत छ। दोस्रो, जारी वित्तीय संकटका क्रममा भारतले श्रीलंकाको साथमा बलियोगरी उभिने फैसला गर्यो, बिनाकुनै अपेक्षा। त्यसले पनि श्रीलंकालाई भारतको रणनीतिक चासोहरुलाई स्वीकार्न र सम्मान गर्न बाध्य बनाएको हुनसक्छ।

तैपनि श्रीलंकाको दृष्टिकोणबाट हेर्दा अभूतपूर्व वित्तीय तनावबाट गुज्रिरहेको सो मुलुक चिनियाँ दबाबका अगाडि झुक्न बाध्य हुनु बोधगम्य कुरा हो। हम्बनटोटा बन्दरगाह यसै पनि चिनियाँ नियन्त्रणमा छ। चिनियाँ रणनीतिक बलप्रयोगसामु श्रीलंकाले किन हात उठायो, त्यसले स्पष्ट पार्छ। ९९ वर्षका लागि लिजमा लिइएपछि हम्बनटोटा बन्दरगाह अहिले चिनियाँहरुको नियन्त्रणमा छ। त्यतिबेला प्रधानमन्त्री रहेका रनिल विक्रमासिंगेले सो बन्दरगाहलाई चिनियाँ सैन्य अखडाका रुपमा प्रयोग हुन नदिने बाचा भारतसँग गरेका थिए।

ऋणको सर्त फेर्ने वा केही हिस्सा माफ गरिदिने सवालमा श्रीलंकामाथि चीनको पकड अझै बलियो छ। विक्रमासिंगेको नयाँ सरकारको प्रमुख उदेश्य नै ऋणबाट राहत हो। जसले अन्तर्राष्ट्रिय मुद्राकोषबाट उद्धार खोजिरहेको छ। श्रीलंकासँग चिनियाँ सेनाको नवीकृत सम्बन्धबाट हम्बनटोटाको गहिरो पानीमा भएको बन्दरगाह इन्धन भर्न मात्र होइन, नौसैनिक आपूर्ति केन्द्रका रुपमा प्रयोग होला भन्ने भारतको लामो समयदेखिको डर ब्युँतिएको छ। 

पछिल्लो घटनाले भारतलाई दुई वटा पाठ सिकाएको छ। पहिलो, तमिलहरुलाई लिएर श्रीलंकासँगको सम्बन्ध र गृहयुद्धमा भारतको सैन्य हस्तक्षेपको इतिहासका कारण श्रीलंकामाथि ज्यादा जोरजबर्जस्ती नगर्न भारत सचेत हुनुपर्छ। पछिल्लो समय भारतले श्रीलंकासँग वित्तीय सहयोगमार्फत सम्बन्ध निर्माण गरेको छ। दोस्रो, यसले श्रीलंकामाथि दबाब दिन मात्र होइन, तयारी गर्न पनि भारतलाई बाध्य बनायो। समाचारअनुसार चिनियाँ जहाज श्रीलंकाली बन्दरगाहमा रोकिनुअघि नै भारतले स्याटलाइट सिल्ड राखिसकेको थियो। युआन वाङ ५ बाट हुने सुरक्षा खतरालाई रोक्न भारतले चार वटा स्याटलाइट र एउटा युद्धपोत पनि तैनाथ गरेको थियो। जुनसुकै मौसममा निगरानी कार्य गर्न सक्ने रुक्मिणी स्याटलाइट पनि उसले तैनाथ गरेको थियो। 

यो घटनाले इन्डो प्यासिफिक क्षेत्रमा चलिरहेको दुई भूराजनीतिक यथार्थलाई उजागर गरेको छ। पहिलो, नचाहँदा नचाहँदै पनि श्रीलंकाजस्ता साना मुलुकहरु महाशक्ति खिचातानीमा तानिनेछन्। प्रायः चीनमाथिको निर्भरता आकर्षणका कारण उनीहरु यो समस्यामा पर्छन्। दोस्रो, हिन्द महासागर इन्डो–प्यासिफिकको केन्द्रीय थिएटर बन्दै गएको छ। भारतले पश्चिमा रणनीतिसँग मिल्दो इन्डो–प्यासिफिक नीति अपनाए पनि यो क्षेत्रमा भारतको क्षमता र निर्णयशक्तिको परीक्षा हुनेछ। 

प्यासिफिक थिएटरमा आफ्नो शक्ति एकीकृत गरिसकेपछि चीन अहिले देखिने गरी हिन्द महासागरमा केन्द्रित भएको छ। चीन पश्चिमाहरुको संयुक्त इन्डो–प्यासिफिक रणनीतिलाई टक्कर दिने प्रयासमा छ। युक्रेन युद्ध र ताइवान मामिलामा चीनलाई धकेल्ने अमेरिकी प्रयासले मुलुकहरुबीच गहिरो विभाजन ल्याएको छ। इन्डो–प्यासिफिक रणनीतिलाई भत्काउने चिनियाँ प्रयासले अझ ठूलो प्रतिस्पर्धा निम्त्याउनेछ। श्रीलंकाजस्ता साना मुलुक बीचमा चेपिनेछन्। 

(नेसनल इन्ट्रेस्टबाट। मार्क एस कोगन जापानको ओसाकामा रहेको कान्साइ गाइदाइ युनिभर्सिटीका सहप्राध्यापक हुन्। विवेक मिश्र भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका अध्येता हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .