ग्लोबल


राजा चार्ल्स र बेलायती राजसंस्थाको भविष्य

के चार्ल्सले बेलायत र कमनवेल्थलाई एकसाथ राखिरहन सक्लान्?
राजा चार्ल्स र बेलायती राजसंस्थाको भविष्य

म्याथ्यु एन्जेल
असोज १ , काठमाडौँ

बेलायतमा नयाँ राजाको शासन सुरु भएको एक साता बित्दैछ। बेलायती ७० वर्षमा पहिलो पटक ‘गड सेभ द किङ’ गाउन अभ्यस्त हुँदैछन्।

‘रानीका सल्लाहकार’ भनिने वरिष्ठ वकिलहरुको पदवी आफसेआफ ‘राजाको सल्लाहकार’मा फेरियो। एक पटक फेरि विनम्रताको द्योतक ‘किङ्स इङ्लिस’ बनेको छ। लन्डनको वेस्ट एन्डमा अवस्थित हर मेजेस्टीज् थिएटरले १८३७, १९०१ र १९५२ मा झैँ लिंग बदल्ने परम्परा कायम राख्नेछ। संवैधानिक राजतन्त्र हुनुका ससाना खुसी हुन् यी।

हामीले यी सबै खुसीको स्वाद भरपुर चाख्न आवश्यक छ किनभने अहिले वयष्क रहेका कुनै पनि व्यक्तिको जीवनकालमा फेरि यस्तो फरबदल हुने सम्भावना छैन। किनभने चार्ल्सपछि राजा बन्न उनका छोरा विलियम र नाति जर्ज तयार छन्। फेरि तत्काल रानीको शासन आउने कुनै संकेत देखिँदैन।

नौ वर्षअघि आधुनिक सोच अनुरुप कानुन परिवर्तन गरेर जेठो सन्तान छोरा वा छोरी जे भए पनि उत्तराधिकारी बन्ने व्यवस्था गरिएको थियो। यदि जर्जकी बहिनी सार्लोट पहिले जन्मेकी भए उनी नै गद्दीको उत्तराधिकारी बन्ने थिइन्। तर, एलिजाबेथ द्वितीय त्यसरी रानी बनेकी होइनन्। उनका बुबा जर्ज पञ्चमले एक जना मात्र पनि वैध छोरा जन्माएको भए एलिजाबेथलाई तुरुन्तै राजपाठबाट लखेटिन्थ्यो।

रानीको शवपेटिका वेस्टमिन्स्टरतिर लैजाँदै गर्दा पछिपछि राजा चार्ल्स र राजकुमार विलियम

बेलायतमा ७० वर्षे रानीको शासनपछि राजाको शासन नौलो हो। तर, एक हिसाबले राजाको शासन अप्रचलित पनि भइसक्यो। प्राचीन राजाहरु युद्धमैदानमा बहादुरी देखाएर आफ्नो शक्ति, सम्मान र कृतज्ञता आर्जन गर्थे। तर, १८ औँ शताब्दीसम्म आइपुग्दा त्यो चलन पनि पुरानो भयो। १७४३ मा जब राजा जर्ज द्वितीयले डेटिङनमा फ्रान्सेलीहरुसँगको लडाइँमा आफैँले सेनाको नेतृत्व लिने ढिपी कसे, तब लन्डनका कफी हाउसहरुमा यो पटमूर्ख अधवैँशे जानाजान मारिन्छ कि मारिँदैन भनेर बाजी थापियो। त्यसयता कुनै पनि राजाले यस्तो कोसिस गरेको छैन। तथापि, राजपरिवारले सैन्य सेवा गर्ने परम्परा कायम छ। र, बेलायतमा अझै पनि अनिवार्य सेनामा भर्ती हुने शाही परिवारका पुरुष सदस्य मात्रै हुन्।

पुल्पुलिएका राजकुमारहरुमा मर्दको गुण भर्ने उपयोगी तरिका हो सैन्य भर्ती। तर, एलिजाबेथ द्वितीयको शासनकालमा बेलायतमा भएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो– असैनिकीकरण। १९५२ मा बेलायती सेनामा सैनिकहरुको संख्या ८ लाख ७२ हजार थियो। अहिले त्यो संख्या डेढ लाखभन्दा तल छ। हालै कन्जरभेटिव पार्टीका त्यसभन्दा पनि कम सदस्यले लिज ट्रसलाई प्रधानमन्त्री चुने।

‘राजतन्त्र अब तरबार जुधाइसँग सम्बन्धित रहेन,’ संवैधानिक विज्ञ लर्ड हेनेसी भन्छन्, ‘यो कल्याणकारी राजतन्त्र हो। यो अब कुनै नयाँ राष्ट्रिय स्वास्थ्य केन्द्र उद्घाटनमा रिबट काट्दा निस्किने कैँचीको चिरक्क आवाजसँग सम्बन्धित बनेको छ। र, यो पुरै परिवार त्यो काममा पोख्त छ।’

स्वर्गीय रानीका कम चर्चित गुणमा उनको साहस पनि थियो, जसलाई परम्परागतमा रुपमा पुरुषको गुण मानिन्थ्यो। अनेक पटक दरबारिया र मन्त्रीहरुको चिन्तालाई पन्छाउँदै उनी ती देशहरुको भ्रमणमा गइन्, जहाँ असुरक्षाको खतरा देखाइएको थियो। १६ औँ शताब्दीकी रानी एलिजाबेथ प्रथमले लडाइँमा जान लागेका आफ्ना फौजलाई भनेकी थिइन् रे, ‘मलाई थाहा छ, मेरो कमजोर महिलाको शरीर छ। तर, मसँग मुटु र पेट भने राजाको छ, त्यो पनि बेलायतको राजाको।’

आफ्नी आमाले एक दशकमा देखाएको भन्दा ज्यादा अधैर्य आफ्नो शासनको पहिलो सातामै राजा चार्ल्स तृतीय देखाइसकेका छन्। त्यो पनि कलमलाई लिएर। तर, उनलाई अलिकति छुट दिनै पर्छ। ७३ वर्ष पुगिसकेका उनले आफ्नी आमाको मृत्युपछि अचानक जीवनकै सबैभन्दा ठूलो चुनौती बेहोर्नुपरेको छ। जनता र मिडियाको आलोचनात्मक नजरसामु एकदमै बोझिलो साता उनले गुजारेका छन्। र, उनले विभिन्न स्तरका कलंकित र टाढिँदै गएका नातेदार पनि झेल्नुपरेको छ। 

उनको राज्यारोहण सम्भवत अर्को बर्खामा हुनेछ। उनीजस्तै नयाँ प्रधानमन्त्रीको कार्यकक्षमा आउने दैनिक संकटबाहेक बेलायतले १९४० को दशकयता नबोहेरेको अस्तित्वमाथिकै खतरा सामना गरिरहेको छ। त्यो पनि राजाको कामभित्र पर्छ।

२०१९ मा स्कटल्यान्डकी प्रथममन्त्री निकोला स्टर्जेनका साथमा चार्ल्स 

पहिलो, स्कटल्यान्डको लामो समयदेखि जारी बेचैनी। त्यो बेचैनी स्वतन्त्रतामा परिवर्तन भएछ भने पनि हार्दिकताका साथ होइन, निकै तिक्तताका साथ हुनेछ। अर्कोतिर, उत्तरी आयरल्यान्डमा सुतिरहेको ड्रागन ब्युँझिँदैछ। आसन्न जनगणनाबाट उत्तरी आयरल्यान्डमा प्रोटेस्टेन्टलाई क्याथोलिकहरुको संख्याले उछिनेको छ कि छैन थाहा हुनेछ। जसले सम्भवतः सो क्षेत्रलाई एकीकृत आयरल्यान्डसँग मिसिनेबारे जनमतसंग्रहको अवस्था सिर्जना गर्नेछ। त्यसको नतिजा जे पनि हुनसक्छ, हिंसा दोहोरिन पनि सक्छ।

स्वतन्त्र स्कटल्यान्डले सम्भवतः राजतन्त्र राख्नसक्छ। तर, एकीकृत आयरल्यान्डले पटक्कै राख्ने छैन। उसै पनि स्कटल्यान्ड अलग अधिराज्य बन्नेछ। चार्ल्सको मुख्य उपाधि ‘इंग्ल्यान्ड र वेल्सका राजा’ हुनेछ। तर, त्यसपछि पनि स्कटल्यान्डले राजतन्त्र फाल्ने सम्भावना भने रहन्छ। यो सब चार्ल्सले विलियमलाई प्रदान गर्ने निकै दयनीय विरासत हुनेछ।

बार्बाडोसको गणतन्त्र घोषणा समारोहमा चार्ल्स

बेलायती राजालाई राष्ट्रप्रमुख मान्ने टाढाटाढा रहेका अरु १४ वटा स्वतन्त्र मुलुक पनि परिवर्तन खोजिरहेका छन्। जसको बाटो बार्बाडोसले गणतन्त्रमा प्रवेश गरेर गत साल खोलिदियो। सो समारोहमा चार्ल्स पनि सहभागी भए र शुभेच्छा दिए। जमैका र एन्टिगुआले त्यसलाई पछ्याउने विश्वास छ। 

पहिले ‘श्वेत उपनिवेश’ भनेर चिनिने क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड भने अलि बढी सतर्क देखिएका छन्। यी तीनै मुलुकमा वामपन्थतिर ढल्केका सरकार छन्। जहाँको जनसंख्या विजातीय बन्दै गएको छ र तिनको सम्बन्ध बेलायतसँग छैन। तर, गणतन्त्रको माग बलियो रहेको अस्ट्रेलियामा समेत नेताहरु सुतिरहेको कुकुरलाई सुत्न दिनमै खुसी छन्। गणतन्त्रमा जाँदा ध्यान अलग कुरामा केन्द्रित हुने, राजनीतिक जोखिम बढी हुने र उपलब्धि खासै नहुने उनीहरुको ठम्याइ देखिन्छ।

अस्ट्रेलिया र न्युजिल्यान्डले आआफ्नो झण्डाबाट युनियन ज्याक हटाउने सहमति फेला पार्न समेत सकेका छैनन्। क्यानडाले ६० वर्षअघि नै मेपलको पातलाई झण्डा मान्यो। तर, त्यहाँ गणतन्त्रको दियो बेलायतमा जत्तिकै धिपधिपे छ। क्यानडाका एक पत्रकारले मलाई बताएअनुसार केही वर्षअघि गणतन्त्रवादीहरुको एउटा बैठकमा उनी सामेल भएका थिए। जहाँ जम्मा चार जना भेला भएका थिए।

रानी एलिजाबेथको सालिकमा क्यानबेरामा गत शनिबार चढाइएको पुष्पगुच्छा

राजतन्त्रप्रतिको ठूलो सम्मानका कारण यस्तो भएको होइन। क्यानडाको संविधान संशोधन गर्न एकदम कठिन छ। यस विषयमा जस्तोसुकै छलफल भए भने त्यसले अन्य सबैखाले समस्याग्रस्त मुद्दाहरुलाई ब्युँताउनेछ। लामो समयदेखि शान्त बसेका फ्रान्सेली भाषी क्युबेकका बासिन्दा हुन् वा निर्भीक हुँदै गएका आदिवासीहरु, दुवैले आआफ्नो प्राथमिकता लाद्न कोसिस गर्नेछन्। त्यसमाथि क्यानडेलीहरुको नाजुक राष्ट्रिय अहंले राजतन्त्र राख्नमा फाइदा देख्छ। जसलाई उसको घमण्डी छिमेकीले सदाका लागि गुमाइसकेको छ। रोयल्टी इंकका लेखक स्टिफन बेट्सले लेखेका छन्, ‘अमेरिकीहरुसँग नभएको एउटा कुरा भनेको राजतन्त्र हो।’

तर, बेलायतमा समेत राजतन्त्रविरोधीहरुले अहिले त्यो मौका पाएका छन्, जसका लागि उनीहरुले चार्ल्सले जत्तिकै लामो प्रतीक्षा गरेका थिए। रिपब्लिक नामक अभियानका प्रमुख ग्राहम स्मिथ भन्छन्, ‘हामीले हाम्रो कोषमा अहिले हजारौँ पाउन्ड चन्दा प्राप्त गरेका छौँ। सामाजिक सञ्जालमा पनि गतिविधि बढेको छ। यसको एउटा कारण चार्ल्सलाई लागेको धब्बा हो भने मुख्य कारण उनी रानी होइनन्। जसले सबै आलोचनालाई रोक्ने काम गरेकी थिइन्। उनको बारेमा नराम्रो भन्दा मानिसहरु रिसाउँथे।’

एडिनबरामा राजतन्त्रविरोधी प्रदर्शन

सो अभियानले मे महिनामा एउटा सर्वेक्षण गरेको थियो। पहिले राजतन्त्रप्रतिको समर्थन ७० प्रतिशतभन्दा बढी हुनेमा यसपटक त्यो ६० प्रतिशतमा झरेको छ। त्यो रानीको शासनको ७० औँ वर्षगाँठ र सेप्टेम्बरमा उनको निधन हुनुअघिको कुरा थियो। अहिले राजतन्त्रको समर्थन बढेको हुनुपर्छ। यसैसाता गरिएको अर्को एउटा सर्वेक्षणमा ४४ प्रतिशत मानिसले रानीको निधनमा रोएको स्वीकार गरेका छन्। यसको अर्थ के हो भने सुख्खा आँखा हुनेहरुको झिनो बहुमत त छ। तर, कुनैबेला आत्मसंयमका लागि कुख्यात मानिएको मुलुकमा रुनेहरुको त्यो संख्या पनि आश्चर्यजनक रुपले धेरै हो।

शोकको सुरुवाती घडीमा नयाँ राजा चार्ल्सले सबै काम सही गरे र गतिलो छाप छाडे। जुन नयाँ प्रधानमन्त्रीको छापभन्दा बिल्कुल विपरीत थियो। उनी त पुतलाको स्तुति गाइरहेकी ६ कक्षाकी विद्यार्थीजस्ती सुनिइन्। तर, साँच्चै भन्दा चार्ल्सले तयारीका लागि पर्याप्त समय पाएका थिए।

सेप्टेम्बर १२ मा राजा चार्ल्सले संसदमा सम्बोधन गर्नुअघि बाहिरपट्टि राजतन्त्रविरोधी प्रदर्शनकारी

चार्ल्समा गडबडी निम्त्याउने क्षमता भने अत्यधिक छ। विवाह गर्नका लागि उनका सामु अनगिन्ती विकल्प थिए। तैपनि उनले सबैभन्दा प्रलयकारी विकल्प रोजे– डायना। उनलाई प्रेम गरेको बहाना पनि उनले गरेनन्। १९९० को दशकको उनीहरुको सनसनीपूर्ण सम्बन्धविच्छेदले चार्ल्समा दाग लगाइदियो। जुन डायनाको निधनपछि फिका त भयो तर कहिल्यै मेटिएन।

चार्ल्स सधैँ औपचारिक, अजीब रुपमा प्रस्तुत हुँदै आएका छन्। उनी आफ्नी आमाभन्दा पनि बुढोजस्तो लाग्छन्। आफ्ना मानिसहरुप्रति उनी उत्साहित छैनन्। विगतमा उनले स्वतन्त्र रुपले अभिव्यक्त गरेका विचारहरुले उनलाई आफ्नो संवैधानिक कर्तव्य पालनामा रोक्न सक्छन्, जसरी उनकी आमाले त्यो कर्तव्य पुरा गरेकी थिइन्। उनको मै हुँ भन्ने भावका बारेमा लामो समयदेखि चर्चा सुनिँदै आएका छन्। यही साता समेत उनी राजकुमार छँदा उनको मामिला सम्हाल्ने कार्यालयले कर्मचारीहरुलाई कामबाट हटाएको सूचना पठाएर आफ्नै इज्जत फाल्यो।

त्यसबाहेक चार्ल्स बुद्धिमान, मेहनती, परोपकारी, आदर्शवादी र सबैको चासो लिने खालका छन्। र, सबैथोक हेर्दा उनको दोस्रो विवाह सफल भएको देखिन्छ। मानवीय र ख्यालठट्टा गर्ने स्वभावकी क्यामिलालाई परिवारमा ‘असल अण्डा’ भनेर स्वागत गरियो। जसलाई उनका पतिको ठण्डा स्वभावको उपचार मानियो।

विलियम र केट तथा ह्यारी र मेगन

अझै पनि चार्ल्सले परिवारका स्वेच्छाचारी सदस्यहरुलाई झेल्नुछ। उनका भाइ एन्ड्रयुलाई १८ वर्षमुनिकी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। छोरा ह्यारी र बुहारी मेगनले कहिलेकाहीँ आफैँ गणतन्त्रवादी भएको छाप दिएका छन्। तर, सम्झिनैपर्ने कुरा के हो भने बेलायती शाही परिवार विश्वको सबैभन्दा लामो समय चलेको धारावाहिक नाटकका रुपमा अत्यन्त सफल छ। शाही परिवारको जिम्मेवारीको एउटा हिस्सा हो, दिक्कलाग्दो कहिल्यै नबन्नु।

लर्ड हेनेसी भन्छन्, ‘संवैधानिक राजतन्त्र भनेको क्रिकेटजस्तो हो, यो बेकारजस्तो देखिन्छ, तर त्यसले काम गर्छ।’

स्विडेन, डेनमार्क, नर्वे र नेदरल्यान्ड्स, यी चार मुलुकले आफ्नो स्थिर शासनका कारण प्रशंसा कमाएका छन्। यी चारै मुलुक बेलायतजस्तै सिद्धान्तद्वारा परिचालित छन्। यो संयोग मात्र होइन। नाजीहरुले कोपनहेगन कब्जा गरेपछि राजा क्रिस्टियन घोडा चढेर एक्लै सहर घुम्थे र आफ्ना जनतालाई निराश नहुने संकेत दिन्थे। १९७० को दशकमा जर्नेल फ्य्रांकोको तानाशाहीपछि मुलुकलाई लोकतन्त्रतिर डोर्याउने राजा हुवाँ कार्लोस थिए।

बेलायतको लिखित संविधान छैन, यसहिसाबले बेलायत अरुभन्दा अलग छ। त्यसैले लर्ड हेनेसीले भनेजस्तो ‘सुपात्र सिद्धान्त’ मा बेलायत निर्भर छ। जसअनुसार राजा र प्रधानमन्त्रीले आआफेनो सत्ताको सीमा बुझ्छन् र त्यही अनुसार व्यवहार गर्छन्। ब्रेक्जिटपछि, खासगरी बोरिस जोनसनको नीतिनियम नमान्ने शासनकालमा त्यो सिद्धान्त समस्यामा परेको उनको विश्वास छ। चार्ल्स यसमा असफल नहुनेमा पनि उनी विश्वस्त छन्। पक्कै पनि हामी चार्ल्सका बारेमा सबथोक जान्दछौँ। उनको यौनजीवनबारे चाहिनेभन्दा ज्यादा नै। निर्वाचित राष्ट्रपतिको हकमा यस्तो हुने थिएन।

‘राष्ट्रप्रमुखको इमानदारीलाई वास्तविक ठानेर नस्वीकार्ने हो भने शाही विशेषाधिकारलाई निश्चित हैसियत दिनुपर्ने हुन्छ,’ हेनेसी भन्छन्, ‘त्यसलाई कामलाग्दो बनाउन लामो समय लाग्छ। तर चार्ल्सका लागि त्यो आवश्यक छैन भन्ने हामीलाई थाहा छ।’

बेलायतको वित्तीय र राजनीतिक परिस्थिति डरलाग्दो छ। तर, बेलायतको आधारभूत संवैधानिक व्यवस्था हाम्रो आँखैअगाडि सुधार हुँदैछ। अमेरिकालाई हेरौँ, जहाँ अहंकार उन्मादी पूर्व राष्ट्रपतिले आफ्ना समर्थकलाई एक व्यक्तिपूजक सम्प्रदायमा परिणत गरे। संसद् धेरै हदसम्म कब्जा गरियो र सर्वोच्च अदालत राजनीतिक गुण्डा तथा १८ औँ शताब्दीको आध्यात्मिक न्याय खोज्ने बाइबलका ज्ञाताहरुको अखडा बन्यो।

रानीको निधनपछि बकिङ्गम प्यालेस आइपुगेका चार्ल्स र क्यामिला

निर्वाचित तर शक्तिहीन राष्ट्रपतिको व्यवस्था कसो होला? त्यसका लागि बेलायतमा को योग्य होला? राजनीतिमा पारंगत र सबैले मन पराउने अवकाशप्राप्त व्यक्ति? अथवा, पूर्वराजनीतिज्ञ– टोनी ब्लेयर वा जोन मेजर? तर तिनलाई जहिले पनि आधा मुलुकले अविश्वास गरेको थियो!

एलिजाबेथ द्वितीयको पालामा जस्तो राजतन्त्रले फेरि कहिल्यै काम नगर्ला। तर, संयुक्त अधिराज्यको जे जति हिस्सा बाँकी छ, त्यसका लागि गरिमा, स्थिरता र स्वाभिमान प्रदान गर्नसक्ने सबैभन्दा उत्तम संस्था राजतन्त्र नै हो। साथै, फाल्तु प्रशंसा, हावा गफ र मनोरञ्जनको स्रोत पनि यही हो। त्यसैले ईश्वरले राजा र उनपछि राजा बन्ने तय भएकाहरुको रक्षा गरुन्!

(फाइनान्सियल टाइम्सबाट। म्याथ्यु एन्जेलको द रेनः लाइफ इन एलिजाबेथ्स ब्रिटेन’ पुस्तक प्रकाशनोन्मुख छ)
 

असोज १, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad