ग्लोबल


जो चीनलाई आर्थिक शक्तिका रुपमा स्थापित गरेर विदा भए

जो चीनलाई आर्थिक शक्तिका रुपमा स्थापित गरेर विदा भए

नेपालखबर
मंसिर १५ , काठमाडौँ

चीनलाई विश्व बजारमा डोर्याउने र आर्थिक शक्तिका रुपमा स्थापित गर्ने नेता चियाङ चमिनको निधन भएको छ। बुधबार सांघाइमा उनको निधन भएको हो। एक दशकसम्म चीनको तीव्र आर्थिक वृद्धिको नेतृत्व गरेका पूर्वराष्ट्रपति चियाङको ९६ वर्षको उमेरमा ब्लड क्यान्सर र मल्टिपल अर्गान फेलियरका कारण सांघाइमा बुधबार ज्यान गएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ।

उनको अन्तिम संस्कारका लागि राष्ट्रपति सी चिनफिङले ६८८ सदस्यीय समितिको नेतृत्व गर्नेछन्। उनको निधनको खबरपछि बेइजिङस्थित तियानमेन चोक र विदेशस्थित चिनियाँ दूतावासका झण्डा आधा झुकाइएको छ। चियाङ अन्तिम पटक १ अक्टोबर २०१९ मा सार्वजनिक रुपमा देखिएका थिए। 

१९८९ को तियानमेन संकटलगत्तै तेङ स्याओपिङले टिपेर पार्टीको नेतृत्वमा पुर्याएका चमिन चीनको त्यस्तो पहिलो शीर्ष नेता थिए, जो माओ चेतुङ नेतृत्वको क्रान्तिमा लडेका थिएनन्। चीनमा पहिलो पटक शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण गरेका चियाङ १९८९ मा पार्टी महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा १९९३ मा चीनको राष्ट्रपति बनेका थिए। त्यसपछिको एक दशकमा उनले चीनको मुहार फेर्ने कामको नेतृत्व गरे।

चीनलाई अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा अनुकूलन गर्ने काम उनकै पालामा भयो। त्यस्तै, चीनलाई विश्वको आर्थिक शक्तिको हैसियत दिलाउने काम पनि उनकै पालामा भयो। जसमा १९९७ मा बेलायती उपनिवेश शासनबाट मुक्त हङकङ चीनमा फिर्ता गर्ने कार्य र २००१ मा चीनलाई विश्व व्यापार संगठनको पूर्ण सदस्यता दिलाउने काम निकै महत्वपूर्ण छन्। २००१ मै चीनले २००८ को ओलम्पिक आयोजना गर्ने टुंगो लागेको थियो।

१९९८ मा हङकङमा चियाङ

विदेशी नेताहरुको आँखामा उनी कठोर, कम बोल्ने, नमुस्कुराउने चिनियाँ नेताहरुमध्ये अपवाद थिए। उनी अब्राहम लिंकनलाई उधृत गर्थे, हलिउड फिल्मप्रतिको आफ्नो मोह सार्वजनिक रुपमै स्वीकार्थे र अंग्रेजी गीत गुनगुनाउँथे।

तेङ स्याओपिङले सुरु गरेको चीनको पुँजीवादी परिवर्तनलाई अगाडि बढाउने काम चियाङले गरेका थिए। अवकाशपछि पनि प्रभावशाली रहेका चियाङको वर्तमान नेता सी चिनफिङलाई चुन्नमा पनि भूमिका रहेको बताइन्छ।

‘हुन त चियाङलाई मूर्ख, विदुषकका रुपमा चित्रित गरिन्छ, तर त्यस्तो चित्रण मलाई साह्रै बेकार लाग्छ,’ १९९१ देखि १९९५ सम्म चीनका लागि अमेरिकी राजदूत स्टेपल्टन रोय भन्छन्, ‘चीनको उच्च नेतृत्वमा रहेको राजनीतिक चालबाजीमा उनी कमजोर थिएनन्।’

अमेरिकी क्षेप्यास्त्रले ध्वस्त भएको बेलग्रेडस्थित चिनियाँ दूतावास।

जुलाई २०१३ मा अमेरिका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरसँग भेट्दा चियाङले सीलाई बलियो नेता भनेका थिए। तर, चियाङ आफैँ भने नेतृत्वमा पुग्दै गर्दा निकै कमजोर थिए। पहिले बजार अर्थतन्त्रको विपक्षमा उभिएका उनले पछि अझ खुलापनको वकालत गरे।

चियाङकै नेतृत्वमा चीन प्रमुख उत्पादक शक्तिका रुपमा उदायो। र, विकसित मुलुकहरुको आर्थिक प्रतिस्पर्धीका रुपमा स्थापित भयो।

उनको कार्यकालमा चीन–अमेरिका सम्बन्ध उतारचढावपूर्ण रह्यो। तर, उनी व्यवहारिक रुपमा प्रस्तुत भए।

‘अमेरिकासँगको सम्बन्धलाई उनले प्राथमिकता दिए। त्यसका लागि उनले केही जोखिम पनि मोले,’ चियाङ सत्तामा हुँदा सीआर्ईएका विश्लेषक रहेका क्रिष्टोफर के जोनसनले भने।

१९९९ मा अमेरिकी बमले बेलग्रेडस्थित चिनियाँ क्षेप्यास्त्र ध्वस्त पार्दा तीन चिनियाँ पत्रकारको ज्यान गयो। क्लिन्टन प्रशासनले यसलाई दुर्घटना भनेर टार्न खोज्दा चियाङले त्यसलाई खारेज गरे।

संकटमा उदाएका नेता
जतिबेला चियाङ चमिन सत्तामा आए, त्यतिबेला चीन ठूलो संकटमा थियो। १९८९ मा तियानमेन चोकमा प्रदर्शन चर्केको थियो। जसलाई दबाउने आदेश दिएका थिए, सर्वोच्च नेता तेङ स्यायोपिङले। तर, पार्टीका तत्कालीन महासचिव चाओ चियाङले प्रदर्शनकारीमाथि सशस्त्र दमनको आदेश कार्यान्वयनमा आनाकानी गरे। 

यस्तो स्थितिमा तेङ र पार्टीका अन्य पाका नेताहरुले पार्टीको सामान्य नियमभन्दा बाहिर गएर चाओलाई विस्थापित गर्ने निर्णय लिए। तेङको नजर संघाइमा पर्यो। जहाँका पार्टी सचिव चियाङ जमिनले बिनाकुनै रक्तपात विद्यार्थी प्रदर्शन नियन्त्रणमा लिन सफल भएका थिए। 

त्यसैले हतारहतार चियाङलाई पार्टीको सर्वोच्च पदमा बढुवा गरियो। उनले विस्थापित गरेका चाओले भने आफ्नो जीवन नजरबन्दमा गुजारे, जहाँ २००५ मा उनको निधन भयो।

त्यतिबेला थुप्रैलाई लागेको थियो, चियाङले पार्टीको शिखरमा लामो समय बिताउन पाउने छैनन्। चियाङलाई पनि त्यस्तै लागेको थियो।

गतवर्ष पार्टी स्थपानाको सयौँ वर्षगाँठमा मनाउने क्रममा प्रदर्शित चियाङको तस्बिर

‘सिंगो मुलुक हाँक्ने मेरो उदेश्य थिएन,’ एक अमेरिकी टेलिभिजनलाई उनले सन् २००० मा भनेका थिए, ‘मभन्दा अझ सक्षम व्यक्तिले सो पद लेला भन्ने मेरो अपेक्षा थियो।’

‘यी चियाङ चमिनसँग विचार छ, क्षमता छ र चमत्कार पनि छ,’ तत्कालीन प्रधानमन्त्री ली पेङले जनाएअनुसार मे १९८९ मा भएको एक बैठकमा तेङले भनेका थिए।

चियाङ चमिन (चमिनको अर्थ हुन्छ, ‘जनतालाई फाइदा देऊ’) को जन्म सांघाइको उत्तरपश्चिममा पर्ने प्राचीन याङ्जी नदीको किनारमा अवस्थित याङ्चाउ सहरमा १७ अगस्ट १९२६ मा भएको थियो।

उनका बुबा चियाङ सिजुन एक विद्युत कम्पनीमा लेखापाल थिए। पछि उनी डुंगा चलाउने कम्पनीको म्यानेजर पनि भए। उनकी आमा वु युचिङ किसान परिवारकी छोरी थिइन्। चियाङका दुई काकाहरु कम्युनिस्ट पार्टी कार्यकर्ता थिए र क्रान्तिका बेला सरकारविरुद्ध लडेका थिए। जसमध्ये एक १९३९ मा मारिएका थिए। बालक चियाङलाई मृत काकाको परिवारको उत्तराधिकारी घोषित गरिएको थियो।

१९४६ मा सांघाइमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै र अंग्रेजी भाषा सिक्दै गर्दा चियाङ कम्युनिस्ट पार्टीमा आबद्ध भए। एक अमेरिकी लगानीकर्ताले स्थापना गरेको ‘प्रेटी गर्ल’ नामक आइसक्रिम बनाउने कम्पनीमा टेक्नेसियनका रुपमा चियाङले पहिलो जागिर खाएका थिए। १९४९ मा कम्युनिस्ट पार्टीले सत्ता कब्जा गरेपछि सो कारखानालाई पार्टीको नियन्त्रणमा ल्याउन चियाङले भूमिका खेले। आइसक्रिमको नाम पनि बदलेर ‘ब्राइट’ राखियो। यो सफलतापछि पार्टीका एक नेता वाङ ताओहानको नजर चियाङमाथि पर्यो, जो जीवनभर उनका संरक्षक रहे।

१९५१ मा याङचाउकै बासिन्दा वाङ यपिङसँग चियाङले बिहे गरे। उनीहरुका दुई छोरा जन्मिए। जसमध्ये चियाङ मियानहेङ इलेक्ट्रिकल इन्जिनियर, एक कम्पनीको कार्यकारी हुँदै साइन्स इन्स्टिच्युटको अध्यक्ष बने। अर्का छोरा चियाङ मियानकाङ पनि इन्जिनियर, व्यवसायी हुँदै सरकारी अधिकारी बने।

उद्योग क्षेत्रको कर्मचारीतन्त्रबाट उनी माथि उक्लिँदै गए। १९५० को दशकमा उनले केही समय मस्कोस्थित स्टालिन अटोमोबाइल वर्क्समा काम गरे। रोमानियामा एक वर्ष कूटनीतिज्ञका रुपमा बिताए। जहाँ उनले टिपेका लोकभाका दशकौँपछि उनी आफ्ना पाहुनाहरुलाई सुनाउने गर्थे।

१९७० को दशकको अन्त्यतिर चीनले खुलापन अपनाएपछि चियाङ वैदेशिक लगानी तथा व्यापार आयोगमा बढुवा भए। जसले क्वाङतोङ र फुचियान प्रान्तहरुमा विशेष आर्थिक क्षेत्र स्थापनामा सघायो। बजार सुधारका क्रममा राजनीति र कर्मचारीतन्त्रबाट कस्ता बाधा आउँछन्, उनले त्यहाँ यो कुरा थाहा पाए। 

१९८५ मा उनी सांघाइको मेयर चुनिए। त्यसपछि सो क्षेत्रमा भएका आर्थिक विकासको काममा उनी संलग्न भए। 

१९८७ मा पार्टीको पोलिट्ब्युरोले च्याङलाई सांघाइको पार्टी सचिव अर्थात् सो सहरको सबैभन्दा शीर्ष पदमा बढुवा गर्यो। दुई वर्षपछि जब देशभर विद्यार्थी प्रदर्शन चर्कियो, सांघाइ भने रक्तपातबाट बच्न सफल भयो।

चियाङको बफादारी र हिंसासँगको उनको दुरीले गर्दा उनलाई निकै फाइदा भएको उनको जीवनी ‘टाइगर अन द ब्रिंक’ का लेखक ब्रुस गिलीको निष्कर्ष छ। 

चिनियाँ राष्ट्रपति चियाङ चमिन र उनकी पत्नी वाङ यपिङ १९९२ मा (सिन्ह्वा)

पुँजीवादतर्फको झुकाव
आफ्नो राजनीतिक आधार नभएकाले चियाङ १९८९ पछि पार्टीको परम्परागत धारमा समाहित भए। उनले असहमतहरुप्रति कडा अडान लिए, स्थायित्वलाई मुलुकको प्रमुख प्राथमिकता बनाए। कतिसम्म भने तेङको आर्थिक परिवर्तनको पनि विरुद्धमा उनी उभिए। र, उनले त्यस्ता नीतिलाई समर्थन गरे, जसले आर्थिक जीवनमाथि पार्टीको नियन्त्रणलाई सघाउँथ्यो।

‘चियाङ चमिन सत्तामा आउँदा उनको आफ्नै शक्ति थिएन। त्यसैले उनी पार्टीका पाका नेताहरुमा निर्भर हुनुपर्यो,’ इतिहासकार याङ चिसेङ भन्छन्, ‘पाका नेताहरु विभाजित थिए। चियाङ चमिन दुवै पक्षलाई रिझाउन खोजिरहेका थिए। तर, त्यसो गर्दा तेङ स्यायोपिङ उनीसँग रिसाउन पुगे।’

बुढो भए पनि अझै शक्तिशाली रहेका तेङ आफ्नो आर्थिक उदारीकरणको विरासतलाई विचारधारात्मक आक्रमणमार्फत भत्काइने हो कि भनेर चिन्तित थिए। त्यसैले १९९२ मा उनले चियाङलाई सार्वजनिक रुपमै आलोचना गरे। चीनको परिवर्तन रोकिएको उनको गुनासो थियो।

‘चियाङले १९९२ लाई आफ्नो जीवनकै कठिन वर्ष मानेकाथिए,’ २००५ मा उनको जीवनी लेखेका रोबर्ट लरेन्स कुनले भनेका छन्।

तेङको चाहना बुझेर चियाङले चीनको राज्यनियन्त्रित पुँजीवादलाई अँगाले। तेङसँगको सम्बन्ध सुधार्न चियाङले सांघाइमा आफ्ना उत्तराधिकारी तथा आर्थिक सुधारका पक्षपाती चु रोङ्चीलाई बेइजिङ बोलाए। पहिले उपप्रधानमन्त्री र पछि प्रधानमन्त्रीका रुपमा चु तेङको बजार उदारीकरणलाई अगाडि बढाउने व्यक्ति बने।

चियाङले बहुराष्ट्रिय कम्पनीका कार्यकारी प्रमुखहरुलाई बेइजिङमा निम्त्याए। लगानीकर्ताहरुलाई आकर्षित गरे। विदेशी र चिनियाँहरुको जोइन्ट भेन्चरलाई उनले प्रोत्साहित गरे। जसका कारण चीनलाई फर्मास्युटिकल्स, कम्प्युटर, अटोमोबाइलआदिको प्रमुख उत्पादक बनाउन सहयोग पुग्यो। उनले चीनको पूर्वी किनारामा अवस्थित सहरहरुमा अर्बौं डलर लगानी गरे। खासगरी सांघाइमा। जसले चीनको पहिलो महानगर सिर्जना गर्यो र आगन्तुकहरुलाई आकर्षित गर्यो।

सत्तामा सहज बनेपछि चियाङले चिनियाँ व्यवस्था र आफ्नो प्रचार खुलेआम गर्न थाले। जसलाई पछि गएर उनका उत्तराधिकारीहरुले घृणा गरे। 

१९९८ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीन भ्रमण गर्दा चियाङले परम्परा तोड्दै संयुक्त पत्रकार सम्मेलनको अनुमति दिए। जसलाई चिनियाँ टेलिभिजनमा प्रत्यक्ष प्रशारण पनि गरियो। दुवै राष्ट्रपतिहरुले मानवअधिकार र तिब्बत मामिलामा भने चर्चा गरेनन्।

१९९८ मा चियाङ र बिल क्लिन्टन तियानमेन चोकमा (एपी)

‘उनी आफूलाई पश्चगामी, लेनिनवादी नेता होइन भन्ने साबित गर्न चाहन्थे,’ क्लिन्टनको भ्रमण टोलीमा रहेका पत्रकार अरभिल सेल भन्छन्।

पार्टीको कट्टरपन्थी धारको बलियो विरोधका बाबजुद चियाङ र चुले चीनलाई विश्व व्यापार संगठनको पूर्ण सदस्यता दिलाए। जसले विश्व बजारमा चीनलाई पहुँच दियो भने चिनियाँ बजारमा विदेशी व्यापारलाई। चीनलाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउने यो सबैभन्दा महत्वपूर्ण घटना थियो।

चीनको अर्थतन्त्र उकालो लाग्यो। र, यो मुलुकले पहिलो करोडपति र त्यसपछि अर्बपति जन्मायो। १९९० को दशकमा भएका आर्थिक ज्यादती नियन्त्रण गर्ने जिम्मा भने आर्थिक ज्ञान भएका चुको जिम्मामा पर्यो।

‘उनले खराब कामजति चु रोङ्चीलाई गर्न दिन्थे। तर, उनले चुलाई समर्थन गरेका थिए,’ पूर्वराजदूत रोय भन्छन्।

आर्थिक समृद्धिले कम्युनिस्ट पार्टीसामु चुनौती पनि ल्यायो– बढ्दो सम्पन्नता र असमानताको माझमा नयाँ सैद्धान्तिक आधार कसरी फेला पार्ने? त्यसको जवाफ दिँदै चियाङले तीन प्रतिनिधित्वको सिद्धान्त अघि सारे। जुन उनको सबैभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धि थियो।

कामदार वर्गलाई मात्र होइन, कुनैबेला आफैँले शोषक भनेको धनी उद्योगी र बुर्जुवा वर्गलाई पनि पार्टीमा प्रतिनिधित्व गराउने आह्वान थियो यो। पार्टीका प्रमुख सिद्धान्तकारहरुले चियाङको योजनालाई एक दलीय शासनको पैसा र शक्ति दुवै भएको वर्गले गर्नसक्ने विरोधलाई रोक्ने जोखिमपूर्ण प्रयासका रुपमा हेरे।

‘निजी उद्यमीहरुलाई पार्टीभित्र हुल्ने निर्णय निकै ठूलो थियो। यसका लागि उनले निकै आलोचना पनि बेहोरे,’ सीआईएका पूर्वविश्लेषक जोनसन भन्छन्, ‘या त धनीहरुलाई पालभित्र हुल्नुपर्थ्यो, या पालबाहिर बसेर तिनले वितण्डा मच्चाउने थिए।’

चियाङ र चुले हुर्काएको जंगली पुँजीवादले चीनमा धनी र गरिबबीच फराकिलो खाडल बनायो। असंख्य मानिसहरुलाई गरिबीबाट बाहिर निकाले पनि यसले भ्रष्टाचार र आसेपासेवादलाई बढावा दियो।

‘केही हदसम्म भ्रष्टाचारप्रतिको बाँच र बाँच्नदेउ भन्नेखाले संस्कार त्यतिबेलै सुरु भएको हो, जसलाई अहिले सी चिनफिङले आक्रमण गरिरहेका छन्,’ बोस्टन युनिभर्सिटीका प्राध्यापक जोसेफ फ्युस्मिथ भन्छन्।

अवकाशपछिको प्रभाव
२००२ मा पार्टीको नेतृत्वबाट अवकाश पाउँदा र २००३ मा राष्ट्रपति पदबाट अवकाश पाउँदा चियाङको प्रभाव र आत्माभिमान यति बढिसकेको थियो कि उनी राजनीतिक मञ्चबाट विदा हुन अनिच्छुक थिए। उनको उत्तराधिकारी भने तेङले नै हु चिन्ताओलाई रोजिसकेका थिए।

दुई ठूला पद छाडिसकेपछि पनि चियाङ २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहिरहे। त्यसपछि पनि पर्दापछाडि बसेर उनले बढुवाहरुमा भूमिका खेलिरहे। सी चिनफिङ २०१२ मा नेता बन्दा पनि चियाङले आफ्नो प्रभाव प्रयोग गरेर नेतृत्वपंक्ति तयार पारेको जानकारहरु बताउँछन्।

सी र हुको माझमा चियाङ २०१५ मा

अगस्ट २०१५ मा पार्टीको पत्रिका पिपुल्स डेलीले एउटा असामान्य चेतावनी दियो– अवकाशप्राप्त नेताहरु राजनीतिबाट बाहिर बस्नुपर्छ। र, पाहुना गइसकेपछि चियाको कपझैँ ‘सेलाउनुपर्छ।’

पर्दापछाडि शक्तिमा खेल्ने चियाङको चाहनाले सी क्रुद्ध भएको हल्ला चल्यो। तर, त्यसलगत्तै यी दुई नेताहरु अर्का नेता हु चिन्ताओको साथ एक परेडमा सँगै देखिए।

चियाङ र उनको कोटरीलाई सांघाइ फ्याक्सन भनेर पनि चिनिन्छ। गएको दशकमा यो फ्याक्सनको प्रभाव कम भएको छ। गत महिनाको पार्टी सम्मेलनमा सीले नयाँ स्थायी समिति गठन गरे। चीन हाँक्न चुनिएका यी सातमध्ये सबैजना सीका वफादार छन्। जसमा चियाङ र हुसँग निकट सम्बन्ध भएका कोही छैनन्।

‘अवकाशपछि पनि चियाङ चमिनले राजनीतिमा प्रभाव पारिरहे। तर, त्यसले उनको प्रतिष्ठामा आँच आयो,’ इतिहासकार याङ भन्छन्, ‘शक्ति प्रयोग गर्न उनलाई मजा आउने भएकाले उनले त्यसो गरे। साथै उनको वरिपरि उनीमाथि निर्भर मानिसहरुको एउटा वृत्त थियो, जसले उनलाई म अति महत्वपूर्ण छु भन्ने महसुस गराएका थिए।’

तर, आफ्ना अन्तिम वर्षहरुमा युवा चिनियाँहरुमाझ चियाङ लोक नायक बन्न पुगे। उनको तौरतरिका र भ्यागुताको जस्तो आकृतिको उनीहरुले अनलाइनमा खुब मजाक उडाए भने आफ्ना उत्तराधिकारीको तुलनामा सहनशील रहेको भन्दै प्रशंसा गरे। सन् २००० मा चियाङले हङकङका पत्रकारलाई अंग्रेजीमा ‘साह्रै सोझो, बुद्धु!’ भन्दै मजाक उडाएको स्मरण उनीहरुले गरे।

सन् २००० मा सिक्स्टी मिनट्स नामक अमेरिकी टीभी कार्यक्रममा चियाङ चमिनलाई प्रस्तोताले सोधे, ‘केहीले तपाईंलाई रेशममा बेरिएको सियो भन्छन् नि!’

‘तेङ स्यायोपिङको चरित्रलाई व्याख्या गर्न पनि मानिसहरुले त्यही पदावली प्रयोग गर्थे,’ चियाङले जवाफ दिए, ‘मलाई तेङको स्तरमा राखिनुहुँदैन भन्ने मलाई लाग्छ।’

तर, उनले थपे, ‘म निर्णायक पात्र हुँ।’

(न्युयोर्क टाइम्स र साउथ चाइना मर्निङ पोस्टबाट)

मंसिर १४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.