ad ad

कारोबार


बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १९:२६, काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२  कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना प्रकाशन गर्दै ती कम्पनीलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो। 

कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो। 

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साईं प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान हुन्। 

त्यस्तै, हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ। नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। 

शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाडौँको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ। विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। 

खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ। सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो।

त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी हुन्। 

काठमाडौँको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो। प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो।

उत्तरगया गाउँपालिका, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी हुन्। 

कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी हुन्। 

त्यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला हुन्।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहको सिफारिसमा नीलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ। नीलगिरि निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी छन्। यी तीनवटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन्। 

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .