ग्लोबल


सी चिनफिङले आफ्नो कार्यकक्षमा थपे चियाङ, हु र छोरीको तस्बिर

सी चिनफिङले आफ्नो कार्यकक्षमा थपे चियाङ, हु र छोरीको तस्बिर

नेपालखबर
पुस १८, २०७९ सोमबार १७:५१, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको भिडिओ सम्बोधनमा उनको कार्यालयको सजावटमा फेरबदल भएको देखिएको छ। उनको कार्यकक्षको पृष्ठभूमिमा रहेको पुस्तकको तख्तामा नोभेम्बरमा बितेका पूर्वराष्ट्रपति चियाङ चमिनको तस्बिर पनि थपिएको देखिन्छ।

सन् २०१३ यता सीले हरेक वर्षको अन्तिम दिन भिडिओ सम्बोधन गर्दै आएका छन्। यो चोङनानहाइस्थित उनको कार्यालयको अवस्था चिहाउने दुर्लभ अवसर पनि हो। 

चीनमा १९९० को दशक र २००० को दशकको सुरुवाती वर्ष शासन चलाएका चियाङको दुई वटा तस्बिर यसपटक देखिएका छन्। 

त्यसमध्ये एउटा तस्बिरमा चियाङ ३० सेप्टेम्बर १९९९ मा तत्कालीन प्रधानमन्त्री चु रोङ्ची र सीका बुबा सी चोङसुनका साथ देखिन्छन्। त्यतिबेला सीका बुबा अवकाशप्राप्त नेताका रुपमा सो समारोहमा उपस्थित थिए।

सीका बुबा १९८२ देखि १९८७ सम्म पोलिट्ब्युरो सदस्य थिए।

अर्को तस्बिरमा चियाङ पूर्वराष्ट्रपति हु चिन्ताओ र सीको बीचमा उभिएका देखिन्छन्, जसको मिति र स्थान उल्लेख छन्।

८० वर्षीय हु पछिल्लो पटक डिसेम्बर ५ मा सार्वजनिक रुपमा देखिएका थिए। त्यसबेला उनी सीसहित चियाङको अन्तिम विदाई समारोहमा उपस्थित भएका थिए।

सीको कार्यालयको पृष्ठभूमिमा उनका पूर्ववर्ती नेताहरुको तस्बिर देखिएको यो पहिलो पटक हो। सम्बोधनमा पनि सीले चियाङले महान उपलब्धि हासिल गरेको उल्लेख गरे।

त्यस्तै, सीले आफ्नी छोरी मिङ्जीसँगका दुई पुराना तस्बिर पनि पछाडि थपेका छन्। त्यस्तै आफू युवा छँदाको दुई तस्बिर र पत्नी पेङ ल्युआनसँगको हालसालैको तस्बिर पनि उनले राखेका छन्।

त्यस्तै, सीले नोभेम्बरको जी२० शिखर सम्मेलन, हङकङ, सिन्जियाङ र सान्सी प्रान्त भ्रमणका तस्बिर पनि राखेका छन्।

२० औँ पार्टी सम्मेलनमा गत अक्टोबरमा उनले प्रतिवेदन प्रस्तुत गर्दैगरेको तस्बिर पनि थपिएको छ।

त्यसबाहेक उनको कार्यालयमा गत वर्षयता खासै परिवर्तन भएको देखिँदैन। उनको टेबलमा पहिलेझैँ तीन वटा टेलिफोन सेट छन्। जसमध्ये एउटा सेतो र दुई वटा रातो छन्। रातो टेलिफोन उच्च पदस्थ चिनियाँ अधिकारीहरुले मात्र प्रयोग गर्छन्, जसको कुनै पनि विवरण अरुले प्राप्त गर्न सक्दैन। एससीएमपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad