अमेरिकी राष्ट्रपति जो बाइडनको निजी घरमा त्यहाँस्थित केन्द्रीय जाँच ब्युरो एफबीआईले सर्च अपरेशन चलाएको छर
बाइडेनका एकजना वकिलका अनुसार डेलाभेयरस्थित घरमा एफबीआईले खानतलासी गरेको हो। त्यसक्रममा कुनै महत्वपूर्ण दस्तावेज फेला नपरेको ती वकिलले बताएका छन्।
उनका अनुसार बुधबार भएको यो खानतलासी राष्ट्रपतिको पूरा समर्थनसहित ‘योजनावद्ध’ रुपमा गरिएको हो।
यो सर्च अपरेशन चार घण्टासम्म चलेको थियो। यो बाइडेनको ओबामा प्रशासनमा उप-राष्ट्रपति रहेका बेला संवेदनशील दस्तावेजसँग जोडिएको मामिलाको छानबिनको एक भाग हो।
बाइडेनको घरमा खानतलासी गरेकोबारेमा अहिलेसम्म एफबीआईले केही पनि बोलेको छैन। तर यो खानतलासी राष्ट्रपतिको सहमतिमै भएकाले यस्तोमा कुनै सर्च वारेन्ट जारी गर्नु आवश्यक थिएन।
बाइडेनका वकिल बब बाउरका अनुसार छानबिन अभियानको सुरक्षालाई ख्याल गर्दै सर्च अपरेशनको जानकारी पहिले नै सार्वजनिक नगरिएको हो।
बाउरले बताए अनुसार यो अपरेशनका क्रममा कुनै खास दस्तावेज भेटिएको छैन। तर सन् २००९ देखि सन् २०१७ का क्रममा बाइेडन उप-राष्ट्रपति रहँदा केही ‘हातले लेखिएका नोट’ भेटिएका थिए। ती नोटलाई छानबिनका लागि एफबीआईले लगेको छ।
वासिङ्गटनस्थित पेन बाइडेन सेन्टरको भवनमा केही संवेदनशील जानकारीसहितका दस्तावेज मिलेका छन्। त्यसपछि अन्य कयौँ स्थानमा एफबीआईले छापा हानेको हो। राष्ट्रपति बाइडेनको डेलाभेयरस्थित घरको खानतलासी पनि त्यही अभियानको एक भाग हो।
डिसेम्बर र जनवरीमा बाइडेनको डेलाभेयरस्थित निवासमा गरिएको खानतलासीमा अन्य केही महत्वपूर्ण दस्तावेज भेटिएका थिए।
तर अहिलेसम्म कति संवेदनशील दस्तावेज भेटिए?, यसको संख्याको एकिन जानकारी खुलाइएको छैन। तर दर्जनौँ दस्तावेज जनवरीमा भएका खानतलासीका क्रममा भेटिएका छन्।
प्रतिक्रिया