ताइवान चीनको अभिन्न अंग भन्दै होण्डुरसले तोड्यो कुटनीतिक सम्बन्ध
होन्डुरसले ताइवानसँगको दशकौं पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ। होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको बताएको छ।
होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गरेको छ, 'होन्डुरस सरकार जनवादी गणतन्त्र चीन (चीन)ई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एक मात्र वैध सरकारको रूपमा मान्यता दिन्छ। ताइवान (गणतन्त्र चीन) चीनको अभिन्न अंग हो।'
मध्य अमेरिकी देश होन्डुरसले चीनसँग सम्बन्ध बढाउँदै ताइवानसँग सम्बन्ध तोडेको हो। दुई देशबीच ८२ वर्षदेखि कुटनीतिक सम्बन्ध थियो।
चीन लामो समयदेखि मध्यअमेरिकामा आफ्नो प्रभुत्व स्थापना गर्ने प्रयासमा छ।
होन्डुरसको यो कदमपछि ताइवानलाई छुट्टै राष्ट्रको रूपमा मान्यता दिने १३ देश मात्र बाँकी रहेका छन्।
ताइवान आफ्नो संविधान र निर्वाचित नेताहरूको सरकार भएको आफूलाई स्वतन्त्र देश ठान्छ। तर चीन ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ।
होण्डुरसको उक्त निर्णयबारे टिप्पणी गर्दै ताइवानले दु:ख व्यक्त गरेको छ।
ताइवानको विदेश विभागले ट्वीट गर्दै भनेको छ, 'दु:खका साथ होण्डुरससँग हाम्रो कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्दछौं। जनतालाई वास्तविक फाइदा पुर्याउने ८२ वर्षको मित्रता र सहयोगलाई जिओमारा क्यास्ट्रो सरकारले अस्वीकार गरेको छ। ताइवान दृढताका साथ दुनियाँको भलाइका लागि काम गरिरहनेछ।'
प्रतिक्रिया