ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजातहरू चुहावट गरेको मुद्दामा अदालतमा पक्राउ परेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पवि नि:शर्त रिहा भएका छन्।
उनीविरुद्ध गत शुक्रबार गोप्य कागजात चुहावट गरेको सहित ३७ वटा मुद्दा दायर भएका थिए। ४९ पृष्ठ लामो अभियोगमा सुरक्षालाई खतरामा पार्ने, आणविक र रक्षा गोप्य फाइलहरू गलत रूपमा राखेको आरोप उनीविरुद्ध छन्।
सोही मुद्दामा मंगलबार सुनुवाइका लागि उनी अमेरिकी मियामी अदालतमा उपस्थित भएका थिए।
मियामीको डाउनटाउनको संघीय अदालतको १३ औँ तलामा उपस्थित उनलाई त्यहीँ प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यहाँ प्रहरीले उनको फिङ्गरप्रिन्ट लिई अदालतमा उपस्थित गराएको थियो।
अदालतमा ट्रम्पका वकिल टोड ब्लान्चेले १५ मिनेटसम्म ट्रम्प ३७ वटै मुद्दामा दोषी नभएको दलिल पेस गरे। सुनुवाइपछि न्यायाधीश जोनथन गुडम्यानले ट्रम्पलाई नि:शर्त बाहिरिन अनुमति दिए। तर न्यायाधीशले ट्रम्पलाई आफ्ना सहयोगी वाल्ट नाटासँग कुनै सम्पर्क नगर्न आदेश दिए। उक्त मुद्दामा नाटालाई पनि प्रतिवादी बनाइएको छ।
अदालती सुनुवाइपछि मियामीबाट न्युजर्सीमा रहेको आफ्नो गल्फ क्लबमा फर्किएका उनले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध खरो टिप्पणी गरेका छन्। उनले बाइडेनलाई भ्रष्ट्र राष्ट्रपतिको टिप्पणी गर्दै भनेका छन्, 'इतिहासमै शक्तिको सबैभन्दा खराब दुरुपयोग भइरहेको हामीले देखिरहेका छौँ, यो देख्दा दु:ख लागेको छ।'
एक भ्रष्ट्र राष्ट्रपतिले आफ्नो शीर्ष राजनीतिक प्रतिद्वन्द्वीलाई झूटो र मनगढन्ते आरोपमा गिरफ्तार गराएको टिप्पणी उनले गरे। यसको परिणाम आगामी चुनावमा देखिने पनि उनले बताए। उनले बाइडेन २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा नराम्रोसँग पराजित हुने बताए।
ट्रम्प अमेरिकी इतिहासमा संघीय अभियोग लाग्ने पहिलो राष्ट्रपति हन्।
राष्ट्रपतिबाट अवकाश भएपछि उनीमाथि लागेको यो दोस्रो संघीय अपराध हो। चार महिनाअघि उनलाई एक वयस्क पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई अभियोग लुकाउन पैसा दिएको सहित ३४ वटा अभियोग लागेको थियो।
अप्रिल ४ मा अदालतभित्र प्रहरी ५७ मिनेट प्रहरी हिरासतमा रही उनले ती अभियोगबारे आफ्नो बयान दिएका थिए।
Shares

प्रतिक्रिया