दक्षिण कोरियातिरबाट सीमा पार गरेपछि उत्तर कोरियाको कब्जामा परेका अमेरिकी सैनिकको पहिचान सार्वजनिक भएको छ। ट्राभिस किङ नामक ती सैनिक त्यसअघि जेलसमेत परेका थिए।
दक्षिण कोरियाको राजधानी सोलमा उनी झगडामा सामेल भएका थिए। साथै, प्रहरीको कारलाई उनले ठक्कर दिएको पनि खुलेको छ।
त्यसपछि जेल परेका उनी हालै छुटेका थिए। २३ वर्षीय किङलाई त्यसपछि अमेरिका पठाइँदै थियो। तर, उनी उम्किन सफल भए।
त्यसपछि उनी पर्यटकका रुपमा जोइन्ट सेक्युरिटी एरियाको भ्रमणमा पुगेका थिए। लगत्तै सीमा पारे गरेर उत्तर कोरिया प्रवेश गरेका थिए।
यसबारे उत्तर कोरियाले हालसम्म कुनै टिप्पणी गरेको छैन।
उनले सीमा किन पार गरे, अहिलेसम्म खुल्न सकेको छैन। अमेरिकी अधिकारीहरुले उनी आफूखुसी त्यता गएको बताएका छन्।
सेप्टेम्बर २०२२ मा उनले सोलमा दक्षिण कोरियाली नागरिकलाई मुक्का प्रहार गरेको आरोप छ। उनलाई पक्रिन गएका प्रहरीको कारको ढोकामा लात्ती हान्दै मुख छाडेको आरोपमा उनलाई करिब ४ हजार अमेरिकी डलर जरिवाना गरिएको थियो।
उनी दुई महिना जेल पनि परेका थिए। १० जुलाईमा उनी मुक्त भएका थिए।
रिहा भएपछि उनलाई एक साता सैन्य निगरानीमा राखिएको थियो। त्यसपछि अमेरिका पडाउन इन्चोन विमानस्थल लगिएको थियो। अमेरिकामा उनीमाथि अनुशासनात्मक कारबाही हुने थियो।
तर, उनी विमान चढेनन्।
उनकी आमा क्लाउडिन गेट्सले छोराले अकल्पनीय काम गरेको बताएकी छन्। बीबीसी
Shares

प्रतिक्रिया