ग्लोबल


चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि रुस जाने

चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि रुस जाने

नेपालखबर
असोज १, २०८० सोमबार १६:२, काठमाडौँ

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि सोमबारदेखि रूसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चीन र रूस रणनीतिक सहयोगी हुन् र दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन्।

गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो।

चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ।

यसअघिको ब्रिफिङमा रूसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो।

‘युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एशिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,’ विदेशमनत्रालयका एक प्रवक्ताले भने।

चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ। यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ।

तर उसले रूसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ।

गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारुसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान गरेका थिए।

हालैका महिनाहरूमा, दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्, जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ।

जुलाईमा भ्लादिमिर पुटिनका एक सहयोगीले रूसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए।

गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए।

गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रूस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad