ad ad

ग्लोबल


छिमेकपछि अब पश्चिमा मुलुकमा पनि हत्या गर्नेगरी बढेको हो ‘र्‌अ’को दुस्साहस?

छिमेकपछि अब पश्चिमा मुलुकमा पनि हत्या गर्नेगरी बढेको हो ‘र्‌अ’को दुस्साहस?

नेपालखबर
असोज ६, २०८० शनिबार २१:४६,

भारतको जासुसी एजेन्सीले यसलाई नाम दिएको थियो– अपरेसन हर्नेट। यो जुन १९८७ को कुरा हो। अब्दुल खान पाकिस्तानको लाहौरस्थित आफ्नो घरभित्र पस्दै थिए, मोटरसाइकलमा सवार दुई बन्दुकधारीले उनीमाथि गोली बर्साए।

उनी लन्डनमा बस्दै आएका पाकिस्तानी नागरिक थिए। यो हत्या भारतको वैदेशिक गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ (र्‌अ) को महिनौँको योजनाको नतिजा भएको भारतीय पत्रकार यतिश यादवले लेखेको सो एजेन्सीको इतिहासमा उल्लेख छ।

र्‌अको आशंका थियो– खानले युरोपमा अतिवादीहरुलाई शरण दिने गर्छन्। तर, उसले उनको हत्या युरोपमा गरेन। बरु, उनले बेलायत छाड्ने मौकाको प्रतीक्षामा बस्यो। र, पाकिस्तान यात्रामा रहेका बेला आक्रमण गर्‍यो।

‘मुख्य कुरा के हो भने र्‌अ पश्चिममा आफ्नो कारबाही लैजान चाहँदैनथ्यो,’ लन्डनस्थित रोयल युनाइडेट सर्भिसेज इन्स्टिच्युट नामक थिंक ट्यांकका दक्षिण एसिया सुरक्षा मामिला विज्ञ वाल्टर ल्याडविग भन्छन्।

अब भने भारतको हिसाबकिताब बदलिएको हुन सक्छ। भ्यानकुभरमा सिख एक्टिभिस्ट हरदीप सिंह निज्जरको जुनमा भएको हत्यामा भारतीय एजेन्टहरुको हात हुनसक्ने विषयमा सरकारी अधिकारीहरुले अनुसन्धान गरिरहेको सोमबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले बताए।

ट्रुडोले बताएको यो ‘विश्वसनीय आरोप’ सत्य साबित भए यो भारतीय सुरक्षा संयन्त्रको निकै ठूलो विस्तार हुनेछ। र, यसले पश्चिमा मुलुकहरुसँग उसको सम्बन्धमा निकै ठूलो प्रभाव पार्नेछ।

यो घटनाले भारतलाई अत्यन्त ठूलो भूराजनीतिक धक्का पनि दिन सक्छ। किनभने यतिबेला नरेन्द्र मोदीको सरकार भारतलाई विश्वव्यापी शक्तिका रुपमा प्रक्षेपण गरिरहेको छ। क्यानडा नेटो र ‘फाइभ आइज’ खुफिया साझेदारी सञ्जालको सदस्य हो। जसमा अमेरिका, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि सदस्य छन्।

‘ट्रुडोले सार्वजनिक रुपमै यस्तो आरोप लगाएको तथ्य पचाउन गाह्रो हुन्छ। त्यसैले क्यानडासँग बलियो प्रमाण हुनुपर्छ। यदि भारतले त्यो हत्या गराएको भए उसले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ,’ ल्याडविग भन्छन्।

ट्रुडोको आरोपलाई नयाँ दिल्लीले तत्कालै ‘निरर्थक’ भन्दै खारेज गर्‍यो। तर, यो विषयले भारत–क्यानडा सम्बन्धमा दरार उत्पन्न गरिसकेको छ। क्यानडाले भारतका एक वरिष्ठ कूटनीतिज्ञलाई देशनिकाला गर्‍यो। जो र्‌अको स्टेसन चिफ रहेको पछि खुल्यो। बदलामा भारतले नयाँदिल्लीमा रहेका क्यानडेली गुप्तचर प्रमुखलाई निकाला गर्‍यो।

यो विवाद पश्चिमा मुलुकहरुका लागि नाजुक घडीमा सुरु भएको छ। पश्चिमा मुलुकहरु विश्वको सबैभन्दा धेरै जनसंख्या भएको भारतलाई सैन्य, व्यापारिक र प्रविधिका हिसाबले आक्रामक चीनको प्रतिभारका रुपमा प्रस्तुत गरिरहेका छन्।

विश्लेषकहरु भन्छन्– श्रीलंका र म्यानमारको विद्रोहलाई समर्थन गरेको र बंगलादेश स्वतन्त्रताका लागि गुरिल्लाहरुलाई सघाएको र्‌असँग क्यानडामा कसैको हत्या गर्ने क्षमता अवश्य छ। प्रश्न के मात्रै हो भने भारत त्यस्तो चाहन्थ्यो त?

‘जुनसुकै कारणले होस् भारत पश्चिमी मुलुकको भूमिमा गुप्त कारबाही गर्न चाहँदैन भन्ने सोच्नुहुन्छ तपाईं भने यसमा गम्भीरतापूर्वक पुनर्विचार गर्नुहोस्,’ सोआस युनिभर्सिटी अफ लन्डनका अविनाश पलिवाल भन्छन्। उनले भारतको छिमेकमा र्‌अका गतिविधिबारे लेखेका छन्।

‘भारत नयाँ इजरायल हो वा हुनसक्छ,’ उनले इजरायलले गुप्त रुपमा अन्य मुलुकमा हत्या गराएको उल्लेख गर्दै भने।

क्यानडेली नागरिक निज्जरलाई २०२० मा भारतले आतंककारी घोषित गरेको थियो। किनभने उनी भारतको पञ्जाब प्रान्तमा स्वतन्त्र ‘खालिस्तान’ राज्य माग गरिरहेका प्रतिबन्धित समूहसँग सम्बन्धित थिए। यो भारतको घरेलु राजनीतिमा निकै संवेदनशील मुद्दा हो। र, भारतको जनमत मोदी सरकारको समर्थनमा छ।

‘आतंकवादविरुद्ध हाम्रो पार्टीको लडाइँ सधैँ सम्झौताहीन हुनुपर्छ भन्ने भारतीय राष्ट्रिय कंग्रेसकोे विश्वास छ, खासगरी जब आतंकवादले भारतको सार्वभौमसत्ता, एकता र अखण्डतामाथि खतरा पैदा गर्छ,’ विपक्षी दलका नेता जयराम रमेशले मंगलबार भने।

भारतमाथिको आरोपबारे अमेरिका, बेलायत र अस्ट्रेलियाले सार्वजनिक रुपमा चिन्ता व्यक्त गरेका छन्। तर, उनीहरु क्यानडाको पक्षमा उभिएर भारतलाई दोष दिनबाट बचेका छन्। क्यानडाले यो विषयमा नयाँदिल्लीको जी२० सम्मेलनअघि नै फाइभ आइज र अन्य कूटनीतिक साझेदारहरुसँग छलफल गरेको पश्चिमा अधिकारीहरुले बताएका छन्। 

‘क्यानडाले ‘सम्भावित रुपले’, ‘आरोप’ जस्ता शब्द प्रयोग गरिरहेको छ, यसले क्यानडाको दाबीलाई सहयोग गर्दैन,’ एक पश्चिमा अधिकारीले भने।

चीनसँग सीमायुद्धमा नराम्ररी पराजित भएको केही वर्षपछि सन् १९६८ मा भारतको घरेलु सुरक्षा एजेन्सी इन्टेलिजेन्स ब्युरोका अधिकारीहरुले र्‌अको स्थापना गरेका थिए। 

र्‌अको काम मुख्यगरी चीनविरुद्ध केन्द्रित हुँदा यो एजेन्सीले सीआईएबाट तालिम प्राप्त गरेको विश्लेषकहरु बताउँछन्। त्यस्तै सोभियत युनियनले अफगानिस्तानमाथि आक्रमण गर्दा केजीबीसँग पनि यसले सहकार्य गरेको थियो।

र्‌असँग विश्वको सबैभन्दा लामो समयदेखि चलिआएको विद्रोहहरुमा कारबाही सञ्चालनको अनुभव छ। जसमा जम्मु कस्मिरमा पाकिस्तान समर्थित विद्रोहीविरुद्धको लडाइँ पर्छ। १९७० को दशकको सुरुवातमा र्‌अले मुक्ति बाहिनीलाई तालिम र हतियार प्रदान गरेको थियो। जुन बाहिनीले अन्ततः बंगलादेश स्वतन्त्रताको लडाइँ जितिछाड्यो।

हालसालै, मोदीको हिन्दु राष्ट्रवादी सरकारको मातहतमा र्‌अले कट्टरपन्थी इस्लामिक समूहसम्बन्धी सूचनाहरु इजरायलको खुफिया एजेन्सी मोसादसँग साझा गरेको विश्वास गरिन्छ। र्‌अले आतंकवादको प्रतिरोधमा अझ आक्रामक रवैया अपनाएको छ।

यो नयाँ दिशानिर्देशले र्‌अको कारबाहीलाई विदेशसम्म फैल्याएको छ। खासगरी पाकिस्तानमा। जसलाई पूर्वजासुस एएस दौलतले आफ्नो हालैको संस्मरणमा ‘डोभल डक्ट्रिन’ भनेर उल्लेख गरेका छन्। अजित डोभल मोदीका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्।

एउटा विवादास्पद मामिलामा पाकिस्तानी अधिकारीहरुले २०१६ मा भारतका पूर्वनौसैनिक कुलभुषण यादवलाई पक्रा गरे। उनी र्‌अका लागि जासुसी गर्न नक्कली पासपोर्ट बोकेर इरान हुँदै पाकिस्तान छिरेको पाकिस्तानी अधिकारीको दाबी छ। त्यसबेला भारतीय सरकारले यादवसँग कुनै सम्बन्ध नरहेको दाबी गरेको थियो।

र्‌अले पर्याप्त नागरिक निगरानीबिनै काम गर्ने यो एजेन्सीका आलोचकहरु र केही पूर्वजासुसहरु नै बताउँछन्। र्‌अका पूर्वअधिकारी आरके यादवले २०१४ को आफ्नो संस्मरणमा भनेका छन्, यो एजेन्सीलाई भारतीय संसदप्रति उत्तरदायी बनाउन आवश्यक छ। यसभित्र व्यापक भ्रष्टाचार रहेको उनको आरोप छ।

यदि क्यानडेली भूमिमा यो हत्या गरेको पुष्टि भयो भने त्यो र्‌अको दुस्साहसमा आएको ठूलो परिवर्तन हुनेछ। 

जी७ मुलुकमा विदेशी शक्तिले हत्या प्रयास गरेको यसअघिको पछिल्लो आरोप रुसमाथि छ। २०१८ मा बेलायतमा डबल एजेन्ट सेर्गेइ स्क्रिपालमाथि बेलायतमा रासायनिक आक्रमण भएको थियो भने चेचेन मूलका जर्जियाली नागरिक जालिमखान खानगोस्विलीको २०१९ मा जर्मनीमा हत्या भएको थियो।

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .