ग्लोबल


हमासबाट शुक्रबार रिहा बन्धकहरूको सूची सार्वजनिक (नामसहित)

हमासबाट शुक्रबार रिहा बन्धकहरूको सूची सार्वजनिक (नामसहित)

फाइल तस्बिर


रासस/एएनआई
मंसिर ९, २०८० शनिबार १४:२७, तेल अभिभ

इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासले शुक्रबार रिहा गरेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। 

अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौताअनुसार उद्धार गरिएका २४ जना बन्धकको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई पनि मुक्त गरेको छ।

इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी  गराएका छन्, इजरायली सरकारले भनेको छ। 

इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ।

घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज-आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) छन्। त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) छन्। उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर (५४) र ओहद मोन्डर (९) छन्। 

उनीहरूबाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो।

रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तरराष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले  उल्लेख गरेको छ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय) बाट लागू भएको छ। 

शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

सोसल मिडिया प्लेटफर्म (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडिओ सन्देशमा नेतान्याहुले भनेका छन्- हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरू : बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं। 

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको सुरुवात’ भनेका छन्। उनले थप आशा व्यक्त गर्दै थुप्रै बन्धकहरू आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन्। 

टाइम्स अफ इजरायलले उल्लेख गरेअनुसार  प्रत्येक १० इजरायली बन्धकका लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकलाई मुक्त गर्नु पर्नेछ। 

यद्यपि गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकको सानो सङ्ख्या मात्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .