अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा साउथ क्यारोलाइना राज्यकी पूर्वगभर्नर निक्की हेलीले डोनाल्ड ट्रम्पलाई टक्कर दिने सम्भावना देखिएको छ।
न्यु ह्याम्पसायर राज्यमा हुन लागेको प्राइमरीअगाडि गरिएको एक सर्वेक्षणमा हेलीले अग्रस्थानमा रहेका ट्रम्पसँगको दुरी चार अंकमा छोट्याएकी छन्।
बिहीबार सार्वजनिक भएको अमेरिकन रिसर्च ग्रुप इंकको सर्वेक्षणअनुसार यो राज्यमा कुन रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पलाई ३३ प्रतिशत मत प्राप्त भएको थियो।
हेलीले २९ प्रतिशत मत प्राप्त गरेकी छन्।
रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार मनोनयनका लागि ट्रम्प सबैभन्दा अगाडि छन्।
ट्रम्पले ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्नु कडा प्रतिस्पर्धाको संकेत भएको विश्लेषकहरुको भनाइ छ।
तर, यो सर्वेक्षणलाई ट्रम्पले खारेज गरेका छन्। उनले आफ्नै सोसल मिडिया ट्रुथमा यो नक्कली सर्वेक्षण भएको बताएका छन्।
अर्कोतिर ट्रम्पले हेलीलाई उपराष्ट्रपतिको उम्मेदवारको रुपमा चयन गर्ने विषयमा छलफल थालेको पनि अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।
हेलीले भने आफ्नो समर्थन बढिरहेको दाबी गरेकी छन्।
२०१६ मा ट्रम्प राष्ट्रपति चुनिएपछि हेली राष्ट्रसंघका लागि अमेरिकी दूत नियुक्त भएकी थिइन्। तर, २०१८ मा राजीनामा दिएकी थिइन्। एजेन्सी
Shares

प्रतिक्रिया