भारतमा चुनावलाई लोकतन्त्रको महापर्व मान्ने गरिन्छ। हरेक चुनावमा विभिन्न पृष्ठभूमिका उम्मेदवार मैदानमा उत्रिन्छन्। तीमध्ये केही सेलिब्रिटी हुन्छन्, त केही साधारण मानिस।
सनसनीपूर्ण प्रचार, मञ्चबाट उग्र भाषण, रंगीविरंगी र्याली, पोस्टर, ब्यानर, झण्डा, रोड सो, यी सबले चुनावलाई रोमाञ्चक बनाउँछन्। हरेक उम्मेदवार जित्ने आत्मविश्वास लिएरै मैदानमा उत्रिएको हुन्छ।
तर, तमिलनाडुको सेलम जिल्लास्थित मेट्टुरका के पद्मराजनको लक्ष्य भने सधैँ हार्नु रहन्छ। आश्चर्य नमान्नुस्, यो यथार्थ हो।
उनले सन् १९८८ यता २३९ वटा चुनाव लडिसकेका छन्। भारतमा सर्वाधिक चुनाव लड्ने कीर्तिमान पनि उनकै नाममा छ।
पद्मराजनले १२ अलगअलग राज्यबाट चुनाव लडिसकेका छन्। विधानसभा, लोकसभा र राष्ट्रपतिको चुनावमा समेत उनी उठेका थिए।
भारतमा कुनै व्यक्ति जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उठ्न सक्छ।
‘साँच्चै भन्ने हो भने मरो लक्ष्य थप चुनाव हार्नु हो,’ पद्मराजन खुलस्त भन्छन्।
पत्याउन मुस्किल भए पनि यही इच्छा छ उनको। ‘इलेक्सन किङ’ का रूपमा परिचित उनलाई चुनावप्रति किन रुचि पैदा भयो त?
स्कुल पूरा नगर्दै उनले साइकल मर्मतको काम थालेका थिए। कलेज नगईकन उनले इतिहासमा स्नातक हासिल गरे, दूर शिक्षाका माध्यमबाट। आज पनि उनको मुख्य पेसा साइकल मर्मत गर्नु नै हो।
उनले आजसम्म सबै चुनाव त्यही साइकल मर्मतबाट भएको आम्दानीकै भरमा लडेका हुन्।
हालसम्म चुनाव लड्नकै लागि मेहनतबाट कमाएको १ करोड भारतीय रुपैयाँ खर्च गरिसकेको उनको दाबी छ।
‘यही साइकलको दोकानमा बसिरहँदा मलाई चुनाव लड्ने इच्छा जागेको थियो। त्यो १९८८ सालको कुरा थियो। त्यसपछि त मेरो जीवन एक किसिमले बदलियो नै,’ पद्मराजन भन्छन्।
चुनाव लड्ने कुरा गर्दा उनका साथीहरूले उनको मजाक उडाए र भने, साइकलको दोकान चालउने मान्छे चुनाव कसरी लड्न सक्छ।
त्यही चुनौतीका कारण उनले २३९ चुनाव लडे।
तर, के उनको यो ढिपीमा परिवारको समर्थन छ त?
‘पहिले त उनीहरूले मेरो निकै विरोध गरे। तर, समयसँगै उनीहरूले पनि मेरो कुरा बुझे,’ उनले सुनाए।
पद्मराजनका छोरा श्रीजेशले एमबीए गरेका छन्। आफ्ना बुवाको जिद्दीबारे उनी भन्छन्, ‘विद्यार्थी छँदा मलाई बुवासँग रिस उठ्थ्यो। वहाँले के गरेको यस्तो भनेर आश्चर्य हुन्थ्यो। तर, म ठूलो भएपछि वहाँको लक्ष्य के हो, मैले बुझेँ।’
‘जुनसुकै व्यक्ति पनि चुनाव लड्न सक्छ भन्ने सन्देश वहाँ आम मानिससम्म पुर्याउन चाहनुहुन्छ। त्यसपछि हमेसा मैले वहाँलाई साथ दिएँ,’ उनले थपे।
लगातार चुनाव लडिरहँदा आर्थिक नोक्सान त भयो नै, कयौँ पटक उनले अप्रत्याशित खतराको सामना समेत गर्नुपर्यो।
१९९१ मा आन्ध्र प्रदेशमा भएको एक उपचुनावमा पीभी नरसिंह रावविरुद्ध उम्मेदवारी दिँदा केही व्यक्तिले आफूलाई अपहरण गरेको उनको भनाइ छ।
उनको दाबीअनुसार कुनै मुस्किलले अपहरणकारीको पञ्जाबाट उम्केर उनले ज्यान बचाएका थिए। तर, त्यसले चुनाव लड्ने उनको इच्छामा कुनै असर गरेन।
पूर्वप्रधानमन्त्री नरसिंह रावका अलावा पद्मराजनले २००४ मा लखनउमा अटल बिहारी बाजपेयी, २००७ र २०१३ मा असममा मनमोहन सिंह र २०१४ मा वडोदरामा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध समेत उनले चुनाव लडे।
यति मात्र होइन, भारतका पूर्वराष्ट्रपतिहरू केआर नारायणन, एपीजे अब्दुल कलाम, प्रतिभा पाटिल, प्रणव मुखर्जी, रामनाथ कोविन्द र वर्तमान राष्ट्रपति द्रौपदी मुर्मुविरुद्ध पनि उनी मैदानमा उत्रिए।
त्यस्तै, तमिलनाडुमा के करुणानिधि, जयललिता, एमके स्टालिन र पलानीस्वामी, कर्नाटकमा सिद्धारमैया, बासवराज बोम्मई, कुमारास्वामी र यदियुरप्पा, केरलामा पिनराई विजयन र तेलंगनामा चन्द्रशेखर रावजस्ता मुख्यमन्त्रीविरुद्ध पनि उनी चुनाव लडिसकेका छन्।
अन्यत्र गएर चुनाव लड्दा उनी उम्मेदवारी त दर्ता गर्छन् तर प्रचारमा जाँदैनन्।
उम्मेदवारी दर्ता मात्र गरेका उनले २०१९ मा वायनाडमा राहुल गान्धीविरुद्ध लडेका थिए। जहाँ उनले १ हजार ८८७ मत पाएका थिए।
तर, आफ्नै वडामा चुनाव लड्दा उनले एक मत पनि पाएका थिएनन्।
२०११ मा मेट्टुर विधानसभा चुनावमा उनले ६ हजार २७३ मत पाए। आजसम्म उनले पाएको सर्वाधिक मत यही हो।
तर, आफ्नो नीति नै चुनाव हार्नु भएकाले दुःखी नभएको उनी बताउँछन्।
यहीकारण पद्मराजनको नाम लिम्का बुक अफ रेकर्डमा सबैभन्दा धेरै चुनाव हार्ने व्यक्तिका रुपमा उल्लेख छ।
तर, उनको उदेश्य भने अब सबैभन्दा धेरै चुनाव लड्ने व्यक्तिका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा सामेल हुनु हो।
पद्मराजनभन्दा पहिले भारतका काका जोगिन्दर सिंहले पनि लगातार चुनाव लडेका थिए। १९६२ देखि १९९८ मा मृत्यु हुन्जेलसम्म चुनाव लडेका लडेका उनले ३ सयभन्दा धेरै पटक उम्मेदवारी दिएका थिए।
उनले पनि वडादेखि राष्ट्रपतिसम्मको चुनावमा भाग्य अजमाएका थिए। उनी चुनाव क्षेत्रमा आफ्नो प्रचार पनि गर्थे र आफूलाई मत नदिन मानिसहरूलाई आह्वान पनि गर्थे।
यसपटकको आम चुनावमा पद्मराजनले तमिलनाडुको धर्मपुरीबाट उम्मेदवारी दिएका छन्।
उनलाई पूरा विश्वास छ, यसपटक पनि उनको हार हुनेछ। तर, बारम्बार चुनाव लडेर हार्ने ‘धर्तीपकड’हरूलाई उछिन्ने ‘इलेक्सन किङ’ को कोसिस भने जारी रहनेछ। बीबीसी हिन्दीबाट
Shares
प्रतिक्रिया