इजरायलले अमेरिकासँग ट्यांकका गोला र युद्धमा प्रयोग हुने वाहन उपलब्ध गराउन आग्रह गरेको छ।
यसबारे जानकार तीन अधिकारीहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार गाजाको युद्ध र इरानसँगको तनावबीच हतियार भण्डार खाली हुन नदिन इजरायलले सो माग राखेको हो।
त्यसबारे अमेरिकी सरकारले जवाफ दिन बाँकी रहेको बताइएको छ।
यसबारे अमेरिकी विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
यसले बाइडेन प्रशासनलाई अप्ठ्यारो पर्ने विश्लेषण गरिएको छ। गाजामा इजरायलको आक्रमण नृशंस बन्दै जाँदा राष्ट्रपति जो बाइडेनले मानवीय क्षति कम गर्न आग्रह गरेका थिए।
तर, इजरायलले उनको मागको सुनुवाइ गरेको थिएन। गाजामा इजरायलले हालसम्म ३० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। जसमा ७० प्रतिशत हाराहारी महिला र बालबालिका छन्।
जसका कारण अमेरिकाले नरसंहारमा साथ दिएको भन्दै बाइडेनमाथि दबाब बढेको छ।
गएको साता इरानले आफ्नो सिरियाली दूतावासमा आक्रमणको बदलामा सयौँ ड्रोन तथा क्षेप्यास्त्र सोझै इजरायलमा प्रहार गरेपछि इजरायललाई हवाई प्रतिरक्षा प्रणालीको अझै ज्यादा आवश्यकता परेको छ।
शुक्रबार इजरायलले इरानमाथि पनि जवाफी हमला गरेको छ। तर, इरानले त्यसलाई असफल भन्दै यो तनावलाई थप नचर्काउने संकेत दिएको छ।
यससँगै इजरायल र इरानबीच सोझै युद्धको सम्भावना तत्काललाई टरे पनि तनाव भने कम भएको छैन। एजेन्सी
Shares
प्रतिक्रिया