मंगलबार भारतको नयाँ दिल्लीबाट अमेरिकाको सिकागोका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको खबरपछि क्यानडाको विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार योसँगै भारतमा एक घण्टाभित्रै चारवटा विमानमा बमको धम्की आएका छन्।
बमको धम्की पाएलगत्तै विमानलाई नजिकैको विमानस्थलमा अवतरण गरी विस्तृत अनुसन्धान भइरहेको छ।
एयर इन्डियाका अलावा स्पाइसजेट, इन्डिगो र अकासाका विमानहरूलाई पनि यस्तै धम्की आएको छ। सुरक्षा निकायले विमानलाई धम्की दिनेहरूको खोजी गर्ने प्रयासलाई तीव्र पारेको छ।
आधिकारिक स्रोतका अनुसार संयुक्त राज्य अमेरिका जाने एउटासहित मंगलबार चार उडानलाई सोसल मिडिया ह्यान्डलमार्फत बमको धम्की आएका हुन्।
यसपछि विभिन्न विमानस्थलमा विशेष आतंकवादविरोधी टोलीसहित सुरक्षा निकायलाई सतर्क गराइएको छ।
स्रोतहरूका अनुसार मंगलबार एक्स ह्यान्डलबाट धम्की दिइएका चार विमानमा जयपुरबाट अयोध्य हुँदै बेंगलुरु जाँदै गरेको एयर इन्डिया एक्सप्रेस विमान (आईएक्स७५६), दरभंगाबाट मुम्बई जाने स्पाइसजेटको विमान (एसजी११६), सिलिगुडीबाट बेंगलुरु जाने आकासा एयरको विमान (क्यूपी१३७३) र नयाँ दिल्लीबाट सिकागो जाँदै गरेको एयर इन्डियाको विमान (एआई १२७) हुन्।
Shares

प्रतिक्रिया