चक्रवात ‘दाना’का कारण भारतीय राज्य ओडिसामा अहिलेसम्म मानवीय क्षति नभएको त्यहाँका मुख्यमन्त्री मोहन माझीले बताएका छन्।
उनका अनुसार चक्रवात दाना अक्टोबर २४ र २५ को राति भरतकर्णिका र धामरा तटको बीचमा बज्रिएको थियो।
उनले भने, ‘यो क्रम २५ तारिख (शुक्रबार) बिहान ७ बजेसम्म चल्यो। त्यसपछि राजकनिका र राजनगर ब्लक र भद्रकको धामरा र चाँदवालीमा यो तीव्र भयो। यस अवधिमा यसको गति ८० देखि १०० किलोमिटर प्रतिघण्टाको बीचमा रह्यो। यस अवधिमा ४० देखि १०० मिलिमिटरसम्म वर्षा भयो।’
सरकारको तयारीबारे जानकारी दिँदै उनले थपे, ‘प्रशासनिक सक्रियताका कारण कुनै हताहत भएको छैन। जनधनको क्षति भने भएको छैन। करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। करिब ६ हजार गर्भवतीलाई स्वास्थ्य केन्द्रमा लगिएको छ। करिब १६०० बालबालिका जन्मिएका छन्।’
मुख्यमन्त्री मोहन माझीका अनुसार विमानस्थलमा हवाई सेवा सामान्य भएको छ। दिउँसो १ बजेसम्म सबै सडक खुलाइनेछ। साँझ ६ बजेबाट विद्युत् सेवा पनि सामान्य हुनेछ।
Shares

प्रतिक्रिया