मंगलबार मतदान गरिरहेका अमेरिकीहरूले सोझै कमला ह्यारिस वा डोनाल्ड ट्रम्पलाई मत दिँदैनन्। बरु, उनीहरूले ‘इलेक्टर’हरू चुनिरहेका हुन्छन्। जसले प्रत्यक्षरूपमा राष्ट्रपति चुन्न आगामी डिसेम्बर १७ मा मतदान गर्नेछन्।
५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाका इलेक्टरहरूलाई समग्रमा इलेक्टोरल कलेज भन्ने गरिएको छ।
त्यसकारणले चुनावको दिन सबैभन्दा ज्यादा मत पाउने उम्मेदवारले नै जित्ने ग्यारेन्टी छैन। राष्ट्रपति बन्न उम्मेदवारले इलेक्टोरल कलेजको बहुमत पाउनुपर्ने हुन्छ।
उसोभए इलेक्टोरल कलेजले कसरी काम गर्छ त?
इलेक्टोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाको प्रतिनिधित्व हुने गरी ५३८ इलेक्टर हुन्छन्।
प्रत्येक राज्यमा ३ देखि लिएर ५४ सम्म इलेक्टर हुन्छन्। कुनै पनि राज्यको सिनेटर र प्रतिनिधि सभा सदस्यको संख्या जोडेर त्यो राज्यले पाउने इलेक्टर संख्या तय गरिन्छ।
राष्ट्रपति जित्न कुनै पनि उम्मेदवारले इलेक्टोरल कलेजमा बहुमत अर्थात् २७० मत पाउनुपर्छ।
४८ वटा राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा जुन उम्मेदवारले लोकप्रिय मत जित्छ, उसैलाई सबै इलेक्टोरल मत दिइन्छ।
तर, मेन र नेब्रास्का राज्यमा भने जित्ने नै सबै इलेक्टोरल मत पाउँदैन।
डिसेम्बरको दोस्रो बुधबारपछिको पहिलो मंगलबार राष्ट्रपतिका लागि मतदान गर्न सबै इलेक्टरहरू आआफ्नो राज्यमा भेला हुन्छन्। यो वर्ष १७ डिसेम्बरमा मतदान हुनेछ। यस्तो भेला प्रायः राज्यको विधानसभा भवनहरूमा हुने गर्छ।
इलेक्टोरल कलेजको नतिजालाई जनवरी ६ मा संसदको संयुक्त सदनमा गिन्ती गरेर प्रमाणित गरिन्छ। एजेन्सी
Shares

प्रतिक्रिया