पेन्सिलभेनियामा सहज जित निकालेर अन्यत्र डोनाल्ड ट्रम्पले कायम गरेको अग्रता उल्ट्याउने कमला ह्यारिसको आशा थियो। तर, जारी मत गणनामा यो ब्याटलग्राउन्ड राज्यमा पनि ह्यारिस पछाडि देखिएकी छन्।
करिब ९० प्रतिशत मतगणना हुँदा ट्रम्प २ लाख २१ हजार मतले ह्यारिसभन्दा अघि छन्।
पत्रमार्फत गरिएको मतदानमध्ये ३७ हजार गणना गर्न बाँकी रहेको बताइएको छ। त्यसैले यो राज्यको नतिजा आफ्नो पक्षमा पार्न ह्यारिसलाई निकै ठूलो कठिनाइ पर्ने देखिएको छ।
ट्रम्प ह्वाइट हाउसको निकट पुग्दै गर्दा ह्यारिसका समर्थकहरूमाझ भने २०१६ को झल्को दिनेखालको माहोल बनेको छ।
यद्यपि, २०१६ मा तत्कालीन डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनका समर्थक ज्यादा चकित थिए।
चुनावको राति क्लिन्टनले पनि समर्थकहरूलाई सम्बोधन गरेकी थिइनन्। यसपटक पनि ह्यारिसले आफ्ना समर्थकलाई आफूले सम्बोधन नगर्ने सन्देश पठाएकी छन्।
उतिबेला झैँ यसपालि पनि उत्साहका साथ सुरु भएको चुनावपछिको ‘वाच–पार्टी’को मुड निराशातर्फ बढिरहेको छ। एजेन्सी
Shares

प्रतिक्रिया