महाराष्ट्रमा सम्पन्न विधानसभा चुनावअन्तर्तग एनसीपी (शरद पवार) नेता तथा बलिउड अभिनेत्री स्वरा भास्करका पति फहाद अहमद मुम्बईको अनुशक्ति नगर विधानसभा सिटमा करिब ६ हजार मतले अगाडि भइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार एनसीपी नेता नवाब मलिककी छोरी सना मलिक दोस्रो स्थानमा छिन्। उनी एनसीपी (अजित पवार) को टिकटमा चुनाव लडेकी हुन्।
महाराष्ट्र नवनिर्माण सेनाका उम्मेदवार आचार्य नवीन विद्याधर तेस्रो र वञ्चित बहुजन अघाडीका उम्मेदवार सतीश वामन राजगुरु चौथो स्थानमा छन्।
फहाद अहमद जुलाई २०२२ मा समाजवादी पार्टीमा सामेल भए र पार्टीको युवा विङको अध्यक्षको जिम्मेवारी पनि पाए।
त्यसपछि यसै वर्ष अक्टोबरमा फहाद समाजवादी पार्टीबाट राजीनामा दिएर शरद पवारको एनसीपीमा प्रवेश गरेका थिए।
महाराष्ट्रमा २८८ विधानसभा सिटका लागि चुनाव भएको हो। जसको अहिले मतगणना जारी छ। यहाँ सरकार बनाउन बहुमत संख्या १४५ हो।
हालसम्म महायुती गठबन्धन २१८ सिटमा अगाडि देखिएको र एमभीए गठबन्धन ५५ सिटमा अगाडि देखिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया