चीनको दक्षिणी सहर सेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन्।
बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन्।’
बेपत्ताको खोजी बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।
विपत् व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन्।
उद्धारका लागि बिहीबार बिहान घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको सहरका अधिकारीहरूले बताएका छन्।
दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको सेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो।
कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्य रूपमा लिने गरिएको छ।
गत अगस्टमा दक्षिण-पश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो।
उत्तरी चीनको हेबेई प्रान्तमा गत मार्चमा भएको ग्यास विस्फोटमा परी सात जनाको मृत्यु हुनाका साथै दर्जनौँ घाइते भएका थिए।
पूर्वीसहर नानजिङमा गत फेब्रुअरीमा एक आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो। रासस/एएफपी
Shares

प्रतिक्रिया