गएको ८ दिनमा मध्यपूर्वको अवस्था नाटकीय रूपमा बदलिएको छ। त्यसबेला विद्रोहीहरूले इदलिब सहरबाट आक्रमण सुरु गर्दा कसैले सोच्न सकेको थिएन– सिरियामा बसर अल असदको शासन यति छिटो पतन होला।
बाबुको २९ वर्ष लामो शासनपछि सन् २००० मा सत्तामा आएका असदले रुस र इरानको बलमा मुलुकमा कठोर हुकुम चलाएका थिए।
अमेरिकासहित पश्चिमा मुलुकहरू, टर्की, रुस, इरानजस्ता विदेशी शक्तिहरूको छद्मयुद्धको मैदान बनेको सिरियामा लाखाँै मानिस मारिए पनि असद आफ्ना विरोधीहरूलाई दबाउन सफल थिए।
तर, यसपटक उनको शासन बिनाकुनै प्रतिरोध तासको घरझैँ गर्ल्यामगुर्लुम ढल्न पुगेको छ।
विद्रोहीहरूले पहिले मुलुकको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरे। त्यसपछि हामा र होम्स कब्जा गरे। त्यसको केही घण्टापछि नै उनीहरू राजधानी दमास्कस प्रवेश गरे।
टर्कीको सहयोगबिना विद्रोहीहरूले यो सफलता नपाउने धेरैको विश्लेषण छ। किनकि सिरियाको शासन परिवर्तनबाट टर्कीलाई ठूलो फाइदा छ।
हाल टर्कीमा करिब ३० लाख सिरियाली शरणार्थी छन्। जसलाई फर्काउने कोसिसमा छन् टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान। असदले तिनलाई फिर्ता लिन मानेका थिएनन्।
तर, असदको यो पतनबाट खासगरी रुस र इरानलाई ठूलो झट्का लाग्ने विश्लेषण गरिएको छ। सन् २०११ मा सिरियामा चर्केको विद्रोह दबाउन यी दुई मुलुकले ठूलो भूमिका खेलेका थिए।
रुसले पनि सिरियाकै भरमा मध्यपूर्वमा आफ्नो प्रभाव विस्तार गरेको थियो। असदले रुसलाई तारतौसमा रुसी नौसैनिक अखडा र लताकियामा हवाइ अखडा राख्न दिएका थिए।
इरानले पनि हेलबुल्लाहमार्फत असदलाई सघाएको थियो। इरानको समर्थन सिया समूहहरूलाई छ। जबकि अहिले सिरिया कब्जा गर्ने समूह हायात तहरिर अल साम सुन्नी समूह हो।
सो समूहको सैन्य क्षमता कति छ, स्पष्ट छैन। तर, असदको सत्तामाथि हमला गर्ने साइत भने उसले उत्तम रोज्न पुग्यो।
यतिबेला रुस, इरान र हेजबुल्लाह सबै आआफ्नै युद्धमा केन्द्रित छन्। जसका कारण असदले आफ्ना कुनै पनि सहयोगीबाट सहयोग पाउन सकेनन्।
रुस युक्रेनमा केन्द्रित
रुस यतिबेला युक्रेन युद्धमा केन्द्रित छ। अमेरिकामा डोनाल्डले राष्ट्रपति पद सम्हाल्ने मिति नजिकिँदै छ। ट्रम्पले राष्ट्रपति बनेलगत्तै युद्ध रोक्ने बताएका छन्।
उनले अमेरिकाले गर्दै आएको आर्थिक सहयोग रोकेर युक्रेनलाई दबाब दिन सक्छन्। त्यसो भएमा युक्रेनसामु दुईवटा कठिन विकल्प हुनेछन्– या त २० प्रतिशत भूभाग माया मार्ने, या अमेरिकी सहयोग गुमाउने।
वार्तामा बस्दा युक्रेनले आफ्नो दाउ बढाउन प्रयोग गर्न सक्ने एउटा क्षेत्र हो, कुर्स्क। जहाँ युक्रेनी फौजले दुस्साहसपूर्ण आक्रमण गरेर कब्जा गरेको छ।
शान्तिवार्ताको कुरा सुरु हुनुअघि नै रुस सो क्षेत्र युक्रेनको कब्जाबाट फुत्काउन चाहन्छ। ताकि त्यसलाई युक्रेनले मोलमोलाइको साधन बनाउन नपाओस्।
इरानको ध्यान इजरायलमा
युक्रेन युद्धका कारण रुसले असदलाई सघाउन पाएन। उसको अर्को प्रमुख सहयोगी इरानको ध्यान पनि यतिबेला इजरायलमा छ।
इजरायलले हेजुबुल्लाहका कयौँ वरिष्ठ नेताहरूको हत्या गरिसकेको छ। हालै लेबनानसँग युद्धविराम सम्झौता गर्दा पनि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अब आफ्नो ध्यान इजरायलमा केन्द्रित हुने बताएका थिए।
गएको केही महिनामा अनेक पटक यी दुई मुलुक युद्धको सँघारमा पुगेका छन्। तसर्थ, इरान यतिबेला सम्भावित इजरायली आक्रमणका लागि तयारी गरिरहेको छ।
यसरी असदका सबै सहभागी आआफ्नै समस्या अल्झेका बेला हायत तहरिर अल सामले आक्रमण गर्यो र डेढ दशक लामो गृहयुद्ध अनि पश्चिमाहरूको जोडबलबाट पनि सत्ताच्युत नभएका उनको शासनको जरो उखेलियो।
यद्यपि, अब सिरियाको भविष्य के हुन्छ, कसैलाई पनि थाहा छैन। किनकि अहिले सत्ता कब्जा गर्ने विद्रोहीहरू हिजो अलकायदाका सदस्य र इस्लामिक स्टेटका संस्थापक थिए। उनीहरूले आफूहरू फेरिएको त दाबी गरिरहेका छन्। तर, सिरियामा कस्तो शासन व्यवस्था कायम गर्ने उनीहरूको योजना छ, कसैले सुइँको पाएका छैनन्। एजेन्सी
Shares

प्रतिक्रिया