ग्लोबल


बीआरआई ‘फ्रेमवर्क’ र कोसी भेलाको निहुँमा कांग्रेसमा बढ्यो विवाद

शेखरपक्षीय नेताहरू गगनप्रति आक्रामक
बीआरआई ‘फ्रेमवर्क’ र कोसी भेलाको निहुँमा कांग्रेसमा बढ्यो विवाद

सागर न्यौपाने
मंसिर २४, २०८१ सोमबार २०:५०, काठमाडौँ

बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ कोपअपरेसन फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए।

फ्रेमवर्कका कतिपय विषय गोप्य राखिएको भन्दै कांग्रेसका नेता शेखर कोइरालाले संसदमा छलफल गराउनुपर्ने पक्षमा उभिएको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीको विदेश नीतिमा कांग्रेस हिँडेको कोइरालाको आशंका छ।  

‘एक हप्ताअगाडि बीआरआईबाट ऋण लिन्नौँ, अनुदान मात्र लिन्छौँ भनेर पदाधिकारीहरूले निर्णय गरे, एक हप्तापछि सम्झौता भएर आउँदा ऋण र अनुदान दुईवटै हस्ताक्षर भयो,’ पोखरेलले शेखरको धारणा उधृत गर्दै नेपालखबरसँग भने, ‘शेखरजीले लिएको अडान चाहिँ यस्तो भूराजनीतिक रूपमा महत्त्वपूर्ण विषयमा गहन छलफल हुनुपर्छ। चीनसित दुश्मनी बढाउने भनेको होइन, तर, यसका सबै आयाम केलाउनुपर्छ भन्ने हो।’

पार्टीभित्र समीक्षा नगर्ने हो भने पार्टीको आफ्नै विचार हराउने कुरामा शेखरले चिन्ता जनाएको पोखरेल बताउँछन्।

‘पुरानो लोकतान्त्रिक पार्टीले सोचविचार गर्नैपर्छ। होइन भने, कांग्रेसको वैदेशिक नीति केपी ओलीले जे भन्छन् त्यही मान्ने हो त? अहिले हामीले के देख्यौँ भने केपी ओलीको वैदेशिक नीति र कांग्रेसको वैदेशिक नीति एउटै जस्तो! उहाँले जे मान्नुहुन्छ, हामीले त्यही मान्नेतिर गयो,’ पोखरेलले थपे। 

बीआरआईको विषयले पार्टीभित्र विवाद चर्काउने उनको भनाइ छ। 

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यही विषयले प्रवेश पाएको छ।

नेताहरूले बीआरआईमा भएको के हो, प्रष्ट पार्नुपर्ने कुरा उठाएको सहमहामन्त्री जीवन परियारले बताए। 

‘कम्युनिस्ट वा वामपन्थी साथीहरूले बीआरआईमा ऋणको पनि सम्झौता भएको भन्न थाल्नुभयो,’ परियारले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऋण लिने सहमति भएको होइन, चीनसँग अहिले गरिएको सहमति अनुदानमा हो भनिरहनु भयो, वास्तविकता के हो भनेर आज छलफलमा कुरा आएको थियो। कुरा उठेको विषयलाई प्रधानमन्त्रीले र परराष्ट्रमन्त्रीले थप स्पष्ट पार्दा राम्रो हुन्छ भन्ने कुरा हाम्रो रह्यो।’  

परराष्ट्रमन्त्री डा. आरजु राणाले ऋण नलिएको पार्टीलाई जानकारी गराएकी छन्। 

‘हामीले बीआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन,’ मन्त्री राणाले दाबी गरिन्, ‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि! हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त? त्यसैले सरकारले ऋण लिने गरी सम्झौतामा हस्ताक्षर ग¥यो भन्नु बचपना मात्र हो।’

यद्यपि, उनलाई सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोलाइएको थिएन। 

कोसीका शेखर पक्षीय नेता एवं पूर्वमुख्यमन्त्री केदार कार्कीले परराष्ट्रमन्त्री राणाको भनाइ खण्डन गरे।

उनले बीआरआई अनुदान हुनै नसक्ने भन्दै यसमा जनतालाई ढाँटेको बताए। यही विषय पार्टीमा जोडतोडले उठ्ने उनी बताउँछन्। 

‘प्रधानमन्त्री ओलीले हाम्रा नेतालाई झुक्याए, यसमा झुटा कुरा छ भन्ने आशंका छ,’ कार्कीले भने, ‘यो कुरा अब पार्टीमा चर्किन्छ। चर्काउनै पर्छ।’  

बीआरआई सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सम्झौता अघि बढ्ने राणाको भनाइ छ। 

भेलापछि विवाद सतहमा 
मंसिर १८ गते शेखर कोइराला पक्षले मोरङमा राखेको भेलापछि कांग्रेसभित्र थप विवाद भुसको आगोझैँ सल्किएको नेताहरू स्वीकार गर्छन्। शेखर पक्षीय नेताहरू महामन्त्री गगन थापाप्रति आक्रामक सुनिन्छन्।

कोसीमा शेखर पक्षले भेला राखेको भन्दै रोक्नको लागि गगन थापाले पत्राचार नै गर्नुपरेको थियो। तर, गगनको पत्रले पनि काम गरेन।

शेखर पक्षले कोसीको मोरङमा पालिका सभापतिहरूको भेला राखी छाड्यो। सो भेलामा १४ जिल्लाबाट ११३ वटा पालिका सभापति सहभागी भए। जसको उद्घाटन शेखर कोइरालाले गरे।

संस्थापन पक्षले १८ गतेको पालिका सभापति भेला रोक्न निकै जोड गरे पनि असफल भएको उनी पक्षीय नेता केदार कार्की दाबी गर्छन्।  

‘मुख्यसचिव कृष्णप्रसाद पौडेलले फोन गरेर भेला रोक्न निर्देशन दिए तर नमानेपछि महामन्त्री थापाले पत्र नै पठाए। तर, यसले पनि हाम्रो भेला रोकिएन,’ अहिले उनीहरू तिल्मिलाएका छन्,’ उनले भने।  

पालिका सभापतिको भेला गुटको भएको देउवा पक्षले आरोप लगाएको छ। तर, संस्थापन पक्षले जिल्ला सभापति भेला राखेको र महामन्त्री पुगेको, कोषाध्यक्ष भेला राखेर एकवर्षअघि नै गुटकै अभ्यास गरेको कोइराला पक्षीय नेता कार्कीको भनाइ छ। 

‘पार्टीको विधान, संगठनबारे सल्लाह गर्न भेला बोलाइएको हो,’ पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘त्यो भेला आधिकारिक हो होइन भन्नै मिल्दैन। पार्टीमा जुनसुकै बेला छलफल हुनसक्छ।’

संस्थापनले कार्यक्रम रोक्न खोजेर तानाशाही प्रवृत्ति देखाएको शेखर पक्षीय केन्द्रीय सदस्य डा. पोखरेल आरोप लगाउँछन्।

‘त्यो भेला पार्टी टुक्र्याउन, विद्रोह गर्न र पार्टी नीति विपरीत गरेको काम होइन, हामी संघीयतामा गइसकेपछि स्थानीय तहले आफूआफू समन्वय गरेर काम गर्ने, अनुभव साटासाट गर्न सक्छ,’ पोखरेलले भने,  ‘तर, यस्तो कार्यक्रम नगर्नु भनेर महामन्त्री गगन थापाले चिठ्ठी पठाउनुभयो, यो त पञ्चायतकै झल्को दिने खालको भयो। पञ्चहरूले भनेपछि मात्र तलकाहरूले काम गर्न पाउँथे। नत्र कांग्रेसजस्तो पार्टीले, पार्टीको हितको लागि स्थानीय तहका इकाईहरूले समन्वय राख्न नपाउने भन्ने हुन्छ र? भोलि काठमाडौँका वडाहरूले पनि राख्न पाउँछन् नि!’

भेला भव्य र सानदार भएपछि संस्थापन पक्ष अत्तालिएको उनी बताउँछन्। 

‘यस्तो कार्यक्रम गरेको हुनाले उहाँलाई झोँक चल्यो। जे कुरामा पनि संस्थापनका पदाधिकारी झन् तानाशाही हुन थाले। कन्ट्रोल एन्ड कमान्डको संस्कार देखियो पार्टीमा,’ पोखरेलले थपे। 

देउवा पक्षका नेताले पनि मंसिर २२ गते कोसी प्रदेश प्रथम अधिवेशन गरे। सो कार्यक्रममा कोइराला पुगेनन्। उनले बहिष्कार गरेको हल्ला फैलियो।  

‘संस्थापनले शेखर कोइरालालाई च्यालेन्ज गरेर कार्यक्रम राखेका हुन्, तर त्यो कार्यक्रम कति फितलो भयो,’ कार्की भन्छन्, ‘पालिका सभापतिले भेला राखेको देखेर गुट जोगाउन उनीहरूले प्रथम सम्मेलन गरेका हुन्। जबकि यो त तीन वर्षअघि नै गर्नुपथ्र्याे।’

शेखरलाई निम्ता नै गरिएन?
कोसी प्रदेशका सांसद समेत रहेका केदार कार्की प्रथम अधिवेशनमा शेखर कोइरालालाई खबर नै नगरेको दाबी गर्छन्।

‘उहाँहरूलाई (संस्थापन पक्ष जसले प्रथम कोसी अधिवेशन गरे) महामन्त्री गगन थापाको साथ थियो होला,’ कार्कीले असन्तुष्टि जनाए, ‘नत्र शेखर दाइको गृहनगरमा हुने कार्यक्रमबारे छलफल, सरसल्लाह किन लिइएन त?’

देउवासँग सभापतिमा हारेपछि कोइरालाले पार्टीभित्र समानान्तर गतिविधि गरिरहेका छन्। 

संस्थापनले गरेका सबै काममा सहयोगी र साक्षी भएर हिँड्नु हुँदैन भन्ने विचार बोक्ने कोइरालाले आफू बलियो भएको जिल्लाबाटै थप गतिविधि बढाएका छन्। 

‘मोरङबाट कांग्रेसमा प्रष्टसँग दुई धार देखियो, संस्थापन पक्षको नेतृत्व शेरबहादुर देउवाले गर्नुभयो, शेखरले इतरको नेतृत्व गर्नुभयो,’ डा. पोखरेलले भने। 

उनले संस्थापन पक्षका नेताहरू विचारशून्य हुँदै गएकोले सच्याउन प्रयास भइरहेको बताए। 

‘कांग्रेसको वैचारिक धार के भयो? यो त बीपीको पार्टी हो,’ उनी भन्छन्, ‘तर, यहाँ व्यक्ति र गुटकेन्द्रित राजनीति भयो।’ 

कांग्रेसलाई लाग्यो महाधिवेशन
बाहिर बीआरआई र गुटगत भेलाकै कारण विवाद बढेको देखिए पनि खासमा कांग्रेसका नेतालाई महाधिवेशन लागेको छ। त्यही भएर सानो कुरामा पनि नेताहरू विभाजित हुन थालेका हुन्। 

२०८२ मा महाधिवेशन गर्नुपर्ने हुन्छ। तर, सभापतिले एक वर्षसम्म थप समय पाउँछन्। शेखरले महाधिवेशन समयमै गर्न पनि दबाब बढाइरहेका छन्।

उनी भेला राखेर, नेता/कार्यकर्ताको मुड बुझिरहेका छन्। 

कोसी प्रदेशमा राखिएको पालिका सभापतिको भेला त्यसै अनुसार तय गरिएको हो। 

उता संस्थापन पक्ष पनि महाधिवेशन तयारीमा छ। महामन्त्री गगन थापाले देशका विभिन्न ठाउँमा राखिएका कार्यक्रम नछुटाउनुको कारण त्यही भएको नेताहरूको भनाइ छ।

‘समयमा महाधिवेशन गर्न दबाब दिएको पनि हो, देशभरका नेताहरू मन बुझ्ने प्रयास त हुने नै भयो,’ कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad