ग्लोबल


रुसी सेनाले छाडेन सिरियाका दुई सैन्य अखडा

रुसी सेनाले छाडेन सिरियाका दुई सैन्य अखडा

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १८:३७,

इस्लामिक विद्रोहीहरूले बसर अल असदको सत्ता पल्टाएपछि सिरियामा रहेका सैन्य अखडाबाट रुसी फौज फिर्ता हुने अनुमान थियो। तर, हालसम्म प्रमुख दुई अखडामा रुसी सेना बसिरहेको रिपोर्टहरूमा बताइएको छ।

ससाना चौकीबाट आफ्नो सेनालाई रुसले प्रमुख नौसैनिक तथा हवाइ अखडामा सारेको छ।

सिरियाको तार्तुसमा नौसैनिक र लताकियानकिजै रुसको हवाइ अखडा छ। यी दुवै अखडा सिरियाको पश्चिमी किनारामा पर्छन्।मंगलबारसम्म यी अखडाबाट रुसी सेना हट्ने कुनै संकेत स्याटलाइट तस्बिरमा देखिएको छैन।

गृहयुद्धमा असदको सत्ता टिकाउन यी अखडा महत्त्वपूर्ण थिए। त्यस्तै दक्षिणतर्फ रुसको आवागमनका लागि पनि यी अखडा महत्त्वपूर्ण छन्।

यी अखडा गुमाए रुसको भूमध्यसागरमा स्थायी नौसैनिक उपस्थिति र अफ्रिकामा सहज कारबाहीमा धक्का लाग्ने विश्लेषकहरूको भनाइ छ।

रुसले अहिले इल्युसिन आईएल–७६ विमानबाट सैन्य सामग्री ओसारपसार गर्छ। यो विमानको उडान रेन्ज ४ हजार २ सय किमि मात्र छ। सिरियाको अखडा नहुने हो भने टाढाका स्थानमा उसले सैन्य कारबाही सञ्चालन गर्न सक्ने छैन।

‘रुस यी अखडामा प्रतीकात्मक मात्रै भए पनि उपस्थिति चाहन्छ,’ टफ्ट युनिभर्सिटीका पावेल लुजिन भन्छन्, ‘तर, त्यो पनि सिरियाको राजनीतिक प्रक्रिया कस्तो हुन्छ, त्यसमा निर्भर हुनेछ।’

रुसले ती अखडा सिरियामा रहने कि नरहने भन्ने कुरा नयाँ सत्तासँगको वार्तामा भर पर्ने बताएको छ। असदलाई रुसले शरण दिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण ध्यान युक्रेन युद्धमा केन्द्रित गरेपछि सिरियामा रुस कमजोर भएको विश्लेषण गरिँदैछ।

स्याटलाइट तस्बिरहरूका अनुसार त्यहाँका सैनिक ओसार्न सक्नेगरी विमान नआएको र त्यहाँ रहेका जहाजहरू पनि वरिपरि नै भएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad