वर्षौंसम्म बंगलादेशले आर्थिक चमत्कार गरेको भन्दै सो मुलुकको प्रशंसा गरिएको थियो। २००९ देखि यसै वर्षको अगस्टसम्म निरंकुश शासन चलाएकी शेख हसिना आफ्नो कारणले आर्थिक वृद्धि भएको दाबी गर्थिन्। आधिकारिक आँकडाहरूले उनको दाबीलाई वैधता दिएको थियो।
महामारीपहिलेको एक दशकमा बंगलादेशको अर्थतन्त्र वार्षिक ७ प्रतिशतका दरले वृद्धि भएको थियो। जुन चीनसँग तुलनायोग्य थियो। तर, यो भाष्यलाई अहिलेको सरकारले उल्ट्याइदिएको छ।
विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सत्ता पल्ट्यायो। र, यसै महिना अन्तरिम सरकारले एक श्वेत पत्र जारी गर्दै हसिनाको आर्थिक विरासतलाई पनि भत्काइदिएको छ।
सो श्वेतपत्रको निष्कर्ष छ– बंगलादेशको विकासको कथा बढाइचढाइ थियो। जीडीपीको आँकडा पनि काल्पनिक भएको त्यसमा उल्लेख छ। मुहम्मद युनुसको सरकारले बंगलादेशको अर्थतन्त्रको सबै पक्षको अध्ययन गर्न गठन गरेको विज्ञहरूको समितिले सो ३८५ पृष्ठको प्रतिवेदन तयार गरेको हो।
रातको समयमा बत्तीको उज्यालोको सघनता हेरेर आर्थिक गतिविधिको मापन गर्ने विश्व ब्यांकको तरिका अपनाएर सो रिपोर्टले बंगलादेशको नयाँ आर्थिक वृद्धिदर अनुमान गरेको छ। जसअनुसार २०१८–१९ को वास्तविक वृद्धिदर सरकारले भनेजस्तो ७ होइन, करिब ३ प्रतिशत थियो। घरेलु र बाह्य प्रचारबाजीका लागि राजनीतिकर्मीहरूले जीडीपीको आँकडा बढाएको प्रतिवेदनमा उल्लेख छ।
तर, सबैभन्दा गम्भीर निष्कर्ष भने भ्रष्टाचारसँग सम्बन्धित छ। २००९ देखि २०२३ को बीचमा बंगलादेशबाट २३४ अर्ब डलर धन बाहिर लगेर लुकाइएको आरोप छ। वार्षिक रूपमा हेर्दा त्यो आजको जीडीपीको ३.४ प्रतिशत हुन आउँछ। त्यो रकम सेयरबजार घोटालादेखि लागुऔषध कारोबारजस्ता अनेक आर्थिक अवैध गतिविधिबाट कमाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार धेरैजसो घोटाला ठूला पूर्वाधार परियोजनामा भएको छ। जसमा राजनीतिकर्मी, कर्मचारी, व्यापारी र सवारी डिलरहरू सहभागी भएको दाबी छ।

सो प्रतिवेदन लेख्ने समितिका प्रमुख देवप्रिय भट्टाचार्य भन्छन्, ‘बंगलादेशमा भ्रष्टाचारको कथा नयाँ होइन। तर, यसअघि कहिल्यै पनि भ्रष्टाचार यति व्यापक थिएन।’
वर्षौंसम्मको राजनीतिक शिथिलिताका कारण भ्रष्टाचारले जरा गाड्ने मौका पाएको उनको भनाइ छ।
अब पनि सो समस्या समाधान गर्न कठिन छ। खासगरी अन्तरिम सरकार सुधार लागू गर्न त्यही कर्मचारीतन्त्रमा निर्भर छ, जुन हसिना शासनको हिस्सा थियो। प्रतिवेदनमा स्वतन्त्र तथ्यांक तथा आर्थिक आयोग गठनको उपाय सुझाइएको छ।
तर, गर्न जरुरी काम धेरै छन्। मुद्रास्फिति चरम विन्दुमा पुगेको छ। महिनौँदेखिको राजनीतिक अनिश्चितताका कारण लगानी ठप्प भएको छ। डिसेम्बर ११ मा एडीबीले बंगलादेशको वृद्धिको पूर्वानुमान कटौती गरिदिएको छ। विश्व ब्यांकले ग्रामीण क्षेत्रका मध्यमवर्गीय परिवारमध्ये आधा पुनः गरिबीको रेखामुनि पुग्ने जोखिममा रहेको औँल्याएको छ।
यदि बंगलादेशले मुलुकका संस्थाहरू पुनर्निर्माण गर्दै यी सबै समस्या समाधान गर्यो भने त्यो चाहिँ साँच्चैको चमत्कार हुनेछ। दि इकोनोमिस्टबाट
Shares

प्रतिक्रिया