ग्लोबल


ब्राजिलका पूर्वरक्षामन्त्री गिरफ्तार

ब्राजिलका पूर्वरक्षामन्त्री गिरफ्तार

नेपालखबर
मंसिर २९, २०८१ शनिबार २१:५०, ब्रासिलिया

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्वरक्षामन्त्री वाल्टर ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्‍याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ।

ब्राजिलको सङ्घीय प्रहरीले अनुसन्धानमा बाधा पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

‘ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,’ स्रोतले जानकारी गराएको छ।

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको शपथ ग्रहण रोक्न ‘कू’ को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो।

यो सूचीमा नेट्टो पनि सामेल थिए र सन् २०२२ को चुनावमा उनका प्रतिस्पर्धी पनि थिए। 

महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सहषडयन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढङ्गले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ।

सन् २०२२ मा लुलाले जितेको चुनावमा धाँधली भएको दाबी गर्न र सर्वोच्च अदालतलाई किनारा लगाउन आदेशको प्रयोग गर्न बोल्सोनारो र उहाँका सैन्य अधिकारीहरूसहित उनका केही अधिकारीको मिलेमतो रहेको बताइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘ब्राजिलका तत्कालीन राष्ट्रपति बोल्सोनारोले चुनावी पराजयपछि पनि सत्तामा रहिरहनका लागि दस्तावेज र रणनीतिको मस्यौदामा प्रत्यक्ष संलग्न रहेर ‘कू’ योजना निर्माणमा सक्रियतापूर्वक भाग लिनुभएको थियो।

बोल्सोनारोलाई उनका उपराष्ट्रपति तथा सर्वोच्च अदालतका न्यायाधीश लुलाको हत्या गर्ने कुलीन सैनिकको कथित योजनाबारे पनि ‘पूर्ण जानकारी’ रहेको रिपोर्टमा उल्लेख छ।

‘ग्रिन एन्ड एलो डगर’ भनिने यो योजनाबारे नेट्टोको घरमा छलफल भएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार ब्राजिलको राष्ट्रपतिको कार्यालय प्लानाल्टो दरबारमा यो छापिएको थियो।

बोल्सोनारोको लिबरल पार्टीको मुख्यालयमा नेट्टोका एक सल्लाहकारको सामानमा ‘कू’ योजनाको मस्यौदा फेला परेको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad