ग्लोबल


यसपालि ट्रम्पको सामु झुक्यो कर्पोरेट अमेरिका

सीईओहरू चापलुसी गर्न धमाधम धाइरहेका छन् ट्रम्पको घर
यसपालि ट्रम्पको सामु झुक्यो कर्पोरेट अमेरिका

नेपालखबर
पुस ३, २०८१ बुधबार १९:२४,

नेटफ्लिक्सका ६० वर्षीय सीईओ टेड सारान्डोस वर्षौंदेखि डेमोक्र्याटिक पार्टीका प्रमुख दाता रहँदै आएका थिए।

तर, मंगलबार उनी डोनाल्ड ट्रम्पको मार ए लागो रिसोर्टमा पुगे। ताकि ट्रम्पप्रति सम्मान व्यक्त गर्न र उनीसँग सम्बन्ध गाँस्न सकियोस्। यसो गर्ने अमेरिकाको कर्पोरेट क्षेत्रका पछिल्लो हस्ती हुन् सारान्डोस।

नोभेम्बरमा कमला ह्यारिसविरुद्ध ट्रम्पले चुनाव जितेयता हलिउडदेखि सिलिकन भ्याली र वाल स्ट्रिटसम्मका उच्चपदस्थ कार्यकारीहरू उनलाई भेट्न झुकिरहेका छन्। यस्ता बैठकहरूको क्रम हाल झनै तीव्र भएको छ। रिपब्लिकन पार्टीका चन्दादाताहरू मात्र होइन, पहिले उनको विरोध गरेकाहरू पनि धमाधम ट्रम्पलाई भेट्न पुगिरहेका छन्।

सारान्डोसका अलावा ट्रम्पले अमेजनका मालिक जेफ बेजोससँग पनि भेट्ने कार्यक्रम छ। यसअघि सोमबार ट्रम्पले मासायोसी सनसँगै उभिएर जापानको सफ्टब्यांकले अमेरिकामा १०० अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए भने त्यसको केही घण्टापछि नै टिकटकका सीईओ साउ जी च्युलाई भेटेका थिए।

ट्रम्पको भित्रियाहरूमाझ यी भेटघाटलाई ट्रम्प र उनको आर्थिक नीतिमा सीईओहरूको विश्वासका रूपमा हेरिँदै छ। ६ जनवरी २०२१ मा अमेरिकी संसदमा भीडले हमला गरेपछि थुप्रै व्यवसायीले ट्रम्पसँग सम्बन्ध राख्न छाडिदिएका थिए। कतिपयले ट्रम्पविरुद्ध उठेका उम्मेदवारहरूलाई समर्थन गरेका थिए।

‘यीमध्ये केही सीईओहरू पहिले राजनीतिक रूपमा ट्रम्पको समर्थक नभए पनि आगामी प्रशासनमा साझेदार बन्न आफू इच्छुक रहेको देखाइरहेका छन्। र, मिल्न सकिने विषयमा मिलेर काम गर्न चाहेको बताइरहेका छन्,’ ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलर भन्छन्, ‘अझै थुप्रै अमेरिकी र विदेशी सीईओहरू पनि आउने छन्।’

यी सीईओहरूले ट्रम्पलाई भेट्नुको कारण अनेक छन्। टिकटकका सीईओ अमेरिकामा आफ्नो लोकप्रिय एपमाथि अर्को वर्षदेखि लागू हुने प्रतिबन्धबाट बचाउन खोजिरहेका छन्। ट्रम्पबाट केही सहानुभूति प्राप्त गर्ने उनको आशा छ। एप्पलका टिम कुक, गुगलका सुन्दर पिचाइ र मेटाका मार्क जकरबर्ग नियमनको वातावरण अलि नरम होस् भन्ने चाहन्छन्।

‘अति धनी, रचनात्मक खालका यी सीईओहरू, जसमध्ये थुप्रै वामपन्थी झुकाव राख्छन्, का लागि झुकेर ट्रम्पसँग सम्झौता गर्न कठिन छ,’ वासिङ्टनका एक लबिइस्ट भन्छन्, ‘तर, उनीहरूसँग विकल्प नै के छ र?’

वाल स्ट्रिटका प्रमुख कार्यकारीहरू भने जो बाइडेनले लागू गरेका करलगायत व्यवसायलाई हानि गर्ने ठानिएका नीति पनि ट्रम्पले उल्ट्याइदिने विश्वासमा छन्।

उसो त कर्पोरेट अमेरिकामा ट्रम्पप्रति केही गम्भीर चिन्ता पनि छन्। खासगरी उनले लगाउने भनेको उच्च कर, अवैध आप्रवासीलाई घर फर्काउने, उत्पादनमा प्राप्त अनुदान कटौती गर्ने विषयमा। तर, सीईओहरू ट्रम्पलाई सम्झौता गर्ने मान्छेका रूपमा लिन्छन्। र, आलोचना गरेर ट्रम्पलाई क्रुद्ध तुल्याएर बदलाको खतरा निम्त्याउनुभन्दा चापलुसी गर्नमा फाइदा हुने उनीहरूले बुझेका छन्।

‘म सीईओहरूलाई भन्ने गर्छु– राष्ट्रपति ट्रम्पसँग भेटेर कुरा गर्नु ठिक हुन्छ। तपाईं के गर्दै हुनुहुन्छ, व्यवसाय कसरी बढाउँदै हुनुहुन्छ, त्यसको जानकारी उनलाई दिनु राम्रो हुन्छ,’ ट्रम्पसँग उम्मेदवारीका लागि प्रतिस्पर्धा गरेकी र अहिले एडलम्यान नामक कन्सल्टेन्सीको उपप्रमुखका रूपमा कम्पनीहरूलाई ट्रम्पसँग कसरी कुरा गर्ने भनेर परामर्श दिइरहेकी निक्की हेली भन्छिन्, ‘ट्रम्पसँग डराउने कुनै पनि सीईओसँग म कुरा गर्दिनँ।’

ट्रम्पलाई भेटेर नयाँ लगानी घोषणा गर्नुका साथै ओपेन एआईका साम अल्टम्यान अनि ब्यांक अफ अमेरिका र गोल्डम्यान स्याक्सजस्ता ब्यांकलगायतका प्रमुखहरूले ट्रम्पको शपथ समारोहका लागि आवश्यक रकम पनि जुटाउन सहयोग पनि गरिरहेका छन्।

केही सीईओहरू त आफ्नो चापलुसीले काम गरिरहेको ठान्छन्। 

‘हामीले लबिइस्ट हायर गर्नुपर्ने आवश्यकता छैन, ट्रम्पले नै वाल स्ट्रिटको प्रतिनिधित्व गर्छन्,’ एक शीर्ष लगानीकर्ता भन्छन्। 

कयौँ ब्यांकका सीईओहरूलाई सल्लाह दिएका एक सल्लाहकारले थपे, ‘ट्रम्पलाई सम्मान दिन सबैजना धाइरहेका छन्।’

२०१६ मा जितेर पनि पाउन नसकेको जनादेश यसपटक ट्रम्पले पाएको उनीहरूको भनाइ छ। 

उसो त त्यतिबेला ट्रम्पले आफूलाई कामदार वर्गको समर्थकका रूपमा पेस गर्दै पपुलिस्ट योजना अघि सारेका थिए। अहिले त्यस्तो छैन। सोहीकारण कर्पोरेट जगतका सीईओहरूले रिपब्लिकन पार्टीलाई समर्थन गरेका छन्।

‘ट्रम्पले वाल स्ट्रिट शैलीमा होइन, मेन स्ट्रिट शैलीमा शासन चलाउने छन्। त्यसैले उनीहरूले आआफ्नो कम्पनीले कसरी अर्थतन्त्र हाँक्न सघाइरहेको छ भनेर ट्रम्पलाई बुझाउन आवश्यक छ,’ ती लबिइस्ट भन्छन्।

ट्रम्पले ट्रेजरी र वाणिज्यमन्त्रीमा मनोनयन गरेका स्कट बेसेन्ट र हावर्ड लुट्निकका माध्यमबाट पनि सीईओहरूले ट्रम्पलाई रिझाउने कोसिस गरिरहेका छन्।

मिलरले नयाँ प्रशासनले तत्कालै नियमन खुकुलो पार्ने काम सुरु गर्ने, तेल र ग्यास उत्खनन् अनुमति दिने र कर कटौती गर्ने बताए। जो सीईओहरूको चाहना पनि हो।

‘अमेरिकी कामदारहरूलाई थाहा छ, राष्ट्रपति ट्रम्प उनीहरूको उद्योगको पक्षमा उभिने छन् र उनले तिनको अस्तित्व मेटाउन चाहने विदेशी प्रतिस्पर्धीहरूबाट जोगाउने छन्। त्यसैले सबैजना सामेल हुन चाहन्छन्,’ मिलर भन्छन्। फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad