टर्कीको उत्तर-पश्चिमी क्षेत्रमा रहेको हतियार बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
बीबीसीका अनुसार बालिकेसिर सहरका गभर्नर इस्माइल उस्टोउलुले स्थानीय समय बिहान ८:२५ बजे क्याप्सुल उत्पादन गर्ने क्षेत्रमा विस्फोट भएको बताएका छन्।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले विस्फोटको कारण अझै स्पष्ट नभएको तर अधिकारीहरूले कुनै किसिमको षड्यन्त्रको सम्भावनालाई अस्वीकार गरेका छैनन्।
घटनास्थलबाट प्राप्त भिडिओमा कारखानाबाट आगोको गोला निस्किएको देखिन्छ, जसका कारण भवनको एक भाग ध्वस्त भएको र त्यसपछि कालो धुवाँ निस्किएको देखिन्छ।
आगो नियन्त्रण गर्नका लागि धेरै दमकल र स्वास्थ्य तथा सुरक्षा एकाइ घटनास्थलमा पठाइएको थियो।
न्यायमन्त्री यिलमाज टुन्चले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताएका छन्।
Shares

प्रतिक्रिया