चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारी प्रसारक सीसीटीभीका अनुसार सीले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्न दृढ रहनेछ।’
सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गरेपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ।
तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ। जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन्। युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैन।
सीसीटीभीका अनुसार सीले पुटिनलाई भने, ‘एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैरटकराव र कुनै तेस्रो पक्षलाई लक्ष्य नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन्।’
दुवै राष्ट्रपतिबीच बलियो व्यक्तिगत सम्बन्ध छ। सीले आफ्ना रुसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भनेका छन् भने पुटिनले उनलाई आफ्नो ‘भरपर्दो साझेदार’ मान्छन्।
युक्रेनमा रुसको युद्धले प्रदर्शन गरेजस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बाबजुद उनीहरूको सम्बन्ध स्थिर छ।
सीसीटीभीका अनुसार ‘दुई देशबीचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गरे।
‘साढे तीन दशकको उतारचढावपछि, चीन-रुस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्’, सीले भने। रासस/एएफपी
Shares

प्रतिक्रिया