१७९ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको छानबिन गरिरहेको प्रहरीले जेजु एयरका प्रमुख कार्यकारी किम इबायलाई देश छाड्न प्रतिबन्ध लगाएको छ।
आइतबार भएको दुर्घटनामा १८१ जना सवार विमानका १७९ जना मारिएका थिए। सो दुर्घटनाको कारणको खोजी भइरहेको छ।
थाइल्यान्डबाट मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानले आपतकालको घोषणा गरेर अवतरण गर्न खोज्दा दुर्घटना भएको थियो। अवतरण गर्दा विमानको ल्यान्डिङ गियर निस्केको थिएन।
प्रहरीले दुर्घटनास्थल मुआन विमानस्थल र जेजु एयरको कार्यालयमा छापा पनि मारेको छ।
लापरबाहीको आशंकामा ती स्थानमा छापा मारिएको अनुमान गरिएको छ। लापरबाही ठहर भए पाँच वर्षसम्मको जेल र २ करोड वनसम्म जरिवाना हुन सक्छ।
सो दुर्घटनाको कारण पत्ता लगाउन सरकारमाथि दबाब बढ्दै गएको छ। अधिकारीहरूले विमानको दुवै ब्ल्याक बक्स फेला पारेका छन्। तर, ककपिट भ्वइस रेकर्डरबाट जानकारी निकाल्न नसकेपछि त्यसलाई अमेरिका पठाइने भएको छ।
सरकारले समग्र उड्डयन क्षेत्रको सुरक्षा जाँच गर्न आदेश दिएको छ। अन्तरिम राष्ट्रपति चोइ साङ मोकले कुनै अनियमितता फेला परे तुरुन्त कारबाही हुने बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया