ग्लोबल


इजरायलले किन हराउन सकेन हमासलाई?

शक्ति घटे पनि गाजाको सत्ता हमासकै हातमा
इजरायलले किन हराउन सकेन हमासलाई?

उत्तरी गाजाबाट विस्थापित हजारौँ सोमबार आफ्नो ठाउँ फर्केका छन्


नेपालखबर
माघ १६, २०८१ बुधबार १८:४५,

गाजामा युद्धविराम हुनुभन्दा केही दिनअघि जनवरी १४ मा तत्कालीन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनस्थित एट्लान्टिक काउन्सिलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरे।

गत १५ महिनामा गाजामा इजरायली युद्धलाई सघाउन ब्लिन्केनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। सो नरसंहारकारी युद्धमा ४७ हजार ३ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायलको लक्ष्य हमासलाई पराजित गर्नु र पूर्ण रूपमा सफाया गर्नु भएको बताएका थिए। तर, ब्लिन्केनले आफ्नो कार्यकालको अन्त्यतिर अलग बात बताए।

‘हाम्रो आकलन के छ भने हमासले जति लडाकु गुमायो, त्यति नै नयाँ लडाकु भर्ती गर्‍यो,’ १४ जनवरीमा उनले भनेका थिए। 

यो दीर्घकालीन विद्रोह र निरन्तर युद्धको कारक बन्न सक्ने उनको भनाइ थियो।

गत १५ महिनामा हमासलाई ठूलो क्षति भएको विश्लेषकहरूको भनाइ छ। सो समूहले हजारौँ लडाकु गुमायो। जसमा सैन्य नेता याया सिनवर समेत थिए। उसको हतियार भण्डार पनि रित्तिएको बताइन्छ।

तर, गाजामा युद्धको धुवाँ रोकिँदै जाँदा के स्पष्ट भइसकेको छ भने हमास समाप्त भएको छैन। इजरायली बन्धकहरू मुक्त गर्दैगर्दा ठूलो संख्यामा हमास लडाकु देखिए। हमासले नै सञ्चालन गरेको नागरिक प्रशासनका सदस्यहरूले पुनः आफ्नो काम गर्न थालेका छन्। यदि गाजामा कुनै सत्ता छ भने त्यो हमासकै देखिन्छ।

‘हमास सुनियोजित रूपमा आफू बलियो रहेको देखाउन चाहन्छ। यसलाई प्रचारबाजीका रूपमा हेरिनुपर्छ,’  युरोपियन काउन्सिल अन फरेन रिलेसन्सका ह्यु लोभाट भन्छन्, ‘तथापि, एक वर्षभन्दा लामो लडाइँपछि पनि गाजाको नियन्त्रण हमासकै हातमा छ।’

इजरायलले आफूलाई समाप्त पार्न नसकेको र गाजासम्बन्धी भविष्यका कुनै पनि व्यवस्थामा आफ्नो भिटो कायम रहने कुरा हमासले देखाउन चाहेको उनको भनाइ छ।

‘इजरायली बन्धक छाड्दै गर्दा त्यत्रो संख्यामा कसम (हमासको सैन्य शाखा) लडाकु देखेर म त छ क्क परे,’ रफाहबाट विस्थापित ८ सन्तानका पिता ६७ वर्षीय फाती अल लदावी भन्छन्, ‘आक्रमण र बमबारीको स्तर हेर्दा, खासगरी उत्तरी गाजामा, हामीले सोचेका थियौँ, हमासको सैन्य शक्ति धेरै हदसम्म समाप्त भयो होला। तर, हामीले जे देख्यौँ, त्यसबाट उनीहरू अझै बलियो रहेको पुष्टि हुन्छ। अझ पहिलेभन्दा बलियो।’
 
‘हमासले बन्धकहरूलाई यत्रो समय राख्यो, जो राम्रो अवस्थामा थिए र आफूलाई सिध्याउने कसम खाएको पक्षसँग वार्ता गरेर युद्धविराम सम्झौता गर्न पनि सफल भयो,’ मिडल इस्ट काउन्सिल अन ग्लोबल अफेयर्सका अध्येता ओमर रहमान भन्छन्।

ब्लिन्केनको भनाइ अनुसार युद्धमा गुमाएका लडाकुको ठाउँमा हमास नयाँ भर्ती गर्न पनि सफल रह्यो।

युद्धमा कति हमास लडाकु मारिए, पत्ता लगाउन कठिन छ। हमासले आफ्नो सैन्य र गैरसैन्य शाखाका ६ देखि ७ हजार सदस्य गुमाएको दाबी गरेको छ। ईसीएफआरको रिपोर्टले हमासको अनुमानित २५ हजार लडाकुमध्ये धेरैजसो जीवित रहेको अनुमान गरेको छ।

नेतन्याहुले भने २० हजार ‘आतंकवादी’ मारिएको दाबी गत नोभेम्बरमा गरेका थिए। राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको बताएको छ।

‘आफ्नो सैन्य शाखा कसम ब्रिगेडका कति सदस्य मारिए भन्ने हमासलाई मात्र थाहा छ,’ प्यालेस्टिनी सैन्य विश्लेषक हामजा अत्तार बताउँछन्, ‘हामीले कयौँ यस्ता पोस्ट देख्यौँ, जसमा कतिपयले आफ्ना नातेदार मारिएकोमा शोक मनाइरहेका थिए। तर, त्यसबारे हमासले केही भनेन।’

युद्धविरामको पहिलो दिन जनवरी १९ मा हमासका प्रवक्ता अबु ओबेदियाले ‘विजय भाषण’ दिए। उनले हमासका मृत सदस्यप्रति शोक व्यक्त गरे। जसमा अक्टोबरमा लडाइँका क्रममा मारिएका सैन्य शाखा प्रमुख सिनवर, तेहरानमा गत जुलाईमा मारिएका राजनीतिक शाखा प्रमुख इस्माइल हानिया र लेबनानमा जनवरी २०२४ मा मारिएका सलेह अल अरुरीको नाम लिए।

सो क्रममा उनले कसम ब्रिगेडका एक संस्थापक मोहम्मद देइफको नाम नलिएको अत्तार बताउँछन्। उनी जुलाईमा मारिएको इजरायलको दाबी थियो।

जीवितहरूमा याया सिनवरका भाइ मोहम्मद सिनवर र एजेदिन हदादले कसम ब्रिगेडको नेतृत्व सम्हालिरहेको बताइन्छ।

इजरायलको घोषित लक्ष्यमा हमासको पूर्वाधार नष्ट गर्ने पनि उल्लेख थियो। खासगरी उसको सुरुङ सञ्जाल। तर, इजरायली सञ्चारमाध्यमका अनुसार हमासको सुरुङ सञ्जाल अझै पनि धेरै हदसम्म सञ्चालनमै छ। तर, कति बाँकी छ भन्ने विषयमा भने फरकफरक अनुमान गरिएका छन्। हमासका सदस्यहरूले थुप्रै सुरुङ संरक्षण गरिएको र केही त विस्तार पनि गरिएको दाबी गरेका छन्।

इजरायलले हमासको रकेट भण्डार धेरै हदसम्म रित्याइदिएको छ। तथापि, पुराना खालका र आफैँले बनाउन सक्ने हतियार उसले थप्न सक्छ।

‘मान्छेहरू, यत्रो संख्या र हमास लडाकु सुरक्षित देखेर म निकै खुसी भएँ,’ ११ सन्तानकी आमा ६४ वर्षीया फातिमा सम्मालीले भनिन्, ‘म हमासलाई समर्थन गर्दिनथेँ। तर, युद्धका बेला उनीहरूप्रति मेरो समर्थन बढ्यो। किनकि उनीहरूले इजरायलको त्यत्रो सैन्य शक्तिको सामना गरे।’

साती शरणार्थी शिविरबाट विस्थापित भएर नुसरत पुगेकी ८ सन्तानकी आमा ४३ वर्षीया निहाल बरकत यसमा सहमति जनाउँछिन्।

‘यो युद्धपछि हमासको लोकप्रियता बढेजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘उसको शक्ति पनि कायम छ। आशा छ, त्यो मानिसहरूको भलाइमा प्रयोग हुने छ।’

अक्टोबर ७ को आक्रमणको नतिजा विचार नगरेकोमा हमासप्रति गाजाबासी क्रुद्ध भएको लोभाटको भनाइ छ। 

‘थुप्रै गाजाबासी हमासप्रति आक्रोशित भएको स्पष्ट देखिन्छ,’ उनले भने, ‘सो आलोचना हमास आफैँले पनि महसुस गरेको छ। सिनवरको कारबाहीको थुप्रो आलोचना भएको थियो। जसले एकलौटी निर्णय लिए उनीहरूको पनि आलोचना भयो।’
 
तर, हमासको आलोचनालाई गाजामा कब्जा जमाउने इजरायली रणनीतिको समर्थनका रूपमा बुझ्न नहुने अत्तार बताउँछन्।

‘गाजाको नरसंहारकारी युद्धका क्रममा मानिसहरूले इजरायललाई सहयोग गरेनन्। किनभने इजरायल शत्रु हो,’ अत्तार भन्छन्, ‘यो हमाससम्बन्धी कुरा होइन। यो पहिचान, दृढता र प्यालेस्टिनी जनताको निरन्तरताको कुरा हो। हमासलाई माया गरेको कारणले होइन, प्यालेस्टाइनलाई माया गरेका कारण।’ 

८ सन्तानका विस्थापित पिता अल लदावी भन्छन्, ‘हाम्रो भूमिमाथिको कब्जा अन्त्य हुनुपर्छ। हाम्रो भाग्य निर्धारण गर्न संसार हाम्रो पक्षमा उभिनु पर्छ। थप युद्धबाट हामीलाई बचाउनुस्। हामी थाकिसक्यौँ। हामीमाझ हमास, फतह, जिहाद वा अरु कुनै गुटका सदस्य छन् भन्दैमा हामी सबैलाई सजाय नदिनुस्।’

(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad