ग्लोबल


ट्रम्पको भन्सार महसुल : पहिलेभन्दा ठूलो व्यापार युद्धको खतरा, ‘कोभिडको जत्रै’ असर

ट्रम्पको भन्सार महसुल : पहिलेभन्दा ठूलो व्यापार युद्धको खतरा, ‘कोभिडको जत्रै’ असर

नेपालखबर
माघ २०, २०८१ आइतबार १६:२३,

डोनाल्ड ट्रम्पले लामो समयदेखि आफूलाई कर लगाउन मन पराउने व्यक्तिका रूपमा चिनाउँदै आएका छन्। शनिबार उनले फ्लोरिडास्थित आफ्नो मार ए लागो रिसोर्टमा बसेर क्यानडा, मेक्सिको र चीनविरुद्ध भन्सार महसुल लगाए।

त्यसको केही घण्टापछि नै मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबमले बदलामा उत्तिकै महसुल लगाउने बताइन् भने क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि बदलामा कर लगाउने घोषणा गरे। चीनको वाणिज्य मन्त्रालयले भने विश्व व्यापार संगठनमा उजुरी गर्नुका साथै जवाफी कदम पनि चाल्ने बताएको छ।

ट्रम्पको भन्सार महसुल र त्यसको प्रतिक्रियाले फेरि व्यापार युद्ध सुरु गर्ने खतरा देखिएको छ। तर, यसपटकको व्यापार युद्ध पहिलेभन्दा ठूलो र नोक्सानदायी हुने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।

व्यापारिक साझेदारहरूलाई महसुलको धम्की दिएर आफ्नो इच्छाअनुसार झुकाउने ट्रम्पको दाउ देखिन्छ। तर, यसका कारण मुद्रास्फिति बढे अमेरिकीहरू पनि मारमा पर्ने छन्।

‘यो भन्सार महसुलले अमेरिकी व्यापार संरक्षणवादको नयाँ युग सुरु गरेको छ। जसले विरोधी वा सहयोगी जे भए पनि अमेरिकाका व्यापार साझेदारहरूलाई हानि गर्ने छ र अन्तर्राष्ट्रिय व्यापारमा बाधा ल्याउनेछ,’ कोर्नेल युनिभर्सिटीका प्राध्यापक ईश्वर प्रसादको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

सबैभन्दा बढी असर चाहिँ मेक्सिको र क्यानडालाई पर्ने छ। किनकि उनीहरू अमेरिकी अर्थतन्त्रमा भारी मात्रामा निर्भर छन्। ६ वर्षअघि दुवै मुलुकले ट्रम्पसँगै नयाँ व्यापार सम्झौता गरेका थिए। ट्रम्पले २५ प्रतिशत भन्सार महसुल लगाइराखे दुवै मुलुक मन्दीमा जाने अर्थशास्त्रीहरूको भनाइ छ।

‘कोही पनि सुरक्षित छैन,’ अमेरिकी अर्थ मन्त्रालयका पूर्वअधिकारी ब्राड सेट्सर भन्छन्, ‘ट्रम्पसँग सबैभन्दा ठूलो व्यापार सम्झौता गरेका दुई देशमाथि सबैभन्दा पहिले कर लाग्यो।’

ट्रम्पले अहिले लगाएको कर पूर्ण रूपमा कार्यान्वयन भए यसको असर अघिल्लोपालि चीन र जी७ मुलुकसँगको व्यापार युद्धको भन्दा ज्यादा पर्ने बताइन्छ।

‘यो अझ ठूलो व्यापार युद्ध हुन सक्छ,’ अक्सफोर्ड इकोनोमिक्सका प्रमुख अर्थशास्त्री रायन स्विट भन्छन्, ‘पहिलो चरणको ज्यादा केन्द्रित थियो। यसपालि विस्तृत हुने देखिन्छ, त्यो पनि सोचेभन्दा छिटो।’

ट्रम्पका पूर्व आर्थिक सल्लाहकार एभरेट आइसनस्टाट भन्छन्, ‘मैले भन्सार महसुल अलि नापजोख गरेर आउला भन्ने सोचेको थिएँ। तर, अब हामी के भन्न सक्छौँ भने यो एउटै दिशातिर गइरहेको छ। झनै चर्किने देखिन्छ।’

अर्थशास्त्रीहरू मेक्सिको, क्यानडा र चीनमाथिको कर सुरुवात मात्र भएको बताउँछन्। ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकामा आयात सम्पूर्ण सामग्रीमा भन्सार महसुल बढाउने तयारी गरिरहेको बताइन्छ।

ट्रम्पले खर्बौं डलर कर कटौती गर्ने बताएका छन्। सो रकम भन्सार महसुलबाट उठाउने उनको तयारी देखिएको विज्ञहरूको भनाइ छ। यसमा उनले पार्टीबाट पनि कुनै विरोधको सामना गर्नुपरेको छैन।

तर, उनका सामु दुई ठूला खतरा रहेको अर्थशास्त्रीहरू औँल्याउँछन्। एक त सेयर बजारमा पहिरो र अर्को मुद्रास्फिति। विश्व अर्थतन्त्रका लागि भने कोभिड महामारीले जस्तै भयानक असर गर्नसक्ने आईएनजी नामक वित्तीय सेवा प्रदायक कम्पनीका अर्थशास्त्री जेम्स नाइट्ली बताउँछन्।

‘जोखिम के छ भने यसले निकै ठूलो क्षति गर्न सक्छ, खासगरी मुलुकहरूको जवाफी कारबाही ठूलो भयो भने,’ उनी भन्छन्, ‘र, राजनीतिकर्मीले जवाफ नदिने स्थिति म देख्दिनँ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad