भारतीय राज्य उत्तर प्रदेशको अयोध्यामा २२ वर्षीया दलित युवतीको निर्मम हत्या भएपछि समाजवादी पार्टीका नेता तथा सांसद अवधेश प्रसाद पत्रकार सम्मेलनमै धुरुधुरु रोएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार आइतबार घटनाबारे आयोजित पत्रकार सम्मेलनमा सांसद अवधेश प्रसाद भावुक हुँदै रोएका हुन्।
उनले रुँदै भने, ‘हामीलाई दिल्ली जान दिनुहोस्। हामी हाम्रो मुद्दा लोकसभामा मोदीसमक्ष राख्नेछौँ। यदि हामीले न्याय पाएनौँ भने हामी लोकसभाबाट राजीनामा दिनेछौँ।’
उनले अगाडि भने, ‘हामी हाम्रा छोरीको जीवन बचाउन असफल भइरहेका छौँ। इतिहासले के भन्ला?’
शनिबार अयोध्यामा एक दलित युवतीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।
परिवारका अनुसार मृतकको आँखा निकालिएको र उनको शरीरको हड्डी पनि भाँचिएको अवस्थामा भेटिएको थियो।
अधिकारीहरूले ती युवतीलाई सामूहकि आक्रमण नै भएको आशंका गरेका छन्।
बिहीबार साँझदेखि बेपत्ता ती युवती परिवारले खोजिरहेको थियो।
Shares

प्रतिक्रिया