ग्लोबल


‘ट्रम्पसँग वार्ता कसरी गर्ने, जापानी प्रधानमन्त्रीसँग सिक्नू’

‘ट्रम्पसँग वार्ता कसरी गर्ने, जापानी प्रधानमन्त्रीसँग सिक्नू’

नेपालखबर
माघ २७, २०८१ आइतबार २०:३०,

डोनाल्ड ट्रम्पले भर्खर अमेरिकाको निकट सहयोगी क्यानडालाई २५ प्रतिशत भन्सार लगाएका थिए। जापानी प्रधानमन्त्री सिगेरु इसिबा उनै ट्रम्पसँग भेट्न जाँदै थिए। त्यो पनि पहिलोपटक। त्यसैले टोकियोमा चिन्ताको माहौल थियो।

तर, ट्रम्पसँगको भेटपछि जापानी प्रधानमन्त्री इसिबा शुक्रबार प्रफुल्ल मुद्रामा घर फर्किए। ट्रम्पसँग उनले न्यानो सम्बन्ध बनाए, सुरक्षा गठबन्धन कायम रहने सुनिश्चित गरे र अझ गहिरो आर्थिक सम्बन्धको मार्गचित्र पनि तय गरे।

‘हाम्रो केमेस्ट्री मिलेजस्तो लाग्यो,’ जापान फर्केपछि आइतबार इसिबाले भने। 

अहिले इसिबाको भ्रमणलाई निकै सफल मानिँदै छ। ट्रम्पसँग कसरी वार्ता गर्ने, जापानी प्रधानमन्त्रीबाट सिक्नुपर्छ भन्ने चर्चा पनि चल्न थालेको छ। ट्रम्पले अझै पनि जापानविरुद्ध भन्सार महसुल लगाउन सक्छन्। तथापि, तुलनात्मक रूपमा कम अनुभव भएका इसिबाले व्यावहारिक नतिजा निकाल्न सकेको भन्दै उनको प्रशंसा भइरहेको छ।

भेटमा ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डालाई सघाउन जापानले के गर्न सक्छ भन्ने विषयमा इसिबा केन्द्रित रहे। यसले ट्रम्पको कारोबारी स्वभावसँग कसरी संवाद गर्ने भनेर अन्य मुलुकलाई पनि उदाहरण प्रस्तुत गरेको एसिया ग्रुप नामक कन्सल्टेन्सीकी उपाध्यक्ष युका हायासी बताउँछिन्।

इसिबाले ट्रम्पको खुब प्रशंसा गरेका थिए। हत्या प्रयासबाट बच्न सफल भएको, अमेरिकामा तेल उत्खननमा रहेको प्रतिबन्ध हटाएको र जापानलाई आफ्नो सेनाको बजेट बढाउन प्रेरित गरेको भन्दै उनले ट्रम्पको बखान गरे। जसले गर्दा अपेक्षाभन्दा पनि राम्रो नतिजा आएको हायासी बताउँछिन्।

ट्रम्पले निप्पन स्टिल कर्पोरेसनले यूएस स्टिल कर्पोरेसनमा गर्ने लगानीप्रति आफू उत्साहित रहेको बताए। 

‘यो शिखर बैठकको उपलब्धिपछि जापान–अमेरिका सम्बन्धको नयाँ सुनौलो युग निर्माणका लागि राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने मेरो अपेक्षा छ,’ इसिबाले भनेका छन्।

यो भेटले जापानको रणनीति बदलिएको देखाउँछ। उसले अब विश्वव्यापी मुद्दामा होइन, ट्रम्पको प्राथमिकतामा ध्यान केन्द्रित गरेको छ। 

बैठकअघि इसिबाले अमेरिका–जापान सम्बन्धबारे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका थिए। 

ट्रम्पसँग ओभल अफिसमा भेट्दा उनले ट्रम्पको प्रशंसाका अलावा अमेरिकामा जापानी लगानीको विवरण पनि प्रस्तुत गरेका थिए। जसमा इसुजु र टोयोटा मोटरको नयाँ उद्योग स्थापना पनि थियो।

बैठकभरि इसिबा कहिल्यै पनि असहज देखिएनन्। ट्रम्पले व्यापारमा जापानले नाफा कमाइरहे कर एउटा विकल्प हुनसक्ने बताउँदा पनि उनी सहज देखिए। 

‘मलाई लाग्छ, उहाँ एकदमै राम्रो प्रधानमन्त्री मानिनु हुनेछ। मलाई लाग्छ, उहाँ निकै बलियो मान्छे हो। असाध्यै बलियो। उहाँप्रति ममा सम्मान छ,’ ट्रम्पले भने।

अमेरिकाले भन्सार महसुल लगाए जवाफी महसुल लगाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा इसिबाको उत्तर थियो, ‘हेर्नुस्, औपचारिक अवस्थामा हामीले सधैँ भन्ने गरेजस्तै काल्पनिक प्रश्नको म जवाफ दिन सक्दिनँ।’

सो जवाफ सुनेर ट्रम्प मुस्कुराएका थिए भने अमेरिकी अधिकारीहरू हाँसेका थिए।

‘ह्वाइट हाउस यति आक्रामक भएको बेला इसिबा वासिङ्टन जानु जुवा खेलेजस्तो हो भन्नेहरू पनि थिए। तर, उनी सफल भइछाडे,’ टोकियोस्थित अमेरिकी दूतावासका पूर्वउपप्रमुख रहिसकेका कर्ट तोङ भन्छन्।

उसो त अमेरिकासँग जापानको सम्बन्ध अन्य देशको जस्तो जटिल छैन। क्यानडा र मेक्सिकोजस्तो अवैध आप्रवासी, लागुऔषधजस्ता समस्यासँग जापानको कुनै सम्बन्ध छैन। डेनमार्कसँगजस्तो भौगोलिक विवाद पनि छैन। जापानको व्यापार नाफा पनि जर्मनी वा भियतनामजति धेरै छैन। 

त्यसमाथि चीनको बढ्दो सैन्य शक्तिलाई रोक्ने सवालमा यी दुई देशको स्वार्थ पनि मिल्छ। जापानका लागि ट्रम्पसँग वार्ताको प्रमुख लक्ष्य सुरक्षा गठबन्धनमा वासिङ्टनको प्रतिबद्धता पुष्टि गराउनु थियो। ट्रम्पले त्यो वाचा गरे र संयुक्त वक्तव्यमा पनि अमेरिकाले जापानको रक्षाका लागि ‘अटल प्रतिबद्धता’ जनाएको उल्लेख छ।

जापानले रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने माग ट्रम्पले राख्ने अपेक्षा धेरैलाई थियो। त्यसविपरीत रक्षा क्षेत्रमा जीडीपीको १ प्रतिशत खर्चलाई बढाएर २०२७ सम्ममा २ प्रतिशत पुर्‍याउने जापानको प्रतिबद्धताको उनले प्रशंसा गरे। जबकि नेटो सदस्यहरूले रक्षामा ५ प्रतिशत खर्च गर्नुपर्ने ट्रम्पको माग छ।

‘के स्पष्ट छ भने जापानी पक्षले ट्रम्पको शैली र नीति अनुसार आफ्नो तरिका बदले,’ तोङ भन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad