युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफूहरु संलग्न नभई अमेरिका र रुसबीच मात्र भएको शान्ति सम्झौता नमान्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा वार्ता गरेका थिए। युद्ध अन्त्यका लागि तुरुन्तै वार्ता सुरु गर्ने सहमति भएको ट्रम्पले जानकारी दिएका छन्।
बिहीबार पनि ट्रम्पले सामाजिक सञ्जालमार्फत युक्रेन युद्ध अन्त्य हुने राम्रो सम्भावना देखिएको बताएका छन्।
तर, जेलेन्स्कीले भनेका छन्, ‘सबैथोक पुटिनको योजना अनुसार नजाओस् भन्ने कुरा महत्त्वपूर्ण छ। त्यसैकारण पुटिन वार्ता अमेरिकासँग द्विपक्षीय होस् भन्ने चाहन्छन्।’
युक्रेन युद्धमा अमेरिकाले अडान परिवर्तन गरेसँगै युरोप भने मूकदर्शक बनेको छ।
अमेरिकाकी रक्षामन्त्री पिट हेगसेथले बुधबार ब्रसेल्समा युरोपको सुरक्षा अब अमेरिकाको प्राथमिक चासो नभएको बताएका थिए। उनले युक्रेन २०१४ को सीमामा फर्किन कठिन रहेको, युक्रेनको नेटो सदस्यता सम्भव नरहेको र युक्रेनमा अमेरिकी सेना खटिने सम्भावना पनि नरहेको स्पष्ट पारेका थिए।
कतिपयले अमेरिकाले युक्रेनलाई धोका दिएको टिप्पणी गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया