इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजामा बन्धक बनाइएका चार जनाको शव बिहीबार इजरायली सेनालाई हस्तान्तरण गरिएको बताएको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले अब उनीहरूलाई औपचारिक पहिचानका लागि जाफास्थित अबु कबिर फोरेन्सिक इन्स्टिच्युटमा लैजाने प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिअनुसार मृतक बन्धकहरूको मृत्यु परीक्षणबाट पुष्टि भएपछि परिवारलाई जानकारी गराइनेछ।
यसअघि, हमासले विज्ञप्ति जारी गर्दै आज शव फिर्ता गरिँदै गरेका चार बन्धक इजरायली आक्रमणमा मारिएको दाबी दोहोर्याएको थियो।
जनवरी १९ देखि युद्धविराम भएयता हमासले मृत बन्धकहरू फिर्ता गरेको यो पहिलोपटक हो।
यसअघि हमासले ६ खेप गरेर जीवित २४ बन्धक रिहा गरेको थियो। सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।
तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। उनी जीवितै रहेको विश्वासमा सकुशल रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया