खेल


लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
फागुन ८, २०८१ बिहिबार १९:५४, काठमाडौँ

फरवार्ड सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो। 

लेबनानको लगातार दोस्रो हारले म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले नै हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको लेबनान दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको हो। आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको थियो।  जितसँगै अपराजित रहेका म्यानमार ६ अंकमा शीर्ष र समान अंक भएको नेपाल दोस्रो स्थानमा छ। 

नेपालले अब  लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध खेल्नेछ। सोही दिन लेबनान र किर्गिस्तान भिड्नेछन्। यी दुवै टोली सान्त्वना जितका लागि मैदान उत्रिनेछन्। 

बिहीबार खेलको ४२ औँ मिनेटमा नेपालका लागि साम्बाले गोल गरेकी हुन्। विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेबनानका खेलाडीले क्लियर गरेपनि त्यसकै रिवाउन्डमा साम्बाको प्रहार लेबनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो। 

त्यसपछि नेपालले खेलमा थप गोल गर्ने मौका पाए पनि सदुपयोग भने गर्न सकेन। खेलको इन्ज्युरी समयमा लेबनानकी ज्वाहा अरबीको प्रहार क्रसबारमा लाग्दै फर्कियो। खेलको ५६ औँ मिनेटमा प्रीति राईको फितलो प्रहार लेबनानकी गोलरक्षकको हातमा सहजै पुग्यो। 

५८ औँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको प्रहार क्रसबारको माथिबाट आकासियो। ७३ औँ मिनेटमा विमला चौधरीको कर्नरमा प्रिती राईको प्रहार आकासियो। 

त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाइन्। दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकासियो। तेहौँ मिनेटमा लाला स्कन्दरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

खेलको पन्धौँ मिनेटमा प्रीति राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो। २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार पनि सेकेण्ड बारको नजिकबाट बाहिरिएको थियो। 

निर्णायक गोल गरेकी साम्बा नै आजको खेलको उत्कृष्ट खेलाडी बनिन्। उनले २५ हजार रुपैयाँ नगद प्राप्त गरिन्। 

अब नेपाल र म्यानमारबिचको लिगचरणको अन्तिम खेल आइतबार तथा फाइनल खेल आगामी बुधबार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad