गत महिना डोनाल्ड ट्रम्पले शपथ लिएसँगै अमेरिकामा शान्तिपूर्ण सत्ता हस्तान्तरण भयो। केही बाधालाई छाड्ने हो भने दुई शताब्दीभन्दा लामो समयदेखि अमेरिकामा सत्ता शान्तिपूर्ण रूपमै हस्तान्तरण हुँदै आएको छ।
त्यसविपरीत चीनमा भने नेतृत्व परिवर्तनको विषयमा कुनै चर्चा हुँदैन। माओयताका सबैभन्दा शक्तिशाली नेता सी चिनफिङले आफ्नो उत्तराधिकारी को बन्ला भन्नेबारे कुनै संकेत दिएका छैनन्। एक दशकभन्दा बढी शक्ति केन्द्रीकरण गरेका सीको सत्तालाई चुनौती दिने कोही पनि छैन। उनले अनिश्चित कालसम्म सत्ता चलाउने संकेत दिएका छन्।
तथापि, राजनीतिक उत्तराधिकारको मुद्दा कहिल्यै सेलाउँदैन।
सी तेस्रो कार्यकालको मध्यविन्दुमा पुग्दै गर्दा उनको उत्तराधिकारी को होला भन्ने प्रश्न चीनभित्र र बाहिर अझ टड्कारो बनेको छ। २०१२ देखि कम्युनिस्ट पार्टीको नेतृत्व गरेका उनी ७१ वर्षका भए। सार्वजनिक रूपमा विरलै उल्लेख भए पनि यो यस्तो विषय हो, जसले चीनको भविष्यबारे गरिने हरेक चर्चामा सामेल छ।
क्रान्तिनायकका पुत्र र चुनौतीविहीन भए पनि सीले पार्टीमा नाजुक सन्तुलन कायम राख्नुपर्छ। व्यवस्थालाई स्थिर राख्न पनि उनले आफूलाई केही भइहालेमा उत्तराधिकारको प्रक्रिया स्वतः सुरु हुन्छ भनेर संकेत दिनैपर्ने हुन्छ।
‘उत्तराधिकार बिल्कुल अस्तित्वगत विषय हो। यो सीसहित हरेक चिनियाँ नेताले बेहोर्ने द्विविधा हो,’ चिनियाँ र रुसी राजनीतिका विज्ञ तथा सीका पिता सी चोङसुनको प्रकाशोन्मुख जीवनीका लेखक जोसेफ टोरिगियन भन्छन्, ‘नेता र तिनको विरासत सुरक्षित रहन्छ कि रहँदैन अनि पार्टीको सत्ता टिक्छ कि टिक्दैन भन्नेसँग उत्तराधिकारको प्रश्न सिधै जोडिन्छ।’
१ अक्टोबर १९४९ मा माओ चेतुङले जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गरेदेखिकै पार्टीको केन्द्रीय द्विविधा उत्तराधिकार भएको उनको भनाइ छ।
चीनको सम्भ्रान्त राजनीतिमा संसारका शीर्ष विद्वानमध्येमा पर्ने ली चेङ राष्ट्रपति सीले उत्तराधिकारीको तयारी गरिरहेको संकेत देखिने बताउँछन्। चौथो कार्यकाल सुरु गरेपछि सीले आफ्नो योजना स्पष्ट पार्ने उनको भनाइ छ।
‘मान्छेहरू भन्छन्, सी चिनफिङ ‘एसम्यान’हरूको घेरामा छन्। धेरै हदसम्म ठिकै हो,’ युनिभर्सिटी अफ हङकङस्थित सेन्टर अन कन्टेम्पोररी चाइना एन्ड द वर्ल्डका संस्थापक निर्देशक ली भन्छन्, ‘तर, हामीले के सम्झिनुपर्छ भने १३ वर्षअघि सी चिनफिङ आफैँ पनि ‘एसम्यान’ थिए।’
मुलुकको सबैभन्दा महत्त्वपूर्ण दुवै पद (कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुख) को नेतृत्व केबल पाँचजनाले गरेका छन्। ती हुन्, हुवा कुओफेङ, तङ स्याओपिङ, च्याङ चेमिन, हु चिन्ताओ र सी। सी सम्भावित चौथो कार्यकालतर्फ अघि बढ्दै जाँदा उत्तराधिकारको प्रश्न अझ टड्कारो हुने छ। २०२७ देखि २०३२ सम्मको चौथो कार्यकाल पूरा गर्दा उनी ७९ वर्षका हुने छन्।
सीका सम्भावित उत्तराधिकारीका बारेमा सार्वजनिक रूपमा कुनै संकेत पाइँदैन। सीनिकट व्यक्तिहरूसम्मको पहुँच झनझन् कम हुँदै गएको छ। यस्तो अवस्थामा नेतृत्वको विश्लेषण सात सदस्यीय स्थायी समितिको अवस्था र सीको बढुवाको इतिहासको आधारमा हुने गरेको छ। विद्वानहरू सीसँग को यात्रा गरिरहेको छ, उनको निकट को छ भनेर खुट्याउन फोटो, भिडिओ, भाषण र पार्टीका दस्ताबेजहरू नियाल्ने गर्छन्।
उनीहरू पार्टीका वैधानिक कागजात र इतिहासका उदाहरण पनि हेर्छन् र सीले अचानक पद छाड्नुपर्यो भने उनीनिकट कुन चाहिँ वरिष्ठ नेता सबैभन्दा प्रभावशाली हुन्छन् भनेर पनि अड्कल काट्छन्।
यी सबै कुराले भविष्यका सम्भावित नेतातर्फ संकेत गर्छ। प्रविधिमा श्रेष्ठता र आत्मनिर्भरताजस्ता सीको रणनीतिक लक्ष्य प्राप्तिमा योगदान गरेका र अहिले ५०–६० वर्ष हाराहारीका नेता अब उनको उत्तराधिकारी बन्ने धेरैको आकलन छ।
बेइजिङका एक कूटनीतिज्ञले सी अनिश्चित कालसम्म पदमा रहने योजनामा रहेको र मुलुकलाई कठिन अवस्थाका लागि तयार पारिरहेको बताए।
‘किङमेकर’ काइ, पीएलएको सहयोग अनिवार्य
सी युगको एउटा विशेषता के हो भने उनले आफ्ना प्रतिद्वन्द्वी र तिनको गुटलाई समाप्त पारिदिए। वर्तमान स्थायी समितिका कोही पनि सीको उत्तराधिकारीका दाबेदार मानिँदैनन्। अनिवार्य अवकाशको उमेर हेर्दा यीमध्ये अधिकांश २०२७ को पार्टी अधिवेशनमा निवृत्त हुने छन्।
सीअघि राष्ट्रपति र शक्तिशाली प्रधानमन्त्रीबीच शक्तिको साझेदारी हुने गर्थ्यो। हु चिन्ताओले वेन जियाबाओको साथमा शासन गरेका थिए भने त्यसअघि चियाङ चेमिनले झु रोङ्जीको साथमा। तर, सीले दुई लाइन अर्थात् सामूहिक नेतृत्वलाई छाडेका छन्। अर्थात्, उनका स्पष्ट उपप्रमुख कोही पनि छैनन्।
तर, सीले अचानक पद छाड्नुपर्ने स्थिति आए स्थायी समितिका वर्तमान सदस्यहरू उत्तराधिकारी छनोटको सवालमा निर्णायक बन्ने छन्।
‘त्यसो भयो भने हामीले स्टालिनको मृत्युपछि सोभियत संघमा जे भयो, त्यस्तै स्थिति देख्न सक्छौँ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरस्थित इस्ट एसियन इन्स्टिच्युटका भिजिटिङ प्रोफेसर फ्र्यांक पिका भन्छन्।

नयाँ नेता छान्नमा अहिलेका स्थायी समिति सदस्य रहेका काइ छी ‘किङमेकर’ बन्न सक्ने पिकासहितका विश्लेषकहरूको विश्वास छ।
६९ वर्षीय काइ बेइजिङका पूर्व पार्टी प्रमुख हुन्। उनी पार्टीको अहिलेको पाँचौँ वरीयतामा छन्। उनी सीको सबैभन्दा निकट सहयोगी मानिन्छन् र केन्द्रीय कार्यालयका निर्देशक अर्थात् सीका चिफ अफ स्टाफ पनि हुन्। माओको पालादेखि सो पद ओगट्ने काइ सबैभन्दा वरिष्ठ हुन्।
सरकारी सञ्चारमाध्यमहरूमा उनी सीसँग यात्रा गरिरहेको र उनीसँगै बैठकहरूमा सहभागी भएको उल्लेख गरिन्छ। यसले उनको महत्त्व दर्शाउँछ।
‘मान्छेहरू उनीसँग डराउँछन्। सीको उत्तराधिकारी बन्न चाहने कुनै पनि नेताले पहिले काइसँग सम्झौता गर्न आवश्यक हुन्छ,’ पिका भन्छन्।
एसिया सोसाइटीका निल थोमस उत्तराधिकारीले ३७६ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पोलिट्ब्युरोमा बहुमत जुटाए पुग्ने बताउँछन्। तर, यस्तो अवस्था अत्यन्त चर्को प्रतिस्पर्धा भए मात्र उत्पन्न हुने उनको भनाइ छ। अन्याथा जुनसुकै नेताले पनि आफ्नो पकड र पार्टीको छवि बचाउन सर्वसम्मति खोज्ने उनले बताए।

अचानक नेता बदल्नुपर्ने स्थिति आएमा जनमुक्ति सेना पनि महत्त्वपूर्ण बन्न सक्ने कतिपयको भनाइ छ। त्यसबेला केन्द्रीय सैन्य आयोगमा सीका उपप्रमुख रहेका झाङ युसिया महत्त्वपूर्ण हस्ती बन्न सक्ने छन्। झाङ र सीका पिता क्रान्तिको समयमा सहकर्मी थिए। त्यसैले ७४ वर्षीय झाङ सीका विश्वासपात्र मानिन्छन्।
‘बन्दुक पार्टीको इसारामा चल्छ। तर, कुनै पनि उत्तराधिकारीले जनमुक्ति सेनाको नेतृत्वको समर्थन नभए पनि स्वीकारोक्ति चाहिँ प्राप्त गर्नुपर्ने हुृन्छ,’ थोमस भन्छन्।
यी हुन् दाबेदार
२०२२ को अन्त्यमा पोलिट्ब्युरोमा रहेका ६८ पार गरेका सबै नेतालाई अवकाश लिन लगाइयो। तीनजना भने यसको अपवाद रहे– झाङ, पुराना कूटनीतिज्ञ वाङ यी र सी आफैँ।
चीनको आगामी नेता को बन्ला भनेर भविष्यवाणी गर्ने कोसिस गरिरहेका विद्वान तथा कूटनीतिज्ञहरूको नजर भने पार्टी पदाधिकारीको युवा पुस्तामा छ। जो ५० माथि र ६० को छेउछाउ छन्।
१९९० को दशकयता पहिलोपटक पोलिट्ब्युरोमा कुनै महिला छैनन्। स्थायी समितिमा त अहिलेसम्म महिला पुगेकै छैनन्। स्थानीय राजनीतिमा महिलाहरूको सहभागिता कम हुनाले बढुवा भएर शीर्षमा पुग्ने सम्भावना घट्ने विज्ञहरूको भनाइ छ।
सत्तामा पुग्ने एउटै बाटो बढुवा हो। चिनियाँ सहर र प्रान्तहरूको नेतृत्व गर्दै नेताहरू सरकार र पार्टीको उच्च भूमिकामा पुग्छन्।


सीका उत्तराधिकारीका उम्मेदवारमा बेइजिङका पार्टी प्रमुख ६२ वर्षीय यिन ली अनि अहिले चीनको कानुन प्रणाली हेरिरहेका ६५ वर्षीय चेन वेनछिङ पर्छन्।
यिन र चेनले सीसँग वर्षौं काम गरेका छन् र सरकारी सञ्चारमाध्यममा उनीहरूको नाम बारम्बार आइरहन्छ। उनीहरूलाई विदेशी नेताहरूसँग पनि भेट्ने अनुमति छ। यो भविष्यमा सीले उनीहरूलाई बढुवा गर्नसक्ने उल्लेखनीय संकेत हो।
फुजियानसँग सम्बन्ध भएका सीका वफादार नेता यिनै दुईजना हुन्। फुजियानमा सीले आफ्नो करिअरको ठूलो हिस्सा बिताएका थिए।
विश्लेषकहरूका अनुसार त्यस्ता उदाउँदा नेताहरूको सम्भावना उच्च छ, जसले सीको नीतिगत प्राथमिकता पूरा गरेका छन्। यतिबेला सीको प्राथमिकता प्रविधिमा चीनको स्वतन्त्रता सुनिशिचत गर्नु, पश्चिमसँग प्रतिस्पर्धा गर्ने सैन्य क्षमता विकास गर्नु र चीनको स्थानीय सरकारको विशाल ऋण व्यवस्थापन गर्नु हो।
चीनका पूर्वप्रधानमन्त्री चाओ चियाङका सल्लाहकारका रूपमा काम गरिसकेका र अहिले एसिया सोसाइटीमा रहेका वु कुओकाङ सीले प्रविधि, वित्त र रक्षा क्षेत्रमा विज्ञता भएकालाई नेतृत्वदायी भूमिकामा नियुक्त गर्ने गरेको बताउँछन्।
चीनभरको कुरा गर्दा अहिले प्रविधि र विज्ञानमा गहिरो पृष्ठभूमि भएका २० भन्दा बढी प्रान्तीय उपगभर्नर छन्। जसमा आनहुइ प्रान्तका डेपुटी गभर्नर चाङ होङवेन, सांघाईका पार्टी प्रमुख चेन जिनिङ र बेइजिङका मेयर यिन योङ समेत पर्छन्।
उत्तराधिकार हस्तान्तरण हुने अवस्थामा चाङजस्ता नेता महत्त्वपूर्ण हुने वुको भनाइ छ। चाङ १९७५ मा जन्मिएका हुन्।
‘१९७० को दशकमा जन्मिएकाहरू आउँदो १० वर्षमा हुने नेतृत्व परिवर्तनका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्छन्,’ उनी भन्छन्।
सीले उत्तराधिकारको सवालमा पार्टी र आफ्नो विरासतको सुरक्षाबीच सन्तुलन मिलाउन चाहने सेर्सिअस ग्रूपका प्रमुख कार्यकारी एलेक्स पायटको भनाइ छ।
‘माओको मृत्युलगत्तै आपसमा खुबै मिलेको देखाउनेहरू तुरुन्तै एकअर्काविरुद्ध खनिएका थिए,’ पायट भन्छन्।
कठिन काम
उत्तराधिकारको सवाल यति महत्त्वपूर्ण भए पनि सीले यसबारे विरलै मुख खोलेका छन्।
२०२२ को फेब्रुअरीमा सीले २०१४ मै गरेको टिप्पणी दोहोर्याए, ‘देशको राजनीतिक प्रणाली लोकतान्त्रिक र प्रभावकारी छ कि छैन भनेर मूल्यांकन गर्ने मुख्य मापदण्ड भनेको यसको नेतृत्व व्यवस्थित र वैध तरिकाले परिवर्तन गर्न सकिन्छ कि सकिँदैन भन्ने नै हो।’
तर, इतिहासमा पार्टीको नेतृत्व हात पार्ने संघर्षका क्रममा चल्ने दाउपेचबारे सीभन्दा ज्यादा जानकार व्यक्ति अरु कोही छैन।
उनका पिता सी चोङसुन १९५० को दशकमा चाउ एनलाइका नीतिहरूको प्रमुख कार्यान्वयनकर्ता मानिन्थे। तीन दशकपछि पनि उनी तेङका प्रमुख सल्लाहकार हु याओपाङका लागि उही काम गरिरहेका थिए।
केही बाहिरी विश्लेषकहरू तेङको युग सीका लागि अनुसरणयोग्य नमुना बन्ने बताउँछन्। १९८० र १९९० को दशकमा भएका चीनको आर्थिक सुधार र सांस्कृतिक उदारताका कारण।
तर, यो पार्टीमा भद्रगोलको अवधि पनि थियो। तेङको नेतृत्वमा पार्टीले ‘आध्यात्मिक प्रदूषण अन्त्य गर्ने’ र ‘बुर्जुवा उदारीकरण समाप्त’ गर्ने अभियान नै चलायो। पार्टीले विद्यार्थी र श्रमिक प्रदर्शन पनि सामना गर्नुपर्यो, जसका कारण १९८९ मा तियानमेन घटना भयो।
उत्तराधिकारीलाई निकै छिटो सत्ता हस्तान्तरण गर्दा अथवा तेङ र माओले झैँ अन्तिम क्षणसम्म सत्ता आफैँसँग राख्दा– यी दुवै बाटोको जोखिम सीलाई आफ्नै पिताले भोगाइका कारण राम्ररी थाहा छ।
‘उत्तराधिकारीको सवाललाई लिएर सी सायद निकै चिन्तित होलान्,’ टोरिगियन भन्छन्, ‘किनकि, आफूपछि सत्तामा आउने नेताले के गर्छ भन्ने कुरा अनुमान गर्न कठिन छ।’
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया