ग्लोबल


ट्रम्पको डन शैलीले अमेरिकालाई नै बनाउनेछ कमजोर र गरिब

ट्रम्पको डन शैलीले अमेरिकालाई नै बनाउनेछ कमजोर र गरिब

नेपालखबर
फागुन १७, २०८१ शनिबार २१:३५,

सन् १९४५ पछि बनेको विश्व व्यवस्था भत्किने क्रम तीव्र हुँदै छ। राष्ट्र संघमा यसैसाता असाधारण दृश्य देखियो। अमेरिका युक्रेन र युरोपको विरुद्ध रुस र उत्तर कोरियाको पक्षमा उभियो। जर्मनीमा चुनाव जितेर चान्सलर बन्न लागेका फ्रेडरिक मर्जले जुन महिनासम्ममा नेटो नरहने चेतावनी दिएका छन्। तीव्र गतिमा एउटा यस्तो विश्व निर्माण हुँदै छ, जहाँ जसको शक्ति, उसको भक्ति चल्छ। शक्तिशाली मुलुकहरूबीच सम्झौता हुन्छ र साना मुलुकहरूलाई पेलिन्छ। 

सम्झौतामार्फत शान्ति ल्याउने ट्रम्प–टिमको दाबी छ। ८० वर्ष सित्तैँमा भारी बोकेपछि अब अमेरिकाले आफ्नो महाशक्तिको हैसियतको लाभ उठाउने उनीहरूको भनाइ छ। तर, यसले संसारलाई अझ खतरनाक बनाउने छ भने अमेरिकालाई झन् कमजोर र गरिब।
 
तपाईंलाई विश्व व्यवस्थामा कुनै चासो नहुन सक्छ, तथापि यसले तपाईंलाई प्रभावित पार्छ। अमेरिकाले युक्रेनमा डन कर्लिओनी (द गडफादरको प्रमुख पात्र) शैली देखायो। सुरुमा युक्रेनबाट ५०० अर्ब डलर मागेका अमेरिकी अधिकारीहरूले पछि युक्रेनी खनिज उत्खनन् संयुक्त रूपमा गर्ने एउटा अस्पष्ट सौदा गरे। बदलामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने पनि निश्चित छैन।

ट्रम्प प्रशासन अनेक विचार र अहंकारको भूमरी हो। तर, एउटा कुरामा सबै सहमत छन्– १९४५ पछिको व्यवस्थामा अमेरिकालाई बहकाएर व्यापारमा घाटा बेहोर्न र वैदेशिक युद्धमा खर्च गर्न लगाइयो। 

ट्रम्पलाई लाग्छ, उनी लेनदेनका माध्यमबाट राष्ट्रिय हित अझ राम्ररी प्रवद्र्धन गर्न सक्छन्। सबथोक हड्प्न पाइन्छ– भूमि, प्रविधि, खनिज र अरु थुप्रै कुरा। ‘मेरो सारा जीवन भनेकै सौदा हो,’ फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको वार्तापछि फेब्रुअरी २४ मा उनले भने। साउदी अरबलाई फकाएर इजरायललाई मान्यता दिन लगाउनेदेखि लिएर रुसलाई संवादमा ल्याउनेसम्मका लक्ष्य पूरा गर्न ट्रम्पका विश्वासपात्रहरू विभिन्न मुलुकका राजधानी धाइरहेका छन्।

यो नयाँ व्यवस्थाको श्रेणी पनि नयैँ छ। एक नम्बरमा अमेरिका छ। त्यसपछि आउँछन् ती देश, जुन देशमा बेच्नका लागि पर्याप्त स्रोतसाधन छ, अरु देशलाई धम्क्याउने शक्ति छ र नेताहरू लोकतन्त्रबाट बाँधिएका छैनन्। भ्लादिमिर पुटिन रुसलाई महान् साम्राज्यवादी शक्तिका रूपमा पुनर्स्थापित गर्न चाहन्छन्। मुहम्मद बिन सलमान मध्यपूर्वको आधुनिकीकरण गर्न र इरानबाट जोगिन चाहन्छन्। सी चिनफिङ प्रतिबद्ध कम्युनिस्ट र राष्ट्रवादी दुवै हुन्, जो बलियो चीनका लागि उपयुक्त विश्व चाहन्छन्। यो श्रेणीको तेस्रो स्थानमा अमेरिकाका सहयोगीहरू पर्छन्। तिनको निर्भरता र वफादारीलाई शोषण गर्न मिल्ने कमजोरी ठानिन्छ।

१९४५ पछिको नियम भत्काउँदै देशको भूगोल खोस्ने विषयमा चर्चा हुन थालेको छ। युक्रेनको सीमा सायद ट्रम्प र पुटिनले हात मिलाएर तय गर्न सक्छन्। १७ महिनाको युद्धले इजरायल, लेबनान र सिरियाको सीमा मेटिदिएको छ। केही बाहिरी शक्तिहरू यसप्रति उदासीन छन्। तर, ट्रम्पले भने गाजा र ग्रिनल्यान्डमा आँखा गाडे। चीनसँगको कुनै पनि वार्तामा सीले पनि भूमि हात पार्ने कोसिस गर्न सक्छन्। उदाहरणका लागि ताइवान, दक्षिण चीन सागर वा हिमालयमा सहुलियत पाए निर्यात नियन्त्रण गरिदिने प्रस्ताव अघि सार्न सक्छन्।

आर्थिक सौदाबाजी भन्सार महसुलबाट निकै अघि बढेर राज्यको शक्ति र व्यवसायबीचको मिश्रणसम्म पुगिसकेको छ। यसले व्यापार तटस्थ नियमअनुसार हुनुपर्छ भन्ने नियम उल्टिएको संकेत गर्छ। अमेरिकाले रुस, साउदी अरब, ताइवानी नेता तथा युक्रेनसँगको द्विपक्षीय वार्तामा तेल उत्पादन, निर्माणको ठेक्का, नाकाबन्दी, इन्टेल कर्पोरेसनको कारखाना, इलोन मस्कको स्टारलिंक स्याटलाइन सेवाको प्रयोग र मरुभूमिमा गल्फ प्रतियोगितासम्मको चर्चा गर्छ।

यी नयाँ सौदागरहरू आफ्नो शैलीबाट संसारलाई फाइदा हुने दाबी गर्छन्। यो अमेरिकाको पनि हितमा भएको ट्रम्पको तर्क छ। के उनीहरूको कुरा सही हो त? १९४५ पछिको विश्व व्यवस्था बिग्रेकै हो, यसमा ट्रम्प र ‘ग्लोबल साउथ’का नेताहरू सही छन्। जब कूटनीति अलमलिन्छ, गैरपरम्परागत तरिकाले काम गर्न सक्छ। उदाहरणका रूपमा इजरायल अरब मुलुकबीच भएको अब्राहम सम्झौतालाई लिन सकिन्छ। तथापि, सौदाबाजीलाई एउटा सिद्धान्तका रूपमा उपयोग गर्नु निकै ठूलो छलाङ हो। यसबाट उत्पन्न हुने जटिलता निकै भारी पर्न सक्छ।

उदाहरणका लागि, साउदी अरब इरानलाई रोक्न अमेरिकासँग रक्षा सम्झौता गर्न चाहन्छ। साउदीले इजरायललाई मान्यता दिने हो भने अमेरिकाले साउदीको त्यो इच्छा पूरा गरिदिन सक्छ। तर, त्यसका लागि इजरायल र प्यालेस्टिनीहरूले दुई राज्यको अस्तित्वलाई स्वीकार गर्नुपर्छ। जबकि त्यसलाई ट्रम्पले गाजा कब्जा गर्ने योजनामार्फत् खारेज गरिसकेका छन्। रुस आफ्नो तेलमाथिको प्रतिबन्ध हटाउन चाहन्छ। तर, त्यसो गर्दा साउदी अरबको आम्दानी कटौती हुन्छ र भारतको बिल पनि बढ्छ। यस्ता अप्ठेरा थुप्रै छन्।

अर्कोतिर, जब सीमामा विवाद गरिन्छ, तब युद्ध हुन्छ। भारतजस्तो विशाल देशले पनि असुरक्षित महसुस गर्न सक्छ। ट्रम्प शक्ति अमेरिकी संस्थाहरूबाट सिर्जित नभई आफ्नो व्यक्तिगत सम्पत्ति ठान्छन्। त्यसैले आफ्ना समकक्षीहरूलाई सम्झौता लामो समय टिक्छ भनेर विश्वास दिलाउन उनलाई कठिन पर्न सक्छ। किनकि उनी हेनरी किसिन्जर होइनन्।

त्यसकारणले संसारलाई नोक्सान हुने छ। नोक्सान अमेरिकालाई पनि हुने छ, तर ट्रम्पलाई यो कुरा थाहा छैन। अमेरिकाको विश्वव्यापी भूमिकाले बढेको सैन्य बोझ र खुला व्यापारले उसका केही उद्योगलाई घाटा भएको छ। तथापि यसबाट अमेरिकाले ज्यादा लाभ लिँदै आएको छ। व्यापारले उपभोक्ता र आयातमा आधारित उद्योगलाई फाइदा गर्छ। डलरमा आधारित वित्तीय प्रणाली हुनाले अमेरिकाको ब्याजमा खर्च हुने वार्षिक १०० अर्ब डलरभन्दा बढी रकम बचत हुन्छ भने घाटाको बजेट चलाउन पनि अमेरिका सक्षम छ।

अमेरिकी कम्पनीहरूको १६ ट्रिलियन डलरको वैदेशिक व्यापार छ। ती कम्पनीहरू विदेशमा फस्टाइरहेका छन् किनकि व्यापारवाणिज्य निश्चित र निष्पक्ष नियममा आधारित छन्। घुस, पक्षपात चल्ने हो भने त चिनियाँ र रुसी कम्पनीहरूले राम्रो गर्ने थिए।

ट्रम्पलाई विश्वास छ, अमेरिकाले युरोपलाई आंशिक वा पूर्णरूपमा छाड्न सक्छ। सायद आफ्ना एसियाली सहयोगीहरूलाई पनि। अमेरिकालाई युरोपबाट ‘सुन्दर महासागरले छुट्याएको’ उनको भनाइ छ। तर, युद्ध अहिले अन्तरिक्ष र साइबरस्पेसम्म पुगिसकेको छ। त्यसकारण भौगोलिक दूरीले १९४१ मा जति सुरक्षा प्रदान गर्दैन। त्यतिबेला जापानले पर्ल हार्बरमा आक्रमण गरेपछि अमेरिकाको अलग्गै बस्ने निर्णय बदलिएको थियो। 

यसभन्दा पनि महत्त्वपूर्ण कुरा अमेरिका आफ्नो सैन्य शक्ति देखाउन र आफ्नो देशको रक्षाका लागि पनि सहयोगी मुलुकहरूमा निर्भर छ। जर्मनीको राम्स्टाइन हवाई अखडादेखि लिएर अस्ट्रेलियाको पाइन ग्याप सिग्नल स्टेसन अनि क्यानडाको आर्कटिक क्षेप्यास्त्र निगरानी केन्द्रसम्म। ट्रम्पको दुनियाँमा अमेरिकाले यी ठाउँमा सित्तैँमा पहुँच प्राप्त गर्न सक्दैन।

अमेरिकाले सौदाबाजीबाट जे चाह्यो त्यही प्राप्त गर्न सक्ने यसका पक्षधरहरूको मान्यता छ। तर, ट्रम्पले दशकौँ पुरानो निर्भरताको फाइदा उठाउन थालेपछि अमेरिकी पकड तीव्र गतिमा फुत्किन थाल्ने छ। धोका खाएको महसुस गरेर युरोप र अन्यत्रका सहयोगीहरू सुरक्षाका लागि एकअर्काको सहयोग लिन थाल्ने छन्। 

यदि अराजकता फैलियो भने अमेरिकाले नयाँ खतराको सामना गर्नुपर्ने हुन्छ, त्यो पनि कम स्रोतका भरमा। अमेरिकी गठबन्धन कमजोर भएको र हतियार नियन्त्रण प्रणाली पनि कमजोर भएको अवस्थामा एसियामा आणविक हतियारको प्रतिस्पर्धा सुरु भयो भने के होला? 

खतरनाक समयमा तुरुन्तमा कमाइने पैसाभन्दा मित्र, विश्वसनीयता र नियम ज्यादा काम लाग्छ। अमेरिकी संसद्, वित्त बजार वा मतदाताले ट्रम्पलाई पछि हट्न बाध्य बनाउन सक्छन्। तर, संसारले यसअघि नै अराजक युगका लागि योजना बुन्न थालिसकेको छ। 

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad