कला


कुल ब्वय र पदम भन्छन् : हामीलाई स्टार बन्नु छैन (भिडिओ)


अनिल यादव
फागुन १६ , काठमाडौँ

टिकटक, फेसबुक या युट्युब। तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ भने धनगढीका ‘कुल ब्वय’ र सिक्किमका पदम तामाङलाई पक्कै चिन्नुभएकै होला!

सामाजिक सञ्जालमार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएका यी दुई चर्चित अनुहारलाई यतिबेला अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ। अनमोल केसीलाई जन्माएको, स्वस्तिमा खड्का, नाजिर हुसेनजस्ता कलाकारलाई चम्काएको फिल्म ‘होस्टेल’को तेस्रो संस्करणमार्फत उनीहरू फिल्ममा डेब्यु हुँदैछन्।

यी चर्चित अनुहारले डेब्यु गरेको यो फिल्मको ट्रेलर यतिबेला एक दर्जनभन्दा बढी देशमा ट्रेन्डिङमा छ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनएजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित भनिएको यो फिल्ममार्फत फेरि नयाँ स्टार जन्मिन लागेका हुन्? फिल्मवृत्तमा यो प्रश्न यतिबेला चर्चामा छ।

तर, कुल ब्वय अर्थात् पारस बम ठकुरी र पदम दुवैलाई स्टार हुने रहर छैन। 

‘मलाई स्टार होइन, सफल कलाकार भइयोस् भन्ने लाग्छ,’ नेपालखबरको सेलेब्रिटी सो ‘लेट्स टक’ मा आइपुगेका कुल ब्वयले भने, ‘स्टार फरक कुरा हो। मलाई त राम्रो एक्टरका रुपमा चिनिन सकियोस् भन्ने लाग्छ।’

पदम पनि स्टार नामको पछि दौडिन चाहँदैनन्। 

‘मैले यहाँसम्म पुग्छु भनेर सोचेको पनि थिइनँ, यहाँदेखि कहाँ पुग्छु भन्ने पनि थाहा छैन,’ पदम भन्छन्, ‘स्टार हुन्छु भन्ने सोच छैन। पब्लिकलाई मनोरञ्जन दिलाउन पाऊँ। उहाँहरूले जे ट्याग दिनुहुन्छ, त्यसलाई स्वीकार गर्ने हो। स्टार बन्ने भनेर सोच्न थाल्यो भने भोलि नहुँदा चित्त दुख्न सक्छ।’

२२ वर्षीय कुल ब्वयका अनुसार उनी तत्काल नै फिल्म गर्ने मुडमा थिएनन्। फिल्मका लागि आएका प्रस्ताव पनि अस्वीकार गरिरहेका थिए। आफूलाई होस्टेल ३ मा अभिनय गराउनका लागि यो फिल्मका निर्माताहरूले डेढ वर्ष कुरेको उनले खुलाएका छन्।  

‘मलाई वाचमा राख्नुभएको रहेछ सरहरूले, त्यही भएर अफर गर्नुभयो,’ उनले भने, ‘म म्युजिक भिडिओसम्म नगरी बसिरहेको थिएँ। अरु फिल्मको अफर आउँदा पनि गर्ने आँट आएको थिएन। परिपक्व भइसकेको फिल भएको थिएन। तर होस्टेल ३ को निर्माताले डेढ वर्ष कुर्नुभयो। यो क्यारेक्टरका लागि तिमी नै चाहिन्छ भनेर कुर्नुभयो। त्यसपछि लौ न त गरौँ भनेर गरेको हो। ट्रेलरको प्रतिक्रियाले उत्साहित छौँ।’

सिक्किममा मजदुरी गरिरहेका पदम युट्युबमा श्रीमतीसँग कमेडी भिडिओ बनाएर चर्चामा आए। उनको कन्टेन्टमा दर्शकहरूले मौलिक स्वाद भेटे। युट्युबकै कारण आफूले घर, गाडी जोड्न सफल भएको उनी बताउँछन्। तैपनि उनी फिल्म खेल्ने मुडमा थिएनन्। 

श्रीमतीको प्रोत्साहनका कारण आफू फिल्म खेल्न तयार भएको उनले बताए। 

‘भिडिओ बनाएर खानलाउन पुगिरहेको थियो,’ उनले भने, ‘सिक्किममै हुँदा नेपालबाट फिल्मको अफर लिएर भेट्न आउनुभयो। श्रीमतीले पनि अब कलाकार भनेर चिनिन फिल्म गर्नुपर्छ भन्नुभयो। म त पब्लिक वर्कर हो। पब्लिकको माया पाएकै कारण यहाँसम्म आएँ। त्यसैले उहाँहरूलाई मनोरञ्जन दिलाउन फिल्म खेल्न तयार भएँ।’

‘लेट्स टक’ को पाँचौँ शृंखलामा कुल ब्वयले आफ्नो जीन्दगीका अनेक पाटा खुलाएका छन्। कहिले हँसाएका छन्, कहिले रुवाएका। कोभिडले बुबालाई खोसेको क्षण सम्झेर उनी रोएका छन्। आफ्नो सफलतामा आमाको अनुपस्थिति महसुस गर्दै पदम उस्तै भावुक भएका छन्। 

फागुन १६, २०८१ शुक्रबार २१:४७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad