भारतको दक्षिणी राज्य कर्नाटकको कोप्पल जिल्लामा इजरायली पर्यटकसहित दुई महिलालाई बलात्कार गरिएको छ भने उनीहरूलाई बचाउन खोज्ने एक पुरुषको हत्या भएको छ।
बीबीसी हिन्दीका अनुसार ओडिशाका २६ वर्षीय बिभाषको हत्या गरिएको हो। उनको शव तुङ्गा भद्राको पानीमा भेटिएको थियो।
प्रहरीका अनुसार २७ वर्षीया इजरायली महिला पर्यटक र २९ वर्षीया केरलाकी एक महिलालाई तीन पुरुषले बलात्कार गरेका हुन्।
यसपछि उनीहरूले बिभाषसहित अमेरिकाका डेनियल र महाराष्ट्रका पंकज पाटिललाई नहरमा फालेका थिए।
कोप्पलका एसपी राम एल अरसिद्दीले भने, ‘हामीले बिभाषको शव बरामद गरेका छौँ।’
स्थानीय समयअनुसार घटना मार्च ६ (बिहीबार) राति ११ देखि ११:३० बजेको बीचमा हम्पी नजिकैको सानापुर तालको किनारमा भएको हो। ती २ महिला र तीन पुरुष (अमेरिका, ओडिशा र महाराष्ट्रका) गरी पाँच जना हम्पीनजिकैको सानापुरमा रहेको दुर्गाम्मा मन्दिरको दर्शन गर्न गएका बेला उक्त घटना भएको हो।
बीबीसी हिन्दीका अनुसार बलात्कृत दुई महिलामा इजरायली पर्यटक र केरलाकी होमस्टे सञ्चालक हुन्।
जाहेरीकर्ता केरलाकी महिलाका अनुसार सुरुमा तीन जना पुरुष मोटरसाइकलमा आएर पेट्रोल कहाँ पाइन्छ भनेर सोधे। होमस्टेका कर्मचारीले बाटो देखाउँदा ती जनामध्ये एकजनाले पर्यटकसँग १०० रुपैयाँ मागे। अस्वीकार गरेपछि झगडा सुरु गरे।
जाहेरीमा राखिएको छ, ‘उनीहरूले डेनियल, पंकज र बिभाषलाई नहरमा धकेले। तेस्रो अभियुक्तले मलाई ढुंगाले हान्यो, मेरो शरीरबाट रगत बग्न थाल्यो। दुई जनाले मलाई जबर्जस्ती नहरको किनारमा तानेर लगे र लुगा च्याते। अर्को अभियुक्तले इजरायली पर्यटकलाई घिसारेर लगी बलात्कार गरे।’
जाहेरीकर्ता महिलाले अभियुक्तहरूले कन्नड र तेलुगु भाषा बोलेको उल्लेख गरेकी छन्।
यसैबीच घटनामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
कोप्पल जिल्लाका एसपी राम एल अरसिद्दीले भने, ‘पक्राउ परेका दुवै जना भवन निर्माणमा काम गर्ने मिस्त्री हुन्। घटनाका तेस्रो व्यक्तिको खोजी भइरहेको छ। उनी पनि मिस्त्री नै हुन्।’
Shares

प्रतिक्रिया