भारतको उत्तर प्रदेशस्थित मेरठमा विवाहेतर सम्बन्धका कारण एउटा दर्दनाक घटना भएको छ।
मेरठकी मुस्कानले सौरभलाई प्रेम गरिन्, उनैसँग विवाह गरिन् तर त्यसपछि त्यही प्रेमको घाँटी निमोठ्ने षड्यन्त्र रचिन्। घरभित्र चक्कु प्रहार गरियो, रगत बगाइयो, अनि शवलाई टुक्राटुक्रा पारेर ड्रममा राखियो र त्यसपछि कसैलाई शंका नहोस् भनेर सिमेन्ट खन्याइयो। घरमा ताला मारेर मुस्कानले छिमेकीलाई आफू श्रीमान्सँग घुम्न जाँदै गरेको बताइन्। तर अपराधको रहस्य धेरै दिन लुक्न सकेन। प्रहरी अनुसन्धानले जब डरलाग्दो रहस्य बाहिर आयो, तबर सम्पूर्ण मेरठलाई हल्लायो।
यसरी सुरु भएको थियो यो प्रेम कथा
सौरभ र मुस्कानको भेट सन् २०१५ मा भएको थियो। उनीहरू प्रेममा परे र २०१६ मा विवाह गरे। दुवै हाँसीखुसी थिए। एउटी छोरी जन्मिइन्। जो अहिले २ कक्षामा पढ्दै छिन्।
सौरभ मर्चेन्ट नेवीमा अफिसर थिए र लामो समयदेखि जागिरमै रहेका कारण मुस्कान आफ्नी छोरीसँग मेरठमा भाडाको घरमा एक्लै बस्थिन्। यहीबीच सन् २०१९ मा मुस्कानको जीवनमा एकाएक साहिल नामका युवकको प्रवेश भयो।
सुरुमा यी दुईबीच मित्रता मात्र थियो तर यो मित्रता बिस्तारै खतरनाक प्रेममा परिणत भयो। साहिल अब मुस्कानको जीवनको एक हिस्सा बनिसकेका थिए र सौरभको अनुपस्थितिमा घरको पनि।
फेब्रुअरी २५ मा मुस्कानको जन्मदिन थियो। उनले यसलाई विशेष बनाउने तयारी गरिरहेकी थिइन्, तर यसपटक अर्को कुरा निश्चित थियो- सौरभको हत्या। सौरभ लन्डनबाट मेरठ फर्केका थिए, तर उनलाई थाहा थिएन, यो उनको अन्तिम यात्रा हुनेछ। मुस्कान र साहिलले मिलेर यो डरलाग्दो षड्यन्त्र गर्ने योजना बनाएका थिए।
मार्च ४ तारिख राति सौरभ घरमा सुत्नेबित्तिकै मुस्कानले संकेत दिएपछि साहिलले चक्कुले हाने। सौरभले आफ्नो सारा बल लगाएर उनलाई लडाउने कोसिस गरे तर मायामा अन्धो बनेकी मुस्कानले आफ्ना पतिलाई बचाउने कुनै प्रयास गरिनन्। आफ्नै श्रीमती र उनका प्रेमी आफ्नो जीवनको शत्रु बनेको अवस्थामा सौरभ असहाय बनेर हेरिरहेका थिए। केही मिनेटमै सौरभको सास गयो।
घरमा लगाइन् ताला
मुस्कानले आसपास आफू र सौरभ घुम्न हिमाचल जान लागेको भनेर अफवाह फैलाइन्। अनि कसैलाई शंका नहोस् भनेर घरमा ताला लगाइन्। यसपछि साहिल र मुस्कानले मिलेर प्लास्टिकको ड्रम किने र सौरभको शव टुक्राटुक्रा पारेर त्यसमा हाले। त्यसपछि माथिबाट सिमेन्ट हालेर पक्की चिहानमा परिणत गरे।
सौरभको हत्यापछि मुस्कान र साहिल तीन दिन मनालीमा बसे। जहाँ उनीहरूले हनिमुन मनाएको बताइएको छ। होटेलको कोठामा बसेर मुस्कानले धमाधम रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन्, मानौँ उनको जीवनमा सबै ठीक छ। तर उनको यो खुसी धेरै दिन टिक्न सकेन।
यसरी खुल्यो रहस्य
मुस्कानले आफ्नो डरलाग्दो षड्यन्त्र लुकाउने सोचेकी थिइन्। तर एउटा गल्तीले त्यो पर्दाफास भयो। उनले सम्पूर्ण घटना आफ्नी आमालाई सुनाइन्। सायद उनले सोचेकी थिइन्- आमाले आफूलाई बचाउनेछिन्। तर सोचेको उल्टो भयो। उनकी आमाले प्रहरी बोलाइन्। जब प्रहरी आएर मुस्कानलाई सोधपुछ गर्न थाल्यो तब उनी सुरुमा झुटमाथि झुट बोलिरहेकी थिइन्। तर प्रहरीले जब उनका प्रेमी साहिललाई सोधपुछ गर्न थाल्यो तब सारा कथा ओकलिदिए।
ड्रम काटेर निकालियो शव
प्रहरीले घटनास्थल पुगेर कोठामा थुनिएको ड्रम दुई घण्टा प्रयास गर्दा पनि खोल्न सकेन। सिमेन्टले शवलाई कडासँग कसेको थियो। यसपछि प्रहरीले ड्रम नै उठाएर पोस्टमार्टम हाउसमा पठायो, जहाँ त्यसलाई काटेर शव निकायो। यो खबर फैलिएसँगै सम्पूर्ण क्षेत्रमा सनसनी मच्चियो।
प्रहरीको भनाइ
मेरठका एसपी सिटी आयुष विक्रम सिंहका अनुसार सौरभ राजपुत मार्च ४ मा मेरठ आएका थिए। त्यही बेला उनको हत्या भएको हो। श्रीमती मुस्कान र उनका प्रेमी साहिल मिलेर उनको हत्या गरी शव ड्रममा लुकाएका थिए। उनले भने, ‘दुवैलाई पक्राउ गरी हत्या र षड्यन्त्रको धारामा मुद्दा दर्ता गरेका छौँ।’
Shares

प्रतिक्रिया