भारतको महाराष्ट्र राज्य सडक यातायात निगम (एमएसआरटीसी) ले आइतबार महाराष्ट्रको मुम्बई-पुणे रुटमा बस चलाउँदै गर्दा आफ्नो मोबाइल फोनमा आईपीएल खेल हेरिरहेका एक बस चालकलाई बर्खास्त गरेको छ।
समाचार एजेन्सीको रिपोर्ट अनुसार, बसमा यात्रा गरिरहेका एक यात्रुले चालकको भिडिओ बनाएर राज्यका यातायातमन्त्री प्रताप सरनाइकलाई पठाएपछि यो कुरा बाहिर आएको हो। ती यात्रुले यो भिडिओ सामाजिक सञ्जालमा पनि सेयर गरे र मुख्यमन्त्री देवेन्द्र फडणविस र अन्य मन्त्रीहरूलाई पनि ट्याग गरे।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना मार्च २२ मा मुम्बई र पुणेबीच सञ्चालन हुने शिवनेरी बसमा भएको हो। भिडिओमा चालकले आफ्नो मोबाइल फोनमा क्रिकेट खेल हेर्दै बस चलाएको देखिन्छ।
यो कुरा थाहा पाउनेबित्तिकै मन्त्री प्रताप सरनाइकले तुरुन्तै एमएसआरटीसीका वरिष्ठ अधिकारीहरूलाई कडा कारबाही गर्न निर्देशन दिए। उनको आदेशमा स्थानीय अधिकारीले चालकलाई सेवाबाट हटाए।
उक्त बस सेवा निजी सञ्चालकद्वारा सञ्चालित हो। एमएसआरटीसीले चालकलाई बर्खास्त गर्नाका साथै सम्बन्धित निजी कम्पनीलाई ५,००० रुपैयाँ जरिवाना पनि लगाएको छ।
यसबारे मन्त्री सरनाक्षकले भने, 'शिवनेरी सेवा मुम्बई-पुणे रुटमा एक महत्त्वपूर्ण बस सेवा हो र अहिलेसम्म यो सेवा दुर्घटनामुक्त रहेको छ।' यात्रुको सुरक्षासँग खेलवाड गर्ने यस्ता लापरवाह चालकहरूविरुद्ध कडा कारबाही आवश्यक छ।
उनले एमएसआरटीसीअन्तर्गत काम गर्ने निजी कम्पनीका चालकहरूलाई ट्राफिक नियमहरू पालना गर्न नियमित तालिम दिइने पनि बताए।
मन्त्रीले अटो रिक्सा र ट्याक्सी चालकहरूले पनि मोबाइल फोनमा म्याच वा चलचित्र हेर्दै गाडी चलाएको गुनासो निरन्तर प्राप्त भइरहेको बताए। यसका लागि यातायात विभागले चाँडै नयाँ नियमहरू लागू गर्नेछ।
Shares

प्रतिक्रिया