गण्डकी


कोटीहोमको ठाउँ सारेर विवाद साम्य पारियो, अब पोखरा १७ मा हुने

कोटीहोमको ठाउँ सारेर विवाद साम्य पारियो, अब पोखरा १७ मा हुने

फाइल फोटो/ कोटीहोम विवादका कारण भएको झडप


नेपालखबर
चैत १०, २०८१ आइतबार २०:१७, पोखरा

लामो विवादपछि अन्ततः पोखरा महानगरपालिका ठाउँ परिवर्तन गरी विवादास्पद कोटीहोम आयोजनाका निम्ति राजी भएको छ। अब तोकिएकै मिति अर्थात् चैत १७ देखि जेठ २६ सम्म पोखरा १७ स्थित श्री सदाशिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा आयोजना हुनेछ। 

कोटीहोम आयोजना गर्न पोखरा महानगर, महानगरको वडा नम्बर १७, कास्की जिल्ला प्रशासन र सदाशिवजी गुठीले स्वीकृति प्रदान गरिसकेका छन्।

आफूलाई विजय कृष्णमूर्ति बताउने विजय भण्डारीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले यसअघि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा ‘ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२’ आयोजना गर्ने घोषणा गरेको थियो। 

घोषणासँगै आयोजकले चैत १७ देखि जेठ २६ गतेसम्मको लागि भन्दै नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराही घाटको जग्गा भाडामा लिएको थियो भने पोखरा महानगरको वडा नम्बर ६ बाट स्वीकृतिसमेत लिएको थियो। 

तर, जब कोटीहोमको समिदा भन्दै पोखराका चौतारोमा रहेका बर–पीपल र समीका रुखहरु मुठार्न थालियो,तब त्यसको व्यापक विरोध भयो। विरोधसँगै महानगरले कोटीहोम आयोजना गर्न नदिने घोषणामात्र गरेन, फागुन २० गतेको नगर कार्यपालिबाटै निर्णय गरायो। 

त्यो निर्णयविरुद्ध आयोजक संस्थाले अदालत गुहार्‍यो। अदालतले कोटीहोमलाई बाधा नगर्न भन्दै आयोजकको पक्षमा आदेश जारी गर्‍यो। त्यो आदेशविरुद्ध पोखराका मेयर धनराज आचार्यको तर्फबाट भ्याकेट निवेदन दर्ता भएको थियो। 

अदालतको चक्कर लगाउँदै गर्दा फागुन २३ गते कोटीहोम महायज्ञ स्थलको भूमिपूजन आयोजना गरेको थियो। सो भूमिपूजन रोक्न पोखरा महानगरले नगर प्रहरी परिचालन गरेपछि त्यहाँ भिडन्तको अवस्था सिर्जना भएको थियो। दलबलसहित जम्मा भएका आयोजकहरू धारिलो हतियारसहित नगर प्रहरीमाथि आक्रमणमा उत्रँदा केही नगर प्रहरी घाइते भएका थिए। 

स्थिति असामान्य बनेपछि  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रमुख,पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,विश्व हिन्दु महासंघका प्रतिनिधि,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधिलगायतको उपस्थितिमा बैठकले समस्या समाधानका निम्ति वैकल्पिक ठाउँ खोजी गर्ने निर्णय गरेको थियो। 

सो समितिले चैत ४ गते पोखरा १७ मा रहेको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा कोटीहोम संचालन गर्न सुझाएको थियो। आयोजकको सहमतिपछि पोखरा महानगरले चैत ६ गते महायज्ञका निम्ति स्वीकृति प्रदान गरेको थियो। 

आयोजक संस्थाले महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी अनुमति दिएको बताए पनि महानगरका प्रवक्ता मोति तिमिल्सिनाले लेकसाइडमा महायज्ञ गर्न अनुमति नदिइएको र वैकल्पिक स्थानका निम्ति महानगरको यसअघिदेखि नै विमति नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad