युक्रेनमा युद्धविराम गर्ने विषयमा साउदी अरबको रियादमा रुसी र अमेरिकी टोलीबीच वार्ता चलिरहेको छ। रियादको रिज कार्लटन होटेलमा वार्ता भइरहेको हो।
युक्रेनी प्रतिनिधिमण्डलमा पनि सोही होटलमा छ। सो टोलीले यसपछि अमेरिकी टोलीसँग भेट गर्ने छ। तर, रुसी टोलीसँग भने वार्ता नहुने बताइएको छ।
वार्ता टोलीमा कसको पक्षबाट कति जना र कोको सामेल छन्, खुलाइएको छैन। तर, अमेरिकाका तर्फबाट राष्ट्रिय सुरक्षा परिषदका एक निर्देशक एन्ड्रयु पिक र विदेश मन्त्रालयका माइकल एन्टोनले टोलीको नेतृत्व गरिरहेका छन्।
रुसी टोलीको नेतृत्व भने माथिल्लो सदनको अन्तर्राष्ट्रिय मामिला समितिका प्रमुख तथा कूटनीतिज्ञ ग्रिगोरी कारासिनले गरेका छन्। टोलीमा रुसी सुरक्षा एजेन्सी एफएसबीका प्रमुखको सल्लाहकार रहेका सेर्गेइ बेसेदा पनि छन्।
आजको वार्ताको मुख्य ध्यान काला सागरमा केन्द्रित हुने बताइएको छ। रुस २०२२ कै अन्न सम्झौता ब्युँताउन चाहन्छ। जसअनुसार युक्रेनले अन्न निर्यात गर्न पाउँदा रुसले मललगायतका पदार्थ निर्यात गर्न पाउने छ।
तर, २०२३ मा प्रतिबन्धका कारण निर्यात गर्न नपाएको भन्दै रुस सो सम्झौताबाट पछि हटेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया