ग्लोबल


अमेरिकी आक्रमणको योजना पहिल्यै पत्रकारको इनबक्समा पुगेपछि ट्रम्प प्रशासनमा हंगामा

अमेरिकी आक्रमणको योजना पहिल्यै पत्रकारको इनबक्समा पुगेपछि ट्रम्प प्रशासनमा हंगामा

नेपालखबर
चैत १२, २०८१ मंगलबार १८:४१,

अमेरिकाले यसै महिना यमनका हुती लडाकु समूहविरुद्ध गरेको सैन्य कारबाहीको विवरण आक्रमणअगावै एक पत्रकारकहाँ पुगेको खुलासा भएपछि वासिङ्टनमा खैलाबैला मच्चिएको छ।

खासमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जले सिग्नल नामक एपमा एउटा च्याट ग्रुपमा दि एट्लान्टिकका प्रधानसम्पादक जेफ्री गोल्डबर्गलाई झुक्किएर जोडेका थिए।

‘हुती पीसी स्मल ग्रुप’ नाम दिइएको सो च्याट ग्रुममा अमेरिकाका सुरक्षा निकायका उच्चपदस्थहरू थिए। जसमा उपराष्ट्रपति जेडी भान्स, सीआईए निर्देशक जोन र्‍याटक्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुजी वाइल्स र रक्षामन्त्री पिट हेगसेथ पनि थिए।

च्याट ग्रुपमा उनीहरूले हुतीमाथिको आक्रमणको योजनामा विमर्श गरे। पत्रकार गोल्डबर्गले यसबारे सोमबार दि एटलान्टिकमा खुलाएअनुसार उनीहरूले सैन्य कारबाहीअघि त्यसको विवरणमा छलफल गरेका थिए।

उपराष्ट्रपति भान्स हमलाको विपक्षमा थिए। उनले सो आक्रमण गल्ती हुने बताएका थिए। रक्षामन्त्री हेगसेथ पक्षमा थिए। उनले लेखेका छन्, ‘मलाई लाग्छ हामी अघि बढ्नुपर्छ।’

दुवैले च्याटमा पनि युरोपप्रति घृणा व्यक्त गरेका छन्। 

यमनमा १५ मार्चका दिन यमनका हुतीमाथि अमेरिकी सेनाले आक्रमण गरेलगत्तै वाल्जले सो ग्रुपमा लेखेका थिए, ‘अद्भूत काम!’

त्यसपछि अन्य अधिकारीहरूले बधाई दिएका छन्। 

राष्ट्रिय सुरक्षा टोलीको अति गोप्य कामकाजमा असम्बन्धित व्यक्तिलाई जोडिनु, त्यसमाथि सुरक्षित सरकारी माध्यमभन्दा बाहिर उच्च पदस्थहरूबीच संवेदनशील विषयमा योजना बन्नुले ट्रम्प प्रशासनमा हंगामा ल्याएको छ।

सांसदहरूले यस घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्। 

ट्रम्पले भने यसबारेमा आफू जानकार नरहेको बताएका छन्। पछि ह्वाइट हाउसले विज्ञप्ति निकाल्दै आफ्ना अधिकारीहरूको बचाउ गरेको छ।

यद्यपि, सो ग्रुपमा गोल्डबर्गलाई निम्त्याउने राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्जले राजीनामा दिनसक्ने अड्कल पनि काटिएका छन्।

यो च्याटमा सहभागी सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् उपराष्ट्रपति भान्स। उनले ट्रम्पको निर्णयमा प्रस्ट असहमति प्रकट गरेका छन्। 

पत्रकार गोल्डबर्गले भने आफ्नो रिपोर्टिङमा अमेरिकाका शत्रुले पढ्दा अमेरिकी सेना र गुप्तचरहरूलाई हानि पुग्न सक्ने सूचना लुकाएको दाबी गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad