शुक्रबार (चैत १५ गते) म्यानमारमा भूकम्प जाँदा नमाज पढिरहेका ७ सय जनाभन्दा बढीको मृत्यु भएको छ। भूकम्पले ६० भन्दा बढी मस्जिद पनि ध्वस्त भएका छन्।
भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १७०० नाघेको म्यानमार सेनाले सोमबार जानकारी दिएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने मृतकको संख्या १० हजार नाघ्न सक्ने आशंका गरेको छ।
सैन्य सरकारका प्रवक्ताले भूकम्पमा परी ३,४०० भन्दा बढी व्यक्ति घाइते भएको र ३०० भन्दा बढी बेपत्ता भएको बताएका छन्।
भूकम्पमा मृत्यु भएका १,७०० भन्दा बढीको आधिकारिक संख्यामा मस्जिदमा मृत्यु भएकाहरू समावेश थिए कि थिएनन् भन्ने कुरा अझै थाहा भएको छैन।
मार्च २८ का दिन म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पको धक्का छिमेकी मुलुक थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। यो भूकम्प २०० वर्षयताकै ठूलो भूकम्प भएको बताइएको छ।
सीएनएनले एक भूगर्भविद्लाई उद्धृत गर्दै यो भूकम्पको प्रभाव ३३४ वटा परमाणु बमको विस्फोट बराबर भएको उल्लेख गरेको छ।
यसैबीच म्यानमारको सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ।
समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ। यस अवधिमा देशको झण्डा आधा झुकाइनेछ।
Shares

प्रतिक्रिया