ग्लोबल


वक्फ ऐनका कारण जम्मु-कस्मिर विधान सभामा हंगामा

वक्फ ऐनका कारण जम्मु-कस्मिर विधान सभामा हंगामा

नेपालखबर
चैत २५, २०८१ सोमबार १२:३८, काठमाडौँ

भारतले भर्खरै बनाएको वक्फ ऐनका विषयमा सोमबार बिहान जम्मु-कस्मिर विधान सभामा हंगामा भएको छ।

होहल्लाका कारण सभामुख अब्दुल रहिम राठरले सदन बैठक १५ मिनेटका लागि स्थगन गर्नुपर्‍यो। 

समाचार एजेन्सी पीटीआईका अनुसार, नेसनल कन्फरेन्सका नाजिर गुरेजी र तनवीर सादिकले जम्मु-कस्मिर विधानसभामा वक्फ ऐनबारे प्रश्नोत्तर समय स्थगन गर्ने प्रस्ताव प्रस्तुत गरे।

भाजपाले यो प्रस्तावको विरोध गरेपछि संसद्‌मा हंगामा भएको हो।

सार्वजनिक भिडिओमा सदनमा रहेका विधायकहरूले नाराबाजी गर्दै कालो कानुन फिर्ता लिन माग गरिरहेको देखिन्छ।

भारतका दुवै सदनमा चर्को बहसपछि पारित वक्फ संशोधन विधेयकले शनिबार मात्र कानुनको रूप लिएको छ।

लोकसभा र राज्यसभाबाट पारित विधेयक राष्ट्रपतिबाट अनुमोदन भएपछि कानुनको रूप लिएको हो। 

के हो वक्फ?

मुस्लिमहरूले गर्ने परोपकारी वा धार्मिक दानलाई वक्फ भन्ने गरिन्छ। यस्तो सम्पत्ति बिक्री गर्न वा अन्य प्रयोजनमा लगाउन पाइँदैन।

यस्तो सम्पत्ति मस्जिद, मदरसा, चिहान र अनाथालयको प्रयोजनमा ल्याइने भएका कारण २० करोड भारतीय मुस्लिमका लागि यो महत्त्वपूर्ण छ।

यस्तो सम्पत्ति सन् १९९५ मा जारी भएको वक्फ ऐनअन्तर्गत व्यवस्थापन भइरहेको थियो। उक्त कानुनले यस्तो सम्पत्तिको व्यवस्थापनका लागि राज्यस्तरीय सञ्चालक समितिलाई जिम्मा दिएको छ।

यस्तो सञ्चालक समितिमा राज्य सरकार, मुस्लिम सांसद, राज्य अन्तर्गतका बार काउन्सिलका सदस्य,  इस्लामिक विद्वान् र वक्फ सम्पत्तिका व्यवस्थापक हुन्छन्।

भाजपा सरकारले गत अगस्टमा वक्फ ऐन संशोधन गर्न विधेयक पेस गरेको थियो।

नयाँ विधेयकमा गरिएको एउटा परिवर्तन वक्फ सम्पत्ति निर्धारण गर्ने तरिका हो।

ऐतिहासिक रूपमा मौखिक घोषणाका आधारमा वा सामुदायिक चलनअनुसार दान गरिएका सम्पत्तिलाई वक्फ सम्पत्ति मान्ने र त्यसलाई मुस्लिम समुदायले प्रयोग गर्ने अभ्यास छ।

नयाँ विधेयकमा वक्फ सञ्चालक समितिले वक्फ सम्पत्तिको दाबी पुग्ने कागजात पेस गर्नुपर्ने नियम राखिएको छ।

सरकारी स्वामित्वबारे विवाद भएको अवस्थामा सरकारको निर्णय अन्तिम हुने विधेयकमा उल्लेख छ।

विधेयकमा गरिएको अर्को परिवर्तन वक्फको सञ्चालक समिति वा न्यायाधिकरणमा गैरमुस्लिमलाई पनि नियुक्त गर्न सकिने व्यवस्था हो।

विधेयकले विवादको खण्डमा न्यायिक हस्तक्षेपका लागि बाटो खोलेको छ। विवाद भएको अवस्थामा वक्फ न्यायाधिकरणको निर्णय अन्तिम मान्ने विद्यमान व्यवस्था नयाँ विधेयकले प्रतिस्थापन गरेको छ।

उक्त विधेयकले केन्द्रीकृत दर्ता प्रणाली पनि प्रस्ताव गरेको छ। जसअन्तर्गत विधेयक कानुन बनेर आएको ६ महिनाभित्र सबै वक्फ सम्पत्ति दर्ता गरिसक्नुपर्ने हुन्छ।

नयाँ वक्फ सम्पत्तिको दर्ताका लागि पनि यही प्रणालीबाट वक्फ सञ्चालक समितिमा आवेदन दिनुपर्नेछ।

वक्फ सम्पत्तिहरूको सर्वेक्षणमा सरकारको भूमिकामा व्यापक वृद्धि गर्ने प्रावधान पनि विधेयकमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad